- नेपालले दिएको २०१ रन पछ्याएको युएई ४८.२ ओभरमा १६३ रनमा समेटियो । नेपालका लागि दीपेन्द्रसिंहले ७५ रन बनाए । करण केसीले १९ रन खर्चेर चार विकेट लिए ।
दीपेन्द्रसिंह ऐरी ब्याटिङमा र करण केसीले बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले शनिबार विश्वकप लिग २ अन्तर्गत शनिबार युएईलाई ३७ रनले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले फितलो ब्याटिङ प्रदर्शन गरी ४८.२ ओभरमा सबै विकेट गुमाएर दुई सय रनको मध्यम योगफल खडा गरेको थियो । सहज लक्ष्य पछ्याएको युएईले पूरै ओभर ब्याटिङ गर्न सकेनन् । करणले चार विकेट लिँदा युएई ४८.२ ओभरमा १६३ रनमा अलआउट हुँदा नेपाल ३७ रनले विजयी भयो । जितसँगै नेपालले विश्वकप लिग २ मा महत्वपूर्ण दुई अंक जोडेको छ । नेपालले २१ खेलमा ६ जितका साथ १४ अंक जोडेको छ ।
नेपाल सातौँ स्थानमै छ । नेपालसँग नमिठो हार सामना गरेको युएईले २१ खेलमा १६ हार र पाँच जित निकाली १० अंक जोडेको छ । युएई अंकतालिकाको पुछारमा छ । अब नेपालले तेस्रो स्थानमा रहेको ओमानको सामना गर्नेछ । पहिलो ब्याटिङ गरेको नेपालले युएईविरुद्ध संघर्ष गरेको थियो । उपकप्तान दीपेन्द्रसिंहबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले गतिलो रन जोड्न सकेनन् । नेपालका कप्तान रोहित पौडेलले पनि प्रतिस्पर्धा ब्याटिङ पक्ष कमजोर भएको बताए ।
‘हामीले वास्तवमा युएईसँग गतिलो ब्याटिङ गर्न सकेनौँ,’ खेलपछि पौडेलले भने, ‘शीर्ष तथा मध्यक्रम ब्याटिङमा कमजोर देखियो ।’ युएईका कप्तान मोहम्मद वासिम भने हारपछि निराश देखिए । खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी निराश मुद्रामा देखिए । ब्याटिङ कोल्याप्सले पराजित भएको उनको भनाइ रह्यो । ‘एक समयमा हामी बलियो अवस्थामै थियो । तर, महत्वपूर्ण क्षणमा विकेट पतन हुनु र कमजोर ब्याटिङ प्रदर्शनले पराजित भयो,’ उनले भने, ‘नेपालले मध्यम योगफल रक्षा गर्दा बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।
करणले लिए चार विकेट
नेपालको बलिङ स्पेलमा प्रमुख बलर करणले उत्कृष्ट प्रदर्शन गरे । उनले केवल ९.२ ओभरमा १९ रन खर्चेर सर्वाधिक चार विकेट लिए । यो क्रममा उनले दुईपटक मेडन ओभरसमेत गरेका थिए । करणले इनिङ्सको २.२ ओभरमा अदिप उस्मानी, २.६ ओभरमा मोहम्मद साहदाद, ४५.५ ओभरमा हैदर अली तथा ४८.२ ओभरमा अजय कुमारको विकेट लिँदै नेपाललाई जित दिलाए । खेलकै म्यान अफ दी म्याच दीपेन्द्रसिंह र लेग स्पिनर सन्दीप लामिछानेले पनि कसिलो बलिङसँगै विकेट लिँदा युएई पछाडि परेको थियो । दीपेन्द्रसिंहले १० ओभरमा एक मेडन राखी ३० रन खर्चेर एक विकेट लिए । सन्दीपले १० ओभरमा दुई मेडन राखी २५ रन दिँदै दुई विकेट हात पारेका थिए ।
युएईको मध्यक्रम मात्र चलेको थियो । मध्यक्रममा हर्प्रित सिंहले ५२ बलमा पाँच चौका प्रहार गरी ३९ रन जोडेका थिए । अक्षदिपले ५३ बलमा ३० रन जोडे । कप्तान मोहम्मदले ५१ बलमा तीन चौका र एक छक्का प्रहार गरी ३४ रन जोडेका थिए । अक्षदीप र कप्तान मोहम्मदबिच पाँचौँ विकेटका लागि ५३ रनको साझेदारी भएको थियो । उनीहरूबिचको साझेदारीले एक समय नेपाल दबाबमा परेको थियो । तर, सोमपाल कामीले युएईका सेट यी दुई ब्याट्सम्यानलाई आउट गर्दै खेल नेपालको पक्षमा ल्याए ।
दीपेन्द्रसिंहको अर्धशतकीय इनिङ्स
नेपालको सुरुवात कमजोर रह्यो । नेपालले १०.६ ओभरमा चार विकेट गुमाएर ४९ रन जोडेको थियो । प्रतिओभर चार रनरेटमा ब्याटिङ प्रदर्शन गरेको नेपालले बसिर अहमद र आरिफ सेखको विकेट गुमाउँदा २८.६ ओभरमा १२०–६ को स्थितिमा रह्यो । त्यसपछि उपकप्तान दीपेन्द्रसिंहले मध्यक्रम ब्याटिङ सम्हाले । उनले ९० बलमा ७५ रनको योगदान दिए । यसक्रममा उनले पाँच चौका र दुई छक्का प्रहार गरेका थिए । उनले पुछारका ब्याट्सम्यानसँग गतिलो साझेदारी गरेका थिए । दीपेन्द्रसिंहलाई सोमपाल, करण तथा आरिफले साथ दिएका थिए । आरिफले ३१ बलमा १५ रन तथा सोमपालले पनि २४ बलमा १५ रन जोडे । करणले ३७ बलमा समान एक चौका र छक्का प्रहार गरी २२ रन जोडेका थिए । नेपालका ओपनर कुशल भुर्तेलले २५ बलमा चार चौकाको सहयोगमा २४ रन र बसिरले ४० बलमा २० रनको योगदान दिएका थिए ।
सोमपालको स्पेल टर्निङ प्वाइन्ट थियो : रोहित पौडेल, कप्तान, नेपाल
हामीले युएईविरुद्धको खेलमा क्यारेक्टर र आत्मविश्वासका कारण नै जित निकाल्यौँ । जितको मुख्य आधार नै यही थियो । महत्वपूर्ण दुई अंक जोडे पनि पहिलो इनिङ्सको ब्याटिङ सोचेजस्तो भएन । पहिलो इनिङ्समा ब्याटिङ अपेक्षाअनुसार नभएको स्वीकार गर्छु । सोमपालको स्पेललाई टर्निङ प्वाइन्टका रूपमा लिएको छु । उनले वसिम र अक्षदीप नाथबिचको बलियो साझेदारी तोड्दै खेल नेपालको पक्ष ल्याए । यो दुई विकेट नै खेलको निर्णायक मोड रह्यो । सबैले राम्रो गरिरहेका र सिनियर खेलाडीको अनुभवलाई बिर्सिन मिल्दैन ।
हामीले खराब ब्याटिङ गर्यौँ : मोहम्मद वासिम, कप्तान, युएई
नेपालविरुद्ध हामीले खराब ब्याटिङ गर्यौँ । दुई सय रनको लक्ष्य त्यति कठिन थिएन । तर, ब्याट्सम्यानले जिम्मेवारीपूर्वक ब्याटिङ गर्न सकेनन् । ब्याटिङ कमजोरले हामी पराजित भएका हौँ । इनिङ्सको एक समयमा युएई राम्रो अवस्थामा थियो । अक्षदीप राम्रो अवस्थामा रहे पनि त्यसपछि विकेट गुमाउनु पनि हारको अर्को कारण थियो । नेपालको बलिङसँगै फिल्डिङ उत्कृष्ट थियो । अब हामी सिरिजमा सकारात्मक पक्षका साथ अगाडि बढ्छौँ । मलाई आशा छ, युएईले अबका खेलमा उत्कृष्ट पुनरागमन गर्नेछ ।