शारदा नगरपालिकाको गौरवको आयोजनाका रूपमा निर्माण गरिएको आधुनिक बसपार्क सञ्चालनमा आएको छ । सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको आधुनिक बसपार्कको बुधबार शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले उद्घाटन गरेका हुन् । मेयर भण्डारीले नगरको गौरवको आयोजनाले समग्र जिल्लाको प्रतिनिधित्व गरेको बताए ।
‘पहिले बसपार्क अव्यवस्थित हुँदा सकडकै गाडी पार्किङ गर्नुपर्ने अवस्था थियो,’ उनले भने, ‘यसले बजारको सौन्दर्य पनि हराएको थियो । परिणामतः अहिले श्रीनगर बसपार्क आधुनिक, व्यवस्थित र सुविधासम्पन्न पूर्वाधारका रूपमा स्थापित भएको छ ।’
बसपार्क सञ्चालन भएसँगै बजार क्षेत्रका सडक तथा फुटपाथमा अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएका पसल तथा व्यवसायलाई समेत बसपार्कभित्र व्यवस्थापन गरिएको छ । बसपार्क सञ्चालनको सम्पूर्ण जिम्मेवारी टेन्डर प्रक्रियामार्फत शारदा नगरपालिका– २ स्थित जय बागेश्वरी कन्स्ट्रक्सन एन्ड सप्लायर्सले पाएको छ । सम्झौताअनुसार उक्त कम्पनीले शारदा नगरपालिकालाई वार्षिक ५२ लाख रुपैयाँ राजस्व बुझाउनेछ । बसपार्क करिब सात हजार वर्गमिटर क्षेत्रफलमा सरकारी, पर्ती–ऐलानी जग्गामा निर्माण गरिएको छ ।
संघीय सरकार, कर्णाली प्रदेश सरकार र शारदा नगरपालिकाको साझेदारीमा ५ करोड ६० लाखको लागतमा निर्माण गरिएको यो आयोजना नगरपालिकाको प्राथमिकतामा रहेको गौरवको आयोजना हो ।
बसपार्क परिसरमा दुई वटा ३४ कोठे व्यापारिक भवन, ३५ स्टल र ३४ सटर सहित विभिन्न संरचना निर्माण गरिएका छन् । बसपार्क सञ्चालनमा आएसँगै श्रीनगर बजारको अव्यवस्थित पार्किङ समस्या पनि क्रमशः समाधान हुँदै गएको छ । यसले सहरी व्यवस्थापन सुधार्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।