इन्डियन प्रिमियर लिग : मुम्बईमाथि बेंग्लोरको १८ रनको जित

सोमबार, ३० चैत, २०८२
डिजिटल संस्करण

रोयस च्यालेन्जर्स बेंग्लोरले आइतबार १९औँ इन्डियन प्रिमियर लिगमा पूर्वविजेता मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ । मुम्बईको वानखेडे रंगशालामा पहिलो ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा चार विकेट गुमाएर २४० रनको विशाल योगफल खडा गरेको थियो ।

प्रत्युत्तरमा मुम्बईले घरेलु मैदानमा २० ओभरमा पाँच विकेट गुमाएर २२२ रन बनायो । जितसँगै बेंग्लोर तेस्रो स्थानमा रह्यो । बेंग्लोरले चार खेलमा तीन जित र एक हार सामना गरी ६ अंक बटुलेको छ । मुम्बई भने २ अंकका साथ आठौँ स्थानमा छ । मुम्बईले चार खेलमा एक जित र तीन हारको सामना गरेको छ । 

लक्ष्य पछ्याएको इनिङ्समा मुम्बईका ओपनर रोहित शर्मा रिटायर्ड हट भएका थिए । उनले १३ बलमा दुई चौका र एक छक्का प्रहार गरी १९ रन जोडेका थिए । ओपनर रियान रिकल्टनले २२ बलमा समान तीन चौका र छक्का प्रहार गरी ३७ रनको योगदान दिएका थिए । उनी आउट हुँदा मुम्बई ७.१ ओभरमा ७२–१ को स्थितिमा थियो । 

आक्रामक ब्याट्सम्यान तिलक बर्मा १ रनमा आउट भए । मुम्बईका लागि सेफर्ड रुथफोर्डले ३१ बलमा सर्वाधिक ७१ रनको योगदान दिँदा पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले सर्वाधिक नौ छक्का र एक चौका प्रहार गरेका थिए । उनले मिचेल साटनरसँग छैटौँ विकेटका लागि २८ बलमा ६८ रनको साझेदारी गरेका थिए ।

आक्रामक बेंग्लोर
मुम्बईको वानखेडे रंगशालामा बेंग्लोरले आक्रामक ब्याटिङ गरेको थियो । ओपनर फिल साल्ट र विराट कोहलीले पहिलो विकेटका लागि १०.५ ओभरमा १२० रनको साझेदारी गर्दै बेंग्लोरलाई उत्कृष्ट सुरुवात दिलाए । पहिलो विकेटका रूपमा आउट हुँदा साल्टले ३६ बलमा समान ६ चौका र छक्का प्रहार गर्दै ७८ रन जोडे ।

कोहलीले कप्तान रजत पतिदारसँग दोस्रो विकेटका लागि २३ बलमा ६५ रनको साझेदारी गर्दै टोलीलाई १३.४ ओभरमा १८५–२ को स्थितिमा राखे । कोहलीले ३८ बलमा पाँच चौका र एक छक्का प्रहा रगरी ५० रन बनाए । रजतले जितेश शर्मासँग चौैथो विकेटका लागि २१ बलमा ३७ रनको साझेदारी गरी बेंग्लोरलाई २३१–४ को बलियो स्थितिमा पु¥याए । रजतले २० बलमा पाँच छक्का र चार चौकाको सहयोगमा ५३ रनको आक्रामक योगदान दिए । नटआउट रहेका टिम डेभिडले १६ बलमा तीन छक्का र दुई चौका प्रहार गरी ३४ रन जोडेका थिए । 

गुजरातको दोस्रो जित
गुजरात टाइटन्सले लखनउ सुपर जायन्टलाई सात विकेटले हराएको छ । घरेलु मैदानमा पहिलो ब्याटिङ गरेको लखनउले २० ओभरमा आठ विकेट गुमाएर १६४ रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा गुजरातले १८.४ ओभरमा तीन विकेटको नोक्सानीमा १६५ रन बनायो । गुजरातले चार खेलमा समान दुई जित र हार सामना गरी ४ अंक जोडेको छ । लखनउले पनि चार खेलमा समान दुई जित र हार निकाली ४ अंक बनाएको छ । रनरेटमा गुजरात पाँचौँ तथा लखनउ छैटौँ स्थानमा छन् । 

लक्ष्य पछ्याएको इनिङ्समा गुजरातका लागि वासिङटन सुन्दर र राहुलले चौथो विकेटका लागि १८ बलमा ३० रनको साझेदारी गरेका थिए । सुन्दरले १३ बलमा २१ तथा राहुलले १० रन बनाए । गुजरातका लागि कप्तान शुभमन गिल र जोस बटलरले दोस्रो विकेटका लागि ८४ रनको साझेदारी गर्दै टोलीलाई ४५–१ बाट १२९–२ को बलियो स्थितिमा राखे । गिलले ४० बलमा ६ चौका र एक छक्का प्रहार गरी ५६ रन जोडे । बटलरले ३७ बलमा ११ चौकाको सहयोगमा ६० रनको योगदान दिए । 

यसअघि ब्याटिङ गरेको लखनउका लागि ओपनर एडेन माक्रामले सर्वाधिक ३० रन जोडेका थिए । उनले २१ बलमा पाँच चौका र एक छक्का प्रप्हार गरे । सो इनिङ्समा कप्तान ऋषभ पन्त, अब्दुल सामाद र मुकुल चौधरीले समान १८ रन बनाए । बलिङमा गुजरातका लागि प्रसिद्ध कृष्णाले २८ रन खर्चेर चार विकेट हात पारे ।

सुझावित समाचार