भुवन र नीरज क्वार्टरफाइनलमा

बिहिबार, ३ बैशाख, २०८३
डिजिटल संस्करण

सूर्य नेपाल गल्फ टुर– २०२५/२६ अन्तर्गत सातौँ प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्लेको पहिलो चरणमा आठ गल्फर क्वार्टरफाइनलमा पुगेका छन् । रोयल नेपाल गल्फ क्लबमा बुधबार लगातार तीन प्रतियोगिता जितेका भुवन नगरकोटीसँगै नीरज तामाङ, रामे मगर, सञ्जय लामा, जयराम श्रेष्ठ, रवि खड्का, दिनेश प्रजापति र टंकबहादुर कार्की अन्तिम आठमा पुगेका हुन् । दोस्रो वरीयताका भुवनले सबैभन्दा सहज जित निकाले । उनले १५औँ स्थानका कृष्णमान राजवाहकलाई ७–६ ले हराए । १२औँ होलमा जित हात पारेका भुवनले सेमिफाइनल प्रवेशको खेलमा टंकबहादुर कार्कीविरुद्ध खेल्नेछन् । 

यसैगरी, दसौँ स्थानका टंकले सातौँ वरीयताका धनलाई २–० ले हराए । यी दुईबिच कडा प्रतिस्पर्धा चल्दा टंकले १८औँ होलमा जित निकाले । नेपाल नम्बर एक गल्फर नीरजले १६औँ स्थानका सूर्यप्रसाद शर्मालाई ३–२ ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरे । १६औँ होलमा जित निकालेका नीरजले क्वार्टरफाइनलमा भेट्रान गल्फर रामे मगरसँग खेल्नेछन् । नवौँ वरीयताका रामेले आठौँ स्थानका भुवनकुमार रोकामाथि १–० को जित निकालेका छन् ।

तेस्रो वरीयता पाएका दिनेश प्रजापतिले १४औँ वरीयताका बलभद्र राईलाई सहजै ६–४ ले माथ दिए । दिनेशले क्वार्टरफाइनलमा रवि खड्कासँग खेल्नेछन् । छैटौँ वरीयताका रविले ११औँ स्थानका दीपक मगरलाई ४–२ ले हराएका छन् । यसैगरी, चौथो स्थान पाएका सञ्जयले रमेश अधिकारीलाई ३–२ ले पराजित गरे । सञ्जयले बिहीबार सेमिफाइनल प्रवेशका लागि जयराम श्रेष्ठसँग खेल्नेछन् । जयरामले वाक ओभर पाएर अन्तिम आठको स्थान सहजै बनाए । १२औँ वरीयताका प्रदीप लामा अनुपस्थित भएपछि जयरामले बाई पाएका हुन् । सूर्य नेपाल गल्फ टुर, २०२४/२५ को अर्डर अफ मेरिटका शीर्ष १६ मा रहेका खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।

See More On

सुझावित समाचार