झापामा १७ वर्षदेखि लगातार तटबन्धन गर्दा पनि ठुला पाँच नदीमा आधा पनि तटबन्ध हुन सकेको छैन । रतुवा–मावा, कमल, कन्काई, बिरिङ र मेची नदीमा ३०३.६६ किलोमिटर तटबन्ध गर्न १७ वर्षअघि सुरु गरिएको थियो । तर, हालसम्म १२६.४६ किलोमिटर मात्रै तटबन्ध भएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना झापाले जनाएको छ । झापाका यी पाँच नदीमा अझै १७७.२० किलोमिटर तटबन्ध गरे मात्रै बस्ती सुरक्षित हुन्छन् ।
झापाका नदीमा तटबन्ध गर्दै गाउँलाई सुरक्षित गर्न आर्थिक वर्ष ०६६/६७ मा जनताको तटबन्ध कार्यालय स्थापना भएको थियो । सुरुमा यो कार्यालयले रतुवा, मावा र कन्काई नदीको तटबन्ध गर्ने कार्यक्षेत्र थियो । पछि विस्तार हुँदै झापाका पाँच नदी यसको कार्य क्षेत्र बन्यो ।
०८१ चैतमा कार्यालयको नाम परिवर्तन हुँदै सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनामा परिणत भयो । नाम परिवर्तनसँगै यसको कार्यक्षेत्र पनि विस्तार भएको कार्यालय प्रमुख विजय रेग्मीले बताए । संघीय कार्यक्षेत्र पर्ने सिँचाइसँगै पाँचथरको हेवा र काबेली नदीको तटबन्धको जिम्मेवारी पनि यो कार्यालयलाई छ । यद्यपि सिँचाइ नयाँ भएका कारण सिँचाइको काम अघि बढिनसकेको उनले बताए ।
झापाका पाँच नदीका लागि १८ असार ०७६ मा दश वर्ष कार्ययोजनाअन्तर्गत डिपिआर तयार भएको थियो । डिपिआरअनुसार कार्यालय स्थापना भएको १७ वर्षमा बल्ल ४१.६४ प्रतिशत मात्र काम भएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना झापाले जनाएको छ ।
डिपिआरअनुसार झापाका पाँच नदीमा तटबन्ध पूरा गर्न १७ अर्ब ६१ करोड ७ लाख २२ हजार लाग्ने अनुमान गरिएको छ । तर, हालसम्म ४ अर्ब १८ करोड ७५ लाख ९० हजार मात्रै खर्च भएको छ । जुन खर्चले १२६.४६ किलोमिटर तटबन्ध भएको आयोजना प्रमुख रेग्मीले जानकारी दिए । अब १७७.२० किलोमिटर तटबन्ध निर्माण गर्न १३ अर्ब ४२ करोड ३१ लाख ३२ हजार रुपैयाँ लाग्ने आयोजनाले जनाएको छ ।
आयोजनाको विवरणअनुसार रतुवा–मावामा ९०.८५ किलोमिटर तटबन्ध गर्नुपर्छ । जसका लागि ३ अर्ब ८९ करोड ६४ लाख ८४ हजार रुपैयाँ लाग्छ । यो नदीमा हालसम्म एक अर्ब ३८ करोड १२ लाख ७३ हजार खर्च गरेर ३९.८६ किलोमिटर तटबन्ध गरिएको छ । यस्तै, कमल नदीमा ४६.८४ किलोमिटर तटबन्ध गर्न एक अर्ब ७७ करोड ११ लाख ९१ हजार रुपैयाँ लाग्नेछ । योमध्ये हालसम्म ४७ करोड ५७ लाख ५६ हजार रुपैयाँ लागतमा १५.५५ किलोमिटर तटबन्ध भएको आयोजनाले जानकारी दिएको छ ।
यस्तै, कन्काई नदीबाट बस्तीलाई सुरक्षित गर्न ५३ .१ किलोमिटर तटबन्ध गर्नुपर्ने आयोजनाले जनाएको छ । कन्काई नदीमा ३ अर्ब ९० करोड ३४ लाख ५१ हजार लाग्ने अनुमान गरिएको छ । जसमा एक अर्ब २८ करोड १६ लाख ९८ हजार खर्चिएर २९.४९ किलोमिटर तटबन्ध भइसकेको आयोजनाले जनाएको छ ।
यस्तै, बिरिङ नदीमा ६५.९ किलोमिटर तटबन्ध गर्नुपर्ने अनुमान गरिएको छ । यसका लागि २ अर्ब ४६ करोड ५३ लाख ९ हजार लाग्ने अनुमान छ । जसमध्ये ७६ करोड ५६ लाख ८० हजारमा २९.७६ किलोमिटर तटबन्ध भइसकेको छ । नेपाल–भारत सीमामा रहेको मेची नदीमा ४६ दशमलव ९७ किलोमिटर तटबन्ध गर्नुपर्ने अनुमान गरिएको छ । जसका लागि पाँच अर्ब ५७ करोड ४२ लाख ८७ हजार रुपैयाँ बजेट लाग्ने डिपिआरमा उल्लेख छ । यो नदीमा हालसम्म ११ दशमलव ८० किलोमिटर तटबन्ध भएको छ । जसका लागि २८ करोड ३१ लाख ८७ हजार बजेट लागिसकेको छ । तटबन्ध भएर पनि कन्काई नदीले भने १ दशमलव ७३ किलोमिटर तटबन्धनमा क्षति पुगेको आयोजनाले जनाएको छ । विभिन्न समयमा आएको बाढीले कन्काईको तटबन्धमा क्षति पुगेको हो ।
१७ वर्षमा ५० प्रतिशत पनि काम नसकिँदा पाँच नदीबाट झापाका बस्ती सुरक्षित हुन अझै लामो समय लाग्ने देखिएको छ । ‘मूल्य वृद्धि बढ्दै जाँदा लागत अनुमान पनि बढ्न सक्छ । दश वर्षे योजनाअनुसार डिपिआर बनाएको भए पनि काम नसकिन सक्छ । आएको बजेट चाहिँ फ्रिज भएको छैन । देशभर तटबन्ध गर्नुपर्ने भएकाले सीमित बजेट आउँछ । त्यहीबाट हामीले काम गरिरहेका छौँ,’ रेग्मीले भने, ‘आवश्यकताअनुसार बजेट आउँदैन । आएको बजेटलाई आवश्यकताअनुसार प्राथमिकता छुट्याएर काम गरिरहेका छौँ ।’