करण केसीलाई एक खेलमा प्रतिबन्ध

अम्पायरविरुद्ध सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिका कारण नेपाल पुलिसका फास्ट बलर करण केसीमाथि एक खेलमा प्रतिबन्ध लगाइयो

सोमबार, ३० चैत, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका दौरान अम्पायरविरुद्ध सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिका कारण नेपाल पुलिस क्लबका फास्ट बलर करण केसी एक खेलको प्रतिबन्धमा परेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई एक खेलमा प्रतिबन्ध लगाउनुका साथै शतप्रतिशत म्याच फी जरिवाना गराउने निर्णय गरिएको प्रवक्ता छुम्बी लामाले बताए । क्यानले अम्पायरको विषयमा सामाजिक सञ्जालमा उनले दिएको प्रतिक्रिया खेल भावनाविपरीत भन्दै प्रतिबन्ध गरेको जनाएको छ । 

‘नेपाल पुलिसका खेलाडी करण केसीले अम्पायरप्रति सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाल क्रिकेट संघको गम्भीर ध्यानाकर्षण भएको छ । सो अभिव्यक्ति खेल भावनाअनुरूप नभएको ठहर गर्दै सम्बन्धित सबै सरोकारवालासँग समन्वय गरी क्रिकेटर करणलाई प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको एक खेलका लागि प्रतिबन्ध लगाउनुका साथै सय प्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय गरिएको व्यहोरा जानकारी गराइन्छ,’ लामाले भने । 

यसअघि करणले अम्पायरलाई कुनै खेलाडीले हात हाल्यो भने के हुन्छ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । उनले शनिबार साँझ सामाजिक सञ्जालबाटै यस प्रकरणमा माफी मागिसकेका छन् । प्रधानमन्त्री कपअन्तर्गत आइतबार सुदूरपश्चिमविरुद्ध पुलिसले प्रतिस्पर्धा गर्दा करण सहभागी भएनन् । 

गत शुक्रबार बागमतीका कप्तान सन्दीप लामिछानेले पनि अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाएका थिए।मधेशविरुद्धको खेलमा एलबिडब्लू अपिलपछि अम्पायरले सुनुवाइ नगर्दा विवाद भएको थियो । सन्दीपले अम्पायरसँग असन्तुष्टि जनाउँदा आक्रोश देखाइरहेका थिए । विवादमा सन्दीपलाई बागमतीका अरू खेलाडीले रोक्न खोजेका थिए । वीरगन्जमा भएको सो खेल अम्पायरद्वय वासु कर्ण र कमलेश ठाकुरले सञ्चालन गरेका थिए भने म्याच रेफ्री मोहमद सफिक थिए । सन्दीपले अम्पायरसँग असन्तुष्टि व्यक्त गरेको विषय सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसमध्ये ट्रोल क्रिकेट नेपालनामक सामाजिक सञ्जालको पेजमा नेपाल पुलिस क्लबका तीव्र गतिका बलर करणले टिप्पणी गरेका थिए । 

कारबाहीको माग
यसअघि नेपाल क्रिकेट अम्पायर्स तथा स्कोरर्स संघ (कुसान)ले नेपाली राष्ट्रिय र पुलिसका फास्ट बलर करणलाई कारबाही गर्न सिफारिस गरेको थियो । अम्पायरलाई लक्षित गर्दै अभिव्यक्ति दिएपछि उनलाई कारबाही गर्न कुसानले क्यानसँग अनुरोध गरेको थियो । कुसानले करणको अभिव्यक्तिले पेसागत सुरक्षा र आत्मसम्मानमा आघात गरेको ठहर गरेको छ । प्रतियोगिताका दौरान अम्पयारले गलत निर्णय दिएको भन्दै करणले सामाजिक सञ्जालमा व्यंग्य गरेका थिए । जुन पोस्टको फोटोमा अर्का बलर सन्दीप लामिछानेले अम्पायरसँग विवाद गरिरहेका थिए ।

सुदूरपश्चिम शीर्ष तीनमा पक्का
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले शीर्ष तीनमा स्थान पक्का गरेको छ । जनकपुरको मैदानमा आइतबार नेपाल पुलिस क्लबमाथि ५६ रनको जित निकाल्दै सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा उक्लियो । सुदूरपश्चिमले सबै खेल खेल्दा १२ अंक बटुलेको छ । अब दोस्रो स्थानको सुदूरपश्चिमलाई मधेशले मात्र पछि पार्न सक्छ । पुलिसले भने अन्तिम खेलअघि ९ अंक जोडेको छ । पहिलो ब्याटिङ गरेको सुदूरपश्चिम ४०.४ ओभरमा १९१ रनमा अलआउट भयो । सुदूरपश्चिमका लागि नारायण जोशीले ८० बलमा सात चौका र ६ छक्काको मद्दतमा ८२ रन बनाए । 

१९२ रनको लक्ष्य पछ्याएको पुलिस ३५.१ ओभरमा १३५ रनमा अलआउट भयो । पुलिसका लागि अन्तिम विकेटका रूपमा आउट भएका गुल्सन झाले ५० रन जोडेका थिए । बलिङमा सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्लले समान तस्न विकेट लिए । अर्को खेलमा ओपनर अर्जुन कुमालको शतकको मद्दतमा गण्डकी प्रदेशले लुम्बिनीमाथि आठ विकेटको जित निकाल्यो । जितसँगै गण्डकीले आठ खेलबाट ७ अंक जोडेको छ । गण्डकी अंकतालिकामा आठौँ स्थानमा छ ।

समान अंक जोडेको लुम्बिनी भने नेट रनरेटमा अघि रहँदै सातौँ स्थानमा रहेको छ । लुम्बिनीले दिएको २०८ रनको लक्ष्य गण्डकीले ४४.१ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । गण्डकीका लागि अर्जुनले नटआउट १०३ रन बनाएका थिए । उनको चालू प्रतियोगितामा दोस्रो शतक हो । अर्जुनले १३० बल खेलेर १३ चौका र एक छक्का प्रहार गरे । यसअघि लुम्बिनी ४५ ओभरमा २०७ रनमा अलआउट भएको थियो । 

सुझावित समाचार