- सन् २०१७ मा आइसिसी च्याम्पियन्स ट्रफीमा कप्तानी भूमिका निर्वाह गरेका सर्फराज अहमद अब पाकिस्तानी टोलीका प्रशिक्षक
पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले बंगलादेशविरुद्धको दुई टेस्ट सिरिजका लागि खेलाडीसँगै प्रशिक्षक घोषणा गरेको छ । ४ मेदेखि बंगलादेशमा हुने दुई टेस्टका लागि पूर्वराष्ट्रिय टोलीका खेलाडी सर्फराज अहमदलाई नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको पिसिबीले जनाएको छ । यसैगरी, पिसिबीले चार नयाँ खेलाडी समावेश गरिएको छ । टोलीको कप्तानी सान मसुदले गर्नेछन् । अब्दुल्लाह फजल, अजान अवाइस, गाजी घोरी र अमादबाट पहिलोपटक टेस्ट टोलीमा परेका हुन् । खेलाडीहरूले घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि उनीहरूले टोलीमा अवसर पाएका हुन् ।
दक्षिण अफ्रिकाविरुद्धको खेलमा खराब प्रदर्शन गरेका पाँच खेलाडी टोलीमा अटाएनन् । सफिक, आसिफ अली, अबरार अहमद, कामरान गुलाम र रोहेल नजिर यसपटक टोलीमा नरहेको पिसिबीको भनाइ छ । मोहम्मद अब्बासले पुनरागमन गरेका छन् । बंगलादेशविरुद्ध बाबर आजम, मोहम्मद रिजवान, सलमान अघा, सउद सकिल र इमाम उल हक अनुभवी ब्याट्सम्यानका रूपमा छन् । बलिङतर्फ साहिन शाह अफ्रिदी, हसन अली, खुर्रम साहजाद र अब्बासले जिम्मेवारी पाएका छन् । नोमान अली र सजिद खान स्पिनरका रूपमा छन् ।
घरेलु प्रतियोगिताबाट चार खेलाडी छानिए
पाकिस्तानले बंगलादेशविरुद्ध चार नयाँ खेलाडी छनोट गर्दा उनीहरूले घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको पिसिबीले जनाएको छ । पहिलो श्रेणीमा फजाल सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनले सात खेलमा ५१.८३ को औसतमा ६२२ रन जोडे । प्रेसिडेन्ट कपमा उनले ओपनिङका रूपमा ब्याटिङ गरी एक खेलमा १८२ रन बनाएका थिए । कराँच ब्लुबाट प्रतिस्पर्धा गरेका फजाललले फाइनलको दुवै इनिङ्समा ८८ तथा ११४ रन जोडेका थिए ।
यसैगरी, विकेटकिपर ब्याट्सम्यानका रूपमा घोरी समावेश भएका छन् । उनले ४८.२७ को औसतमा ५३१ रन जोडेका थिए । अवासीले लगातार पहिलो श्रेणी क्रिकेट प्रतियोगितामा उत्कृष्ट फर्ममा छन् । उनले ४८.६ को औषतमा ब्याटिङ गरेका थिए । उनले पहिलो श्रेणीमा अहिलेसम्मा पाकिस्तानका लागि २ हजार ६ सय ७३ रन जोडेका छन् । गत संस्करणमा उनले ८ सय ८४ रन बनाएका थिए ।
फास्ट बलर बटले प्रेसिडेन्ट कपमा सर्वाधिक ३२ विकेट लिएका थिए । उनले १९.२१ औसतमा बलिङ गरेका थिए । बलिङ मात्र नभएर ब्याटिङमा समेत उनको प्रदर्शन राम्रो छ । उनले प्रेसिडेन्ट कपमा २०६ रन जोडेका छन् । बलरका रूपमा उनको यो प्रदर्शन अब्बल रहेको पिसिबीले जनाएको छ । नयाँ प्रशिक्षक सर्फराजले युवा खेलाडीहरूको साथमा बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न सक्ने जनाएका छन् ।
प्रशिक्षण करिअरमा जमेका सर्फराज
सन् २०१७ को आइसिसी च्याम्पियन्स ट्रफिमा सर्फराजको कप्तानीमा पाकिस्तानले प्रतिस्पर्धा गरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएपछि उनले प्रशिक्षण करिअर अगाडि बढाएका थिए । यू–१९ एसिया कपमा पाकिस्तानले पछिल्लोपटक सहभागिता जनाउँदा मुख्य प्रशिक्षक उनी नै थिए । यसैगरी, उमेर समूहको विश्वकपको फाइनलमा उनकै प्रशिक्षणमा पाकिस्ताले भारतलाई हराएको थियो ।
सर्फराजलाई प्रशिक्षणमा पाकिस्तानकै पूर्व खेलाडीहरू असाद सफिक र उमार गुलले सहयोग गर्नेछन् । असादले ब्याटिङ तथा गुलले बलिङ प्रशिक्षण गर्नेछन् । गुलले पछिल्लो समयमा पाकिस्तानको एकदिवसीय टोलीमा बलिङ प्रशिक्षकका रूपमा काम गरेका थिए । सर्फराजको प्रशिक्षणमा पाकिस्तानले गत सिजनमा एसिया कप यू–१९ क्रिकेट प्रतियोगिता जितेको थियो । पाकिस्तानले बंगलादेशमा ४ मेमा ढाकामा पहिलो टेस्ट खेल्नेछ । यी दुईबिच दोस्रो टेस्ट १६ मेमा हुनेछ ।