नेपाल क्रिकेट संघ (क्यान)ले ओमानसँगको एकदिवसीय सिरिजका लागि नेपाली ‘ए’ टोलीको घोषणा गरेको छ । क्यानले अनिलकुमार शाहको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको जनाएको छ । युएईविरुद्धको टी–२० आई सिरिजमा डेब्यु गरेका सन्तोष यादव र हेमन्त धामी पनि ‘ए’ टोलीमा समावेश भएका छन् ।
एकदिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूले सिनियर टोलीमा स्थान बनाउन नसक्दा राष्ट्रिय ‘ए’ टोलीमा अटाएका छन् । त्रितराज दास, देव खनाल, इशान पाण्डे, सन्दीप जोरा, कुशल मल्ल र रसिद खानले स्थान पक्का गरेका छन् ।
यसैगरी, साहव आलम, रिजन ढकाल, आकाश चन्द, युवराज खत्री र शेर मल्ल रहेका छन् । नेपाल ‘ए’ र ओमानबिच दुई खेलको सिरिज मूलपानी क्रिकेट मैदानमा हुनेछ । पहिलो खेल बुधबार र दोस्रो खेल शुक्रबार हुने क्यानले जनाएको छ ।
ओमान आइसिसी पुरुष विश्वकप लिग २ को सिरिज तयारीका लागि नेपाल आएको छ । शनिबारदेखि लिग २ अन्तर्गत नेपाल, युएई र ओमानबिच सिरिज हुँदै छ । नेपाली टोलीमा प्रशिक्षकमा राजु बस्न्यात र सहायक प्रशिक्षकमा प्रकाश शर्मा रहेका छन् ।