इन्डियन प्रिमियर लिग : साबिक विजेता बेंग्लोर शीर्ष स्थानमा उक्लियो

बिहिबार, ३ बैशाख, २०८३
डिजिटल संस्करण

साबिक विजेता रोयल च्यालेन्जर्स बेंग्लोर १९औँ इन्डियन प्रिमियर लिग (आइपिएल)को शीर्ष स्थानमा उक्लिएको छ । बेंग्लोरले लखनउ सुपर जायन्टलाई पाँच विकेटले हराउँदै शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सलाई विस्थापित गरेको हो । बेंग्लोरको मैदानमा लखनउले पहिलो ब्याटिङ गर्दै २० ओभरमा सबै विकेट गुमाएर १४६ रनको मध्यम योगफल खडा गर्यो ।

प्रत्युत्तरमा बेंग्लोरले १५.१ ओभरमा पाँच विकेटको क्षतिमा १४९ रन जोड्यो । बेंग्लोरले पाँच खेलमा चार जित र एक हार सामना गरी ८ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको राजस्थानले पाँचै खेलमा चार जित र एक हार निकाली ८ अंक बटुलेको छ । रनरेटममा राजस्थान दोस्रो स्थानमा झरेको हो ।

बेंग्लोरको जितमा विराट कोहलीले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ३४ बलमा ६ चौका र एक छक्का प्रहार गरेका थिए । उनी एक रनले अर्धशतकीय बनाउन चुके । त्यसपछि कप्तान रजत पडिकलले १३ बलमा २७ तथा जितेश शर्माले नौ बलमा २३ रन बनाए । 

ब्याटिङमा चुक्यो लखनउ
यसअघि ब्याटिङ गरेको लखनउको मध्य तथा पुछारका ब्याट्सम्यानले फितलो प्रदर्शन गरेका थिए । ओपनर मिचेल मार्स र एडिन माक्रामले पहिलो विकेटका लागि ३.६ ओभरमा ३२ रनको साझेदारी गरे । पहिलो विकेटबाहेक लखनउले अन्य विकेटका लागि गतिलो साझेदारीको साथ पाउन सकेन । कप्तान ऋषभ पन्त १ रनमा आउट भए । 

निकोलस पुरन पनि १ रनमै पेभेलियन फर्केका थिए । पुरन आउट हुँदा लखनउ ६.१ ओभरमा ३५–२ को अवस्थामा थियो । 

ओपनर मिचेलले ३२ बलमा तीन चौका र दुई छक्का प्रहार गरी ४० रनको योगदान दिए । मध्यक्रमका आयुश बदोनीले २४ बलमा ३८ रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरेका थिए । मुकुल चौधरीले २८ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३९ रनको योगदान दिए ।

सुझावित समाचार