मकवानपुरका दुग्ध किसानले १४ करोडभन्दा बढी भुक्तानी पाउन बाँकी

असार मसान्तभित्र ६५ प्रतिशत र असोजभित्र सम्पूर्ण बक्यौता चुक्ता गर्न प्रशासनको निर्देशन

मंगलबार, १५ बैशाख, २०८३
डिजिटल संस्करण

मकवानपुरका दुग्ध उद्योगहरूले झन्डै चार वर्षदेखि किसानलाई दुधको रकम भुक्तानी नगर्दा किसानहरू आर्थिक संकटमा परेका छन् । मकवानपुरका दुग्ध उत्पादक किसानले करिब १४ करोड ३५ लाख रुपैयाँ भुक्तानी नपाउँदा गम्भीर आर्थिक संकटमा परेको गुनासो गरेका हुन् । किसानबाट दुध संकलन गर्दै आएको जिल्ला दुग्ध उत्पादक सहकारी संघका अनुसार केही उद्योगहरूले ०७८ सालदेखि नै किसानको रकम भुक्तानी दिएका छैनन् । सहकारी संघका व्यवस्थापक दामोदर अधिकारीका अनुसार मकवानपुरमा सञ्चालित ११ डेरी उद्योगले किसानलाई कुल १४ करोड ३५ लाख ६३ हजार चार सय ९० रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

किसानलाई सबैभन्दा बढी शुभ डेरी इन्डस्ट्रिजले ६ करोड ७० लाख ७६ हजार चार सय रुपैयाँ भुक्तानी दिन बाँकी छ भने गायत्री डेरी इन्डस्ट्रिजले चार करोड ४९ लाख ४४ हजार आठ सय ७३ रुपैयाँ भुक्तानी दिन बाँकी छ । यी दुवै उद्योगले ०८२ जेठ १६ गतेदेखि किसानको भुक्तानी रोकेर राखेका छन् । अन्य उद्योगहरूमा स्यार्सेकालिका डेरीले एक करोड ६ लाख १६ हजार चार सय ६३ रुपैयाँ, कल्पवृक्ष डेरीले ६५ लाख ५७ हजार तीन सय ३६ रुपैयाँ, पवित्र मिल्क एन्ड फुड्स प्रालिले ४३ लाख ३१ हजार ४५ रुपैयाँ र एसके डेरी उद्योगले २५ लाख २८ हजार सात सय सात रुपैयाँ किसानलाई दिन बाँकी रहेको छ । यसैगरी, भुटनदेवी डेरी फर्मले २२ लाख ३३ हजार सात सय ७९ रुपैयाँ, अनुश्री सप्लायर्सले १९ लाख ७५ हजार नौ सय ९२ रुपैयाँ, कविता डेरी तथा जुस उद्योगले १२ लाख ४२ हजार पाँच सय ६६ रुपैयाँ, नारायणी मिल्क एन्ड फुड्सले ३२ हजार ६ सय १० रुपैयाँ र पिज्जा कटर प्रालिले सात लाख २३ हजार सात सय १९ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

उत्पादन लागत बढ्दै गएको अवस्थामा भुक्तानी नआउँदा किसान ऋणमा डुब्ने अवस्था सिर्जना भएको जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कँडेलले बताए । ‘किसानले बिहान–बेलुका दुःख गरेर उत्पादन गरेको दुध उद्योगले उठाउँछन्, उपभोक्तालाई नगदमा बेचिन्छ, तर किसानले महिनौँसम्म पैसा पाउँदैनन्,’ उनले भने, ‘यसले किसानको मनोबल घटाएको छ, कतिपयले पशुपालन नै छाड्ने अवस्थामा पुगेका छन् ।’ भुक्तानी नपाउँदा किसानले पशुचारो खरिद, पशु उपचार र दैनिक घरखर्च चलाउनसमेत समस्या भोगिरहेका छन् । अध्यक्ष कँडेलका अनुसार धेरै किसान ऋण लिन बाध्य भएका छन् भने केहीले गाईभैँसी बेच्ने तयारीसमेत थालेका छन् । उनले मकवानपुरमा करिब ११ हजार किसान दुग्ध व्यवसायमा आबद्ध रहेको जानकारी दिए । जिल्ला दुग्ध उत्पादक सहकारी संघमार्फत ४२ डेरी उद्योगसँग कारोबार हुँदै आएको छ । 

यसैबिच जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार सर्वपक्षीय छलफल गरी दुग्ध उत्पादक किसानको भुक्तानी रोक्ने उद्योगलाई असार मसान्तभित्र कम्तीमा ६५ प्रतिशत बक्यौता रकम अनिवार्य भुक्तानी गर्न निर्देशन दिएको छ । बाँकी रकम भने असोज मसान्तसम्म पूर्ण रूपमा तिर्नुपर्ने सहमति गरिएको छ । सहमति कार्यान्वयन नभए प्रशासन कारबाहीमा उत्रिने प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले चेतावनी दिएका छन् । उनले उद्योगीहरूलाई दुग्ध उत्पादक किसानको दुधको भुक्तानी गर्न कडाइका साथ निर्देशन दिए । असोजभित्र दुग्ध किसानको बक्यौता भुक्तानी गर्ने सहमति कार्यान्वयन नभए कारबाही हुने उनले बताए । 

शुभ डेरी इन्डस्ट्रिज प्रालिका प्रमुख ज्ञानराज लामाले अन्तर्राष्ट्रिय बजार र लामो उत्पादन चक्रले भुक्तानीमा ढिला भएको बताए । उनले आफ्नो छुर्पी उत्पादक उद्योग भएको र आफूहरूको काम गर्ने प्रकृति नै फरक भएकाले भुक्तानीमा ढिलाइ भएको स्पष्ट पारे । त्यस्तै, गायत्री डेरी इन्डस्ट्रिजका सञ्चालक सृजन कोइरालाले निरन्तरको व्यापार घाटा व्यहोर्नुपरेका कारण दुधको भुक्तानीमा ढिलाइ भएको बताए । दुग्धजन्य वस्तुको उत्पादन लागत र बजार मूल्यबिचको अन्तरले आर्थिक दबाब सिर्जना गरेको छ । 
 

सुझावित समाचार