त्रिभुवन आर्मी फुटबल क्लबको महिला टोलीले शनिबार पहिलो संस्करणको चन्द्रगढी महिला गोल्डकपमा सानदार जित निकालेको छ । मेची रंगशाला भद्रपुरमा आर्मीले पोखराको आरएस पोखरा फुटबल क्लबविरुद्ध ६–० को सानदार जित दर्ता गरेको हो । जितसँगै आर्मीले सेमिफाइनलमा पुगेको छ । निर्धारित ८० मिनेटको खेलमा आर्मीको जितका लागि चन्द्रा भण्डारी र विमला चौधरीले समान दुई गोल गरेका थिए । दीपा शाही र जेनिफर राना मगरले समान एक गोल गरे ।
खेलको १०औँ मिनेटसम्म पोखराले आर्मीलाई गोलरहितमा रोकेको थियो । त्यसपछि ११औँ मिनेटमा आर्मीले गोल गर्यो । आर्मीकी दीपा शाहीले १–० का लागि गोल गरिन् । चन्द्रा भण्डारीले डिबक्सबाट गरेको प्रहार विपक्षी पोखराकी गोलरक्षक मनीषा तामाङको हातबाट फुत्किएको बललाई अनमार्क रहेकी दीपाले सहजै गोल गरेकी हुन् । खेलको २६ औँ मिनेटमा आर्मीकी विमलाले २–० को अग्रता दिलाइन् । चन्द्राको पासमा दोस्रो बार च्याप्दै विमलाले प्रहार गरेको लङ रेन्जर बल गोलमा परिणत भएको थियो ।
खेलको २८औँ मिनेटमा विमलाले व्यक्तिगत दोस्रो गर्न सफल भइन् । सञ्जु कुमालले दिएको क्रसमा डिबक्समा अनमार्क रहेकी विमलाले भली गोल गरिन् । खेलको ३५औँ मिनेटमा आर्मीका लागि चन्द्राले ४–० का लागि गोल गरिने । दीपा शाहीको कर्नरमा विमला विकले दिएको पासलाई चन्द्राले हेडिङ गोल गरिन् । पहिलो हाफमा आर्मी एकपक्षीय प्रदर्शन गर्यो । पोखराले खेलको कुनै पनि समयमा आर्मीलाई चुनौति दिन सकेन ।
दोस्रो हाफमा पोखरा रक्षात्मक
पोखराले आर्मीविरुद्ध दोस्रो हाफमा बलियो डिफेन्स रणनीति लियो । जसका कारण आर्मीले मध्यान्तरपछि दुई गोलमात्र थप्यो । खेलको ५० औँ मिनेटमा आर्मीकी स्ट्राइकर जेनिफरले ५–० का लागि गोल गरिन् । विमला चौधरीले गरेको प्रहार गोलरक्षकले नियन्त्रणमा लिन नसकेपछि आर्मीकी जेनिफरले टिमका लागि पाँचौँ गोल गरिन् ।
खेलको ६२औँ मिनेटमा आर्मीकी चन्द्राले गोल गरिन् । तुलसा बोहोराले दिएको सुन्दर पासमा बल अघि बढाउँदै चन्द्राले सहजै गोल गरिन् । प्रतियोगिताको पहिलो खेलमा पोखरामाथि आर्मी हाबी रह्यो । विभागीय टोली आर्मीमाथि पोखराले सम्झनलायक प्रदर्शन गर्न सकेन । सुरुवातदेखि नै दबाबमा रहेको पोखराले कुनै पनि खतरानाक मुभ बनाउन सकेन । सुरुवातबाट आक्रामक खेल प्रदर्शन गरेको आर्मीले पोखरालाई रक्षापंक्तिमै व्यस्त बनायो । पहिलो खेलको प्लेयर अफ दी म्याच विमला चौधरी हुँदै नगद १० हजार रुपैयाँ हात पारिन् ।
विजेताले ११ लाख रुपैयाँ पाउने
१४ वैशाखसम्म चल्ने प्रतियोगितामा दुई विदेशी टोलीसहित दश टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक भएको आयोजकले जनाएको छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले नगद २५ हजार रुपैयाँ पाउनेछन् । आइतबारको खेल भुटानको थिम्पु सिटी फुटबल क्लब र चर्चब्वाइज युनाइटेडबिच प्रतिस्पर्धा हुनेछ ।