एक हजार गोलनजिक रोनाल्डो

बुधबार, ९ बैशाख, २०८३
डिजिटल संस्करण
  • फुटबलमा एक हजार गोल पूरा गर्न पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई ३१ गोल आवश्यक

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो फुटबल इतिहासमै आधिकारिक रूपमा एक हजार गोलनजिक पुगेका छन् । साउदी प्रो लिगमा अल नासरबाट व्यावसायिक फुटबल खेलिरहेका रोनाल्डोले करिअरमा ९६९ गोल संख्या पुर्याएका छन् । फुटबल इतिहासमा आधिकारिक रूपमा तथ्यांक संकलन गरेपछि रोनाल्डो र अर्जेन्टिनी कप्तान लियोनल मेसी एक हजार गोल पूरा गर्ने अभियानमा छन् । यद्यपि, फुटबलमा डेटा संकलन गर्नुअघिसम्म ब्राजिलका पेले र ब्राजिलकै रोमारियोले करिअरमा एक हजारभन्दा बढी गोल गरेको दाबी गरेका छन् । 

रोनाल्डोले सोमबार राति एएफसी च्याम्पिन्स लिग २ मा अल नासरलाई सेमिफाइनलमा पुर्याउँदा एक गोल गरेका थिए । यो खेलम अल नासरले अल वास्ललाई ४–० ले हराएको थियो । जितसँगै अल नासर एएफसी च्याम्पियन्स लिग २ को सेमिफाइनलमा पुगेको छ । अल वास्लविरुद्ध गरेको एक गोलसँगै रोनाल्डो ऐतिहासिक एक हजार गोलको उपलब्धितर्फ थपनजिक भएको हो । उनी यो उपलब्धि हासिल गर्न ३१ गोल टाढा छन् । दोस्रो स्थानमा मेसी रहेका छन् । मेसीले अहिलेसम्म ९०५ गोल गरेका छन् । रोनाल्डोले विभिन्न क्लबमा आबद्ध हुँदै करिअरमा ५९६ गोल गरको छन् । उनले राष्ट्रिय टोली पोर्चुगलबाट सर्वाधिक १४३ गोल ठोकेका छन् ।

रोनाल्डोलाई पछ्याइरहेका मेसीले क्लब फुटबल करिअरमा ५६० गोल गरेका छन् । उनी अहिले अमेरिकाको इन्टर मियामीबाट खेलिरहेका छन् । मेसीले राष्ट्रिय टोलीबाट ११६ गोल गरेका छन् । क्लब इतिहासमा धेरै गोल गर्ने खेलाडीमा ब्राजिलका पेले हुन् । उनले ६०४ गोल गरेका थिए । यसैगरी, बाज्रिलकै रोमारियोले क्लब फुटबलमा ५१६ गोल गरेका छन् । तथ्यांकअनुसार पेलेले करिअरमा आधिकारिक रूपमा ७६२ र रोमारियाले ७५६ गोल गरेका थिए । 

लगातार उत्कृष्ट फर्ममा
४१ वर्षीय रोनाल्डो अल नासरमा आबद्ध भएयता उत्कृष्ट फर्ममा छन् । उनले गोल संख्या पनि बिस्तारै बढाइरहेका छन् । यो सिजनमा रोनाल्डोले २६ गोल गरेका छन् । रोनाल्डोले एक दशक स्पेनिस क्लब रियल म्याड्रिडमा बिताउँदा कुनै पनि सिजनमा कमजोर प्रदर्शन गरेका थिएनन् । अहिले अल नासरमा उनी यस्तै प्रदर्शन गरिरहेका छन् । अल वास्लविरुद्ध खेलको ११औँ मिनेटमा रोनाल्डोले उत्कृष्ट फिनिसिङ गरेका थिए । नावाफ बौसालको पासमा डिबक्सभित्र उनले सुन्दर गोल गरेका थिए । खेलको २४औँ मिनेटमा इनिगो मार्टिनेजले जोआओ फेलिक्सको पासबाट दोस्रो गोल गरे । त्यसको दुई मिनेटपछि फेलिक्सकै अर्को पासमा अब्दुलेलाह अल–अम्रीले तेस्रो गोल थपे । अन्तिम गोल साडियो मानेले गरे । यसमा अब्दुल्लाह अल–हमदानको सहयोग थियो । ४१ वर्षीय रोनाल्डो गत महिना चोटग्रस्त बनेका थिए । यद्यपि, उनले छिट्टै आफूलाई फर्ममा ल्याए । 

साउदीमा रमाइरहेका रोनाल्डो
सन् २०२३ मा युरोपियन फुटबल छाडेर मध्यपूर्वी एसिया आउँदा रोनाल्डोको करिअर समाप्त भएको धेरैले प्रतिक्रिया दिएका थिए । तर, उनले एसियन भूमि रोज्नुको पछाडि यहाँको फुटबल कल्चर विकास र प्रवर्द्धन गर्नु बताएका छन् । ‘यहाँ आउँदा कस्तो हुन्छ जस्तो लागेको थियो, तर यो तीन वर्षमा मलाई साउदी अरेबियासँगै अन्य राष्ट्र एकदम मन परेको छ,’ रोनाल्डोले भने । उनले आफू कहिले पनि गोलको पछाडि नलागेको बताए । ‘धेरैले म गोलका लागि दौडिरहेको मान्छन्, तर मेरो लक्ष्य क्लबलाई जिताउनु मात्र नभएर उपाधि दिलाउनु पनि हो,’ उनले भने, ‘अहिले एक हजारको चर्चा चलिरहेको छ । हेरौँ आउँदा दिनमा कस्तो नतिजा आउनेछ ।’ 

फिफा विश्वकपको उपाधिमा नजर
अहिले रोनाल्डोको मुख्य लक्ष्य नै अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने फिफा विश्वकपमा पोर्चुगललाई उपाधि दिलाउनु हो । सन् २००६ देखि विश्वकपमा सहभागी हुँदै आइरहेका रोनाल्डोले आगामी जुन–जुलाईमा आयोजना हुने विश्वकपमा पोर्चुगललाई उपाधि दिलाउने प्रयास गर्ने बताएका छन् । 

उनले गत डिसेम्बरमा दुबईमा भएको ग्लोबल सकर अवार्डमा भनेका थिए । ‘अब मेरो प्रयास भनेको पोर्चुगललाई विश्व च्याम्पियन बनाउने हो । यसअघि पोर्चुगल युरोकप तथा नेसन्स कपको विजेता बनिसक्यो,’ रोनाल्डोले भनेका थिए, ‘यसका लागि सबैले कडा मिहिनेत गर्नुपर्छ ।’ 

सुझावित समाचार