- अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको सिनियर महिला टोलीले च्यालेन्ज कपमा रुवान्डालाई दुई विकेटले हराउँदा पुरुष ‘ए’ टोली भने ओमानसँग ७० रनले पराजित
नेपाली राष्ट्रिय पुरुष र महिला क्रिकेट टोलीले बुधबार अन्तर्राष्ट्रिय खेलमा मिश्रित नतिजा निकालेका छन् । एकै दिन फरक दुई अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले जित र हार सामना गर्यो । महिला टोलीले रुवान्डामौ चलिरहेको आइसिसी च्यालेन्ज कपमा लगातार दोस्रो जित हात पारेको थियो । त्रिवि क्रिकेट मैदानमा नेपालको पुरुष ‘ए’ टोली भने ओमानसँग एकदिवसीय खेलमा ७० रनले हारेको छ ।
च्यालेन्ज कप टी–२ मा नेपालले लगातार दुई खेलमा जित निकाल्दा आयोजक रुवान्डालाई दुई विकेटले हराएको थियो । दुई जितपछि नेपालले तीन खेलमा ४ अंक बनाएको छ । यसअघि नेपाल पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो ।
दोस्रो खेलमा नेपालले इटालीमाथि सानदार जित निकाल्यो । रुवान्डाले चार खेलमा दुई जितसहित ४ अंक जोडेको छ । रुवान्डाले पहिलो खेलमा इटालीलाई नतिजा सुम्पिएको थियो । त्यसपछि रुवान्डाले अमेरिका र भानुआटुलाई पाखा लगायो । नेटरन रेटका आधारमा रुवान्डा शीर्ष स्थानमा छ । नेपाल दोस्रो र इटाली तेस्रो स्थानमा छन् । नेपालले अब चौथो खेल भानुआटुसँग खेल्ने आइसिसीले जनाएको छ । एसोसिएट राष्ट्रहरूको महिला क्रिकेट विकासका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले यस सिजनदेखि च्यालेन्ज कप सुरुवात गरेको हो । पहिलो संस्करणमा नेपाल, रुवान्डा, इटाली, भानुआटु र अमेरिकाले प्रतिस्पर्धा गरिरहेका छन् ।
अन्तिम दुई बलअघि महिला टोली विजयी
नेपालले शीर्ष स्थानमा रहेको रुवान्डालाई दुई बलअघि हराएको हो । पहिलो ब्याटिङ गरेको रुवान्डाले घरेलु मैदानमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्न सकेन । नेपालको कसिलो बलिङका अगाडि निरीह देखिएको रुवान्डाका खेलाडीले १९.४ ओभरमा सबै विकेट गुमाएर ८८ रनको योगफल खडा गर्यो । प्रत्युत्तरमा नेपालले लक्ष्य पछ्याउँदा खराब ब्याटिङ प्रदर्शन गरेको थियो । नेपालले १९.४ ओभरमा आठ विकेटको क्षतिमा ८९ रन बनाउँदै महत्वपूर्ण जित निकाल्यो । नेपालको जितमा अन्तिम ओभरमा रचना चौधरीले तीन रन बनाइन् ।
ओपनर सम्झना खड्का र विन्दु रावलले सुरुवात उत्कृष्ट गरेका थिए । उनीहरूले पहिलो विकेटका लागि ८.५ ओभरमा ५१ रनको साझेदारी गर्दै जितको आधार बनाएका थिए । विन्दुले २१ बलमा एक चौकाको सहयोगमा १० रन जोडिन् । सम्झनाले उपकप्तान पूजा महतोसँग दोस्रो विकेटका लागि २३ रनको साझेदारी गरी नेपाललाई १२.४ ओभरमा ७४/२ को स्थितिमा राखिन् । रुवान्डाविरुद्ध सम्झना अर्धशतकीय इनिङ्स खेल्न दुई रनले चुकिन् । उनले ४२ बलमा सर्वाधिक ४८ रन जोड्दा सात चौका प्रहार गरिन् ।
१२ रनको अन्तरमा ६ विकेट गुम्यो
ओपनर सम्झना र विन्दु आउट भएपछि नेपालको ब्याटिङ एकैपटक कमजोर भयो । ७४–२ को बलियो स्थितिमा रहेको नेपाल ८६–८ को नाजुक स्थितिमा पुग्यो । नेपालले स्कोर बोर्डमा थप १२ रन जोड्दा ६ विकेट गुमाएको थियो । इनिङ्सको १८.६ ओभरमा नेपालले आठौँ विकेटका रूपमा पूर्वकप्तान रुविना क्षेत्रीलाई गुमाएको थियो । अघिल्लो खेलमा म्यान अफ दी म्याच भएकी रुविना यसपटक दुई रनमै सीमित भइन् । उनले १३ बलको सामना गरिन् । मध्यक्रमको ब्याटिङ कोल्याप्स हुँदा नेपालमाथि रुवान्डाले उत्कृष्ट पुनरागमन गरेको थियो ।
तर, अन्तिम ओभरमा रचनाकुमारीले धैर्यपूर्वक ब्याटिङ गरी नेपाललाई जित दिलाइन् । उनले १९औँ ओभरमा आवश्यक तीन रन बनाएकी थिइन् । उपकप्तान पूजाले २० बलमा १३ रन बनाइन् । कप्तान इन्दु बर्माले एक, कविता कुँवरले शून्य, कविता जोशीले एक तथा रुवि पोडारले एक रन बनाएका थिए । रुवान्डाको बलिङमा गिओभानिसले चार ओभरमा एक मेडन राखी १४ रन खर्चेर तीन विकेट लिइन् । हेनरिटी इसिम्वेले १८ रनमा दुई विकेट र ग्लेसेले दुई ओभरमा एक मेडनसहित एक रन खर्चेर दुई विकेट हात पारेका थिए ।
नेपालको कसिलो बलिङ
बलियो ब्याटिङ मानिएको रुवान्डामाथि नेपाली बलरले सुरुदेखि नै दबाब बनाएका थिए । इनिङ्सको १.३ ओभरमा नेपालले रुवान्डाको पहिलो विकेट लिएको थियो । नेपालले रुवान्डालाई १९.४ ओभरमा अलआउट गर्यो । यसक्रममा रचनाकुमारी चौधरीले तीन ओभरमा १२ रन खर्चेर तीन विकेट लिइन् । कविता कुँवर र पूजाले समान दुई विकेट हात पारे । मनीषा उपाध्याय र रिया शर्माले पनि समान एक विकेट लिए ।
रुवान्डाको ब्याटिङमा अलिस कुज्वेले सर्वाधिक १७ रन बनाउन ३१ बलमा एक चौका प्रहार गरिन् । विकेटकिपर मेर्भेली वासेले २० बलमा १५ रन बनाइन् । पुछारका क्लासेसले २० बलमा १३ रन जोडिन् ।
ओमानसँग नेपाल ‘ए’ ७० रनले पराजित
नेपालको पुरुष ‘ए’ टोलीले माथिल्लो मूलपानी क्रिकेट मैदानमा ओमानसँगको अभ्यास एकदिवसीय खेलमा ७० रनको हार सामना गरेको छ । पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा नौ विकेट गुमाएर २८० रन बनाएको थियो । प्रत्युत्तरमा २८१ रनको लक्ष्य पछ्याएको नेपाल ४४.४ ओभरमा २१० रनमा अलआउट भयो । ओमानका लागि मुजिबुर अलीले ब्याटिङमा सर्वाधिक ७२ रन तथा बलिङमा सकिल अहमदले तीन विकेट लिएका थिए ।
नेपालको ब्याटिङमा ईशान पाण्डे र कप्तान अनिल शाहले अर्धशतकीय इनिङ्स खेल्दा पनि जित दिलाउन सकेनन् । ईशानले ५२ र कप्तान अनिलले ५० रन बनाए । यसैगरी, देव खनालले ४३ र तृतराज दासले ३१ रन बनाए । नेपाल एक समयमा १७७–२ को बलियो अवस्थामा थियो । तर, मध्यक्रम ब्याटिङ फितलो भएपछि नेपालले थप ३३ रनमा आठ विकेट गुमाउँदा ओमानसँग ७० रनको हार सामना गर्यो । ओमानका लागि मुजिबुर अली र नदीम खानले समान दुई विकेट लिए ।
यसअघि ओमानका कप्तान जतिन्दर सिंहले ५८ रन बनाए । हासिर दाफेदारले ४६ र आशिष ओडेराले २७ रन जोडे । नेपाल ‘ए’का आकाश चन्दले नौ ओभरमा ३१ रन दिएर चार विकेट लिए । सन्तोष यादवले दुई विकेट हात पारे । साहब आलम, रसिद खान, शेर मल्लको नाममा समान एक विकेट रहे । विश्वकप लिग २ शृंखलाको तयारीमा रहेको नेपालले एक्सपोजरका लागि ओमानसँग अभ्यास एकदिवसीय खेलको आयोजना भएको हो ।