विवादित छवि बनाएका नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन् । धितोपत्र निष्कासनमा अनियमितता तथा घुस बार्गेनिङ गर्ने गरेको आरोप लागेका श्रेष्ठले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
उनले शुक्रबार नै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राजीनामा पत्र बुझाएका छन् । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले श्रेष्ठको राजीनामा प्राप्त भएको जानकारी दिए ।
स्वार्थ समूहको जोडबोलमा १० मंसिर ०८१ मा केपी ओली नेतृत्वको तत्कालीन सरकारले उनलाई बोर्डको अध्यक्ष बनाएको थियो । विवादित व्यवसायी दीपक भट्टनिकट मानिने श्रेष्ठको नियुक्ति विवादित बनेको थियो, उनको योग्यतामाथि प्रश्नसमेत उठेको थियो । विभिन्न कम्पनीको धितोपत्र निष्कासनलगायतमा अनियमितता गरेको तथा आइपिओ निष्कासनको अनुमति दिन घुसको बार्गेनिङ गर्ने गरेको आरोप उनीमाथि छ । आइपिओ स्वीकृति गराउन कमिसन मागेको भनेर ऊर्जा व्यवसायीले चर्को विरोधसमेत गरेका थिए ।
श्रेष्ठमाथि अनियमितता र भ्रष्टाचारको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान अयोगले समेत छानबिन गरिरहेको छ । उनले पटक–पटक अख्तियारमा गएर बयान दिइसकेका छन् । त्यसपछि उनी राजीनामा दिने निर्णयमा पुगेको उनीनिकट स्रोतको भनाइ छ । वर्तमान सरकारले भ्रष्टाचार तथा अनियमिततासम्बन्धी छानबिन व्यापक रूपमा अघि बढाउने देखिएको छ । त्यसमा आफूसमेत पर्ने देखिएपछि श्रेष्ठले राजीनामा दिएका हुन् । अख्तियारले छानबिन गरेर मुद्दा दर्ता गरेको अवस्थामा श्रेष्ठ निलम्बनमा पर्न सक्ने थिए ।
वर्तमान सरकारले यसअघि राजनीतिक नियुक्ति लिएका तथा विवादित छवि बनाएकालाई पदबाट हटाउने नीति लिएपछि उननले राजीनामा दिने निष्कर्षमा पुगेको बोर्डकै एक सञ्चालकले बताए । श्रेष्ठले बिहीबार बोर्डको सञ्चालक समिति बैठकमा पदबाट राजीनामा दिने जानकारीसमेत गराएका थिए । ‘बिहीबार बोर्डको बैठक थियो, विशेष निर्णय भएनन्, नियमित काम थिए,’ एक सञ्चालकले भने, ‘उहाँ (अध्यक्ष श्रेष्ठ)ले अब म पदमा लामो समय नरहन सक्छु भनेर जानकारी गराउनुभएको थियो ।’