नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आधिकारिकता सम्बन्धमा सर्वोच्च अदालतले दिएको फैसला कसैका लागि पनि हार वा जितको विषय हुनु नहुने बताएका छन्।
सर्वाेच्च अदालतले कांग्रेसको आधिकारिकता विवादमा दायर रिटमा शुक्रबार अन्तिम फैसला गरेसँगै महामन्त्री पौडेलले व्यक्तव्य जारी गर्दै भनेका छन्, ‘याे फैसला कसैका लागि पनि हार वा जितको विषय हुनुहुँदैन । एउटाको जित वा अर्काको हारका रूपमा व्याख्या गरेर पार्टी एकता खल्बलिने वातावरण आउन नदिन हामी सबै सचेत र सजग हुनु अहिलेको अवस्थामा अनिवार्य आवश्यकता हो ।’
महामन्त्री पौडेलले अहिलेको आवश्यकता पार्टीभित्र एकता सुदृढ गर्नु भएको उल्लेख गर्दै सबै नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई पुनः चारतारे झन्डामुनि गोलबद्ध हुन आह्वान गरेका छन्।
उनले आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै सबैलाई सुरक्षित र आत्मविश्वासपूर्ण वातावरण निर्माण गर्न सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।
‘नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको फैसला स्वीकार गर्दछौँ,’ उनले भनेका छन्।
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षले दिएको रिट शुक्रबार सर्वाेच्चले खारेज गर्दै विशेष महाधिवेशनबाट भएको नेतृत्व चयनलाई नै आधिकारिकता दिएको हो।