कागिसो राबडाको उत्कृष्ट बलिङ प्रदर्शनको सहयोगमा गुजरात टाइटन्सले १९औँ इन्डियन प्रिमियर लिग (आइपिएल) मा पूर्वविजेता चेन्नई सुपर किंग्समाथि आठ विकेटको सानदार जित निकालेको छ । गुजरातले २० बलअघि जित हात पारेको हो । घरेलु मैदानमा आइतबार पहिलो ब्याटिङ गरेको चेन्नईले २० ओभरमा सात विकेट गुमाएर १५८ रनको मध्यम योगफल बनायो । प्रत्युत्तरमा गुजरातले १६.४ ओभरमा दुई विकेटको क्षतिमा १६२ रनको योगफल खडा गर्यो । राबडाले चेन्नईविरुद्ध २५ रन खर्चेर तीन विकेट लिएका थिए । उनी नै खेलका म्यान अफ दी म्याच भए ।
जितसँगै गुजरात अंकतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । गुजरातले आठ खेलमा समान चार जित र हार सामना गरी ८ अंक बटुलेको छ । चेन्नईले आठ खेलमा पाँच हार र तीन जितका साथ ६ अंक जोडेको छ । चेन्नई छैटौँ स्थानमा छ । शीर्ष स्थानमा अपराजित पन्जाब किंग्स छ । पन्जाबले सातमध्ये ६ खेलमा जित हात पारेको छ । साबिक विजेता रोयल च्यालेन्जर्स बेंग्लोरले सातमा पाँच जित र दुई हार सामना गरी १० अंक जोडेको छ । बेंग्लोर दोस्रो स्थानमा छ । सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सले आठ खेलबाट समान ९ अंक जोडेका छन् । रनरेटमा सनराइजर्स तेस्रो तथा राजस्थान चौथो स्थानमा छन् ।
गुजरातको सानदार ब्याटिङ
१५९ रनको लक्ष्य पछ्याएको गुजरातको इनिङ्समा शीर्ष तीन ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका थिए । ओपनर साई सुदर्शन र कप्तान शुभमन गिलले पहिलो विकेटका लागि ६.२ ओभरमा ५८ रनको साझेदारी गरे । शुभमनले २३ बलमा तीन छक्का र एक चौका प्रहार गरी ३३ रन जोडे । सुदर्शन र जोस बटलरले दोस्रो विकेटका लागि ९७ रनको साझेदारी गर्दै जितको बलियो आधार बनाए । उनीहरूले ६.२ देखि १६.२ ओभरसम्म दोस्रो विकेटका लागि साझेदारी गरेका थिए । सुदर्शनले ४६ बलमा गरी सात छक्का र चार चौका प्रहार गरी सर्वाधिक ८७ रनको योगदान दिए । अन्तिमसम्म आउट नभएका बटलरले ३० बलमा एक छक्का र चार चौका प्रहार गरी ३९ रन जोडेका थिए । चेन्नईको बलिङमा हुसेन र नुरु अकमादले एक–एक विकेट लिए ।
चेन्नईको फितलो ब्याटिङ
चेन्नईको ब्याटिङ गतिलो भएन । ओपनर सञ्जु सामसन केवल ११ रनमै आउट भएका थिए । चेन्नईले ८.२ ओभरमा चार विकेट गुमाएर ३७ रन मात्र जोडेको थियो । पावर प्लेमा फितलो ब्याटिङ प्रदर्शन हुँदा चेन्नईले स्कोर बोर्डमा सोचेजस्तो योगफल खडा गर्न नसकेको हो । चेन्नईले उर्भिल पटेल (४), सफराज खान (०) र डेवाल्ड ब्रेभिस (२) लाई गुमाउँदा चेन्नई सुरुवाती १० ओभरमा कमजोर बनेको हो । सो इनिङ्समा कप्तान ऋतुराज गायक्वाड र शिभम दुबेले पाँचौँ विकेटका लागि ५९ रनको साझेदारी गर्दै टोलीलाई ३७/४ बाट ९६/५ को अवस्थामा पुर्याए । दुबेले १७ बलमा तीन चौका र एक छक्का प्रहार गरी २२ रनको योगदान दिए ।
त्यसपछि कार्तिक शर्माले नौ बलमा १५ तथा जेमिए ओभर्टनले ६ बलमा तीन चौका र एक छक्का प्रहार गरी १८ रनको योगदान दिए । गुजरातविरुद्ध अन्तिमसम्म आउट नभएका ऋतुवारजले ६० बलमा ६ चौका र चार छक्का प्रहार गरी ७४ रनको योगदान दिएका थिए । गुजरातले १२ अतिरिक्त रन दिएको थियो । चेन्नईविरुद्ध उत्कृष्ट बलिङ गरेका राबडाले चालू सिजनमा पावर प्लेमा मात्र नौ विकेट लिएका छन् । जोफ्रा आर्चरले आठ तथा मोहमद सामीले पावर प्लेमा ६ विकेट हात पारेका छन् ।
आइपिएलमा सञ्जुको पाँच हजार रन पूरा
चेन्नईका ओपनर सञ्जुले आइपिएलमा पाँच हजार रन पूरा गरेका छन् । आइपिएलमा छिटो पाँच हजार रन बनाउने उनी तेस्रो खेलाडी हुन् । यसक्रममा उनले तीन हजार ५५५ बल सामना गरेका छन् । आइपिएल इतिहासमा एबी डी भिलियर्सले सबैभन्दा छिटो पाँच हजार रन बटुलेका थिए । उनले केवल तीन हजार २८८ बलमा पूरा गरेका थिए । यसैगरी डेभिड वार्नर दोस्रो स्थानमा छन् । उनले आइपिएलमा तीन हजार ५५४ बलमा पाँच हजार रन प्रहार गरेका हुन् ।