महालक्ष्मी विकास बैंकले युनियन पे वालेट प्रयोगकर्ताबाट नेपालभित्रै क्युआर कोडमार्फत भुक्तानी स्वीकार गर्ने सुविधाको सुरुवात गरेको छ । बैंकले आफ्नो फोनपे क्युआर मर्चेन्ट नेटवर्कमार्फत भुक्तानी स्वीकार गर्न सक्ने सुविधा सञ्चालनमा ल्याएको हो ।
यो सेवा युनियनसँगको सहकार्यमा फोनपेमार्फत लागू गरिएको हो । यससँगै युनियन पे डिजिटल प्रयोगकर्ताले नेपालभरका महालक्ष्मी विकास बैंकका क्युआर मर्चेन्टमा सजिलै भुक्तानी गर्न सक्नेछन् । विशेष गरी चीनलगायतका विभिन्न देशबाट नेपाल आउने पर्यटकलाई यो सुविधाले लाभ दिने बताइएको छ ।
सन् २००२ मा स्थपना भएको युनियन पे विश्वकै ठुला भुक्तानी सेवाप्रदायकमध्ये एक हो । यसको ९.६ अर्बभन्दा बढी कार्ड जारी भइसकेको छ । यस्तै, एक सय ८० भन्दा बढी देश तथा क्षेत्रमा यसको स्वीकृति रहेको बताइएको छ ।
यो सेवापछि अहिले नेपालमा प्रदान भइरहेको क्युआर पूर्वाधार अझ प्रभावकारी हुने विश्वास बैंकले लिएको छ । डिजिटल नवप्रवर्द्धनलाई अझ सुरक्षित, प्रभावकारी तथा समावेशी बनाउन प्रतिबद्ध रहेको बैंकले जनाएको छ ।
०८३ लाई डिजिटल प्रवर्द्धन वर्षका रूपमा मनाउने योजनाअनुरूप बैंकले ‘महालक्ष्मी स्मार्ट साथी’मार्फत नयाँ योजना घोषणा गरेको छ । महिनाको पहिलो हप्ता कम्तीमा एक कारोबार गर्ने ग्राहकमध्ये तीनजनाले आकर्षक भ्रमण प्याकेज प्राप्त गर्न सक्नेछन् । बैंकका देशभर एक सय तीन शाखा कार्यालय र साढे आठ लाखभन्दा बढी ग्राहक छन् ।