त्रिभुवन आर्मी फुटबल क्लब पहिलो संस्करणको चन्द्रगढी महिला गोल्डकप प्रतियागिताको फाइनलमा प्रवेश गरेको छ । मेची रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा आर्मीले अर्को विभागीय क्लब नेपाल पुलिस फुटबललाई २–१ ले हराउँदै अन्तिम दुई स्थान पक्का गरेको हो । आर्मीले अब फाइनलमा नेपाल एपिएफ र चर्च ब्वाइज युनाइटेडबिचका विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल सोमबार हुने आयोजकले जनाएको छ ।
आर्मीको जितमा चन्द्रा भण्डारी र जेनिफर राना मगरले समान एक गोल गरे । पुलिसकी रेखा पौडेलले एक गोल फर्काइन् । क्वार्टरफाइनलमा नियमित गोलरक्षक उषा नाथले रातो कार्ड पाएकी थिइन् । डिबक्सबाहिर आएर बल समात्दा उनले रातो कार्ड व्यहोरेकी थिइन् । जसका कारण उषाले आर्मीविरुद्धको महŒवपूर्ण सेमिफाइनल खेल गुमाइन् । सीधा रातो कार्ड पाएकाले उनी खेलमा प्रतिबन्धित छिन् ।
गोलरक्षक उषा नाथको अभाव सेमिफाइनलमा खड्किँदा पुलिस बाहिरियो । पुलिसले गत कात्तिकमा झापाको दुधेमा भएको प्रथम झापा महिला गोल्डकप हात पारेको थियो । त्यसवेला पुलिसले नेपाली महिला फुटबलमा लामो समयदेखि राज गर्दै आएको एपिएफलाई स्तब्ध पार्दै उपाधि खडेरीलाई ब्रेक लगाएको थियो । मेची रंगशालामा भने पुलिसले बलियो आर्मीविरुद्ध दोस्रो रोजाइकी गोलरक्षक सपना राईलाई मैदानमा उतारेको थियो । राईले आशा गरेअनुरूप आर्मीविरुद्धको खेलमा राम्रो गर्न सकिनन् ।
पहिलो हाफमै आर्मीको अग्रता
खेलको ३५औँ मिनेटमा पुलिस एक गोलले पछि परेको थियो । आर्मीकी चन्द्राले १–० का लागि गोल गरिन् । विमला चौधरीले दिएको लामो पासमा पुलिसकी डिफेन्डर समीक्षा घिमिरेले क्लियर गर्न नसक्दा चन्द्राले सहजै डिबक्सभित्र गोल गरेकी थिइन् । खेलको ५६औँ मिनेटमा आर्मीले २–० को अग्रता बनायो । जेनिफरले आर्मीका लागि दोस्रो गोल गरिन् । पुलिसले गोलरक्षक सपनाको गल्तीमा जेनिफरले गोल गरेकी हुन् । आर्मीकी हिमा चौधरीले डिबक्सभित्रसम्म प्रहार गरेको बल पुलिसकी गोलरक्षक सपनाले नियन्त्रणमा लिन सकिनन् ।
डिबक्समा अनमार्क रहेकी जेनिफरले सहज गोल गरिन् । पहिलो हाफमा एक गोलले पछि परेको पुलिसले दोस्रो हाफमा आक्रामक खेल प्रदर्शन गर्यो । यद्यपि, फिनिसिङमा चुक्दा पुलिस सेमिफाइनलबाटै बाहिरियो । खेलको ७०औँ मिनेटमा पुलिसकी स्ट्राइकर रेखाले गोलअन्तर कम गरिन् । डिबक्समा आर्मीका डिफेन्डरहरूले क्लियर गर्न नसकेको बललाई पुलिसकी निर्मला विकले रेखालाई पास दिइन् । रेखाले उत्कृष्ट हेडिङ गोल गर्दै पुलिसलाई २–१ को अन्तरमा ल्याइन् । त्यसपछि पुलिसले थप गोल गर्न सकेन । सुरुदेखि दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । विभागीय क्लबबिचको प्रतिस्पर्धा रोचक बन्न पुग्यो ।