- रोयल नेपाल गल्फ क्लबमा ३४औँ होल बराबरीमा सकिँदा नीरज तामाङले टंकबहादुर कार्कीलाई ३–२ ले हराउँदै समग्रमा करिअरकै पाँचौँ उपाधि जिते
साबिक विजेता नीरज तामाङले सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत छैटौँ प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधि रक्षा गरेका छन् । उनको यो करिअरकै पाँचौँ उपाधि हो । लगातार दोस्रोपटक उपाधि जित्ने क्रममा नेपाल नम्बर एक गल्फर नीरजले १०औँ वरीयताका टंकबहादुर कार्कीलाई ३–२ ले हराएका थिए । सूर्य नेपालको जारी सिजनको दोस्रो उपाधि जितेका नीरजले एक लाख रुपैयाँ प्राप्त गरेका छन् ।
रोयल नेपाल गल्फ क्लबमा शुक्रबार भएको ३६ होलको फाइनलमा कुनै पनि समय टंकले नीरजलाई उछिन्न सकेनन् । नवौँ होलको समाप्तिमा नीरजले दुई होलको अग्रता बनाएका थिए । त्यसपछि १८औँ होल सकिँदा नीरजले पाँच होलको स्पष्ट अग्रता बनाए । यसपछि २०औँ होल टंकले जित्दै नीरजको अग्रता चार होलमा झारे । तर, २२औँ होलमा इगल प्रहार गर्दै नीरजले पुनः पाँच होलको अग्रता बनाए ।
टंकले २३औँ, २४औँ र २५औँ होल जित्दै नीरजसँगको अग्रता दुई होलमा घटाए । यसपछि ३३औँ होल नीरजले जिते । ३४औँ होल बराबरीमा सकिँदा दुई होलअगाडि नीरजले ३–२ को जितका साथ उपाधि रक्षा गर्न सफल भएका हुन् । टंक प्रोफेसनल करिअरको पहिलो उपाधि जित्न चुकेका छन् । उपविजेता बनेका टंकले ७५ हजार हात पारे । तीनदिने प्रतियोगितामा सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अर्डर अफ मेरिटका शीर्ष १६ मा रहेका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । कुल पुरस्कार राशि चार लाख २५ हजार रहेको थियो ।
रवि तेस्रो स्थानमा
छैटौँ वरीयताका रवि खड्का तेस्रो भएका छन् । उनले चौथो वरीयताका सञ्जय लामालाई ३–१ ले हराए । तेस्रो भएका रविले ५६ हजार र चौथो भएका सञ्जयले ४२ हजार प्राप्त गरेका छन् । प्रतियोगितामा क्वार्टरफाइनलमै सीमित भएका रामे मगर, जयराम श्रेष्ठ, दिनेश प्रजापति र भुवन नगरकोटीले १८ हजार प्राप्त गरेका छन् । पहिलो चरणबाट बाहिरिएका सूर्यप्रसाद शर्मा, भुवनकुमार रोक्का, रमेश अधिकारी, दीपक मगर, बलभद्र राई, धनबहादुर थापा र कृष्णमान राजबाहकले जनही १० हजार हात पारे । प्रतियोगिताका विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका कोषाध्यक्ष रोशन राईले पुरस्कार वितरण गरे ।