दोस्रो नेपाल कबडडी लिग (एनकेएल)का लागि ६ विभिन्न सहरका ६ फ्रेन्चाइज टोलीले ड्राफ्टबाट ८४ खेलाडी आबद्ध गरेका छन् । एनकेएलको अक्सनमा नेपाली खेलाडी ५४ आबद्ध भएका छन् । यसैगरी, फ्रेन्चाइज टोलीहरूले ३० विदेशी खेलाडीलाई भिœयाएका छन् । खेलाडी ड्राफ्टमा छनोट समावेश भएका एक सय ४२ जना नेपाली खेलाडीलाई तीन समूहमा वर्गीकरण गरिएको थियो ।
१४ देशका ८० खेलाडीलाई पनि तीनै समूहमा वर्गीकरण गरिएको आयोजकले जनाएको छ । त्यसमध्ये पहिलो सिजनका १० खेलाडीलाई रिटेन गरिएको थियो । प्रत्येक टिमलाई बढीमा दुई खेलाडी रिटेन गर्ने सुविधा बाँकी ७४ खेलाडी ड्राफ्टमार्फत लिइएको हो । २२ जेठदेखि राखेप कभर्डहलमा दोस्रो सिजनको एनकेएल सुरु हुनेछ ।
जसमा विराटनगर बाहुबली (कोशी), साबिक विजेता जनकपुर नाइट्स (मधेश), काठमाडौं माभरिक्स (बागमती), पोखरा लेकर्स (गण्डकी), बुटवल बुल्स (लुम्बिनी) र धनगढी वाइल्डक्याट्स (सुदूरपश्चिम)ले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् । सबै सहभागी फ्रेन्चाइजले समान स्वदेशी नौ र विदेशी पाँचजना खेलाडी ड्राफ्टमार्फत लिएका छन् । अक्सनमा भारतीय खेलाडी कम्तीमा एकजना लिनैपर्ने व्यवस्था थियो ।
प्रत्येक टोलीमा कम्तीमा १२ खेलाडी हुनुपर्ने
एनकेएलका टोलीले कम्तीमा १२ र बढीमा १४ खेलाडी राख्न पाउने व्यवस्था छ । सबैले १४ खेलाडीको टिम बनाएका छन् । दोस्रो सिजनको एनकेएलमा ३० जना विदेशी खेलाडी भारत, थाइल्यान्ड, बंगलादेश, श्रीलंका, पाकिस्तान, दक्षिण कोरिया ताइवान र केन्याका हुन् । यसमा केही खेलाडी भारतको प्रो–कबड्डी लिगका अनुभवी छन् । साबिक विजेता जनकपुरले अलराउन्डर राजु टमाटा र थाई रेइडर चायफोन कामुनीलाई रिटेन गरेको छ । काठमाडौं राष्ट्रिय टिमका कप्तान घनश्याम रोका मगरलाई निरन्तरता दियो । विराटनगरले सुशील चुनारा र सुरज बोहरा, पोखराले भुवन बोहरा र रविन कुँवर, बुटवलले नवीन देउवा र गणेश पार्की तथा धनगढीले प्रकाश गिरीलाई रिटेन गरेका छन् ।