चौधरी ग्रुपले गोरखामा समिट होटेल खोल्ने

आइतबार, २९ चैत, २०८२
डिजिटल संस्करण

व्यावसायिक घराना चौधरी ग्रुपले गोरखामा समिट होटेल खोल्ने भएको छ । ग्रुपअन्तर्गतको सिजी हस्पिटालिटीले गोरखालाई अन्तर्राष्ट्रियस्तरको लक्जरी पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित प्रख्यात लक्जरी हेरिटेज ‘समिट होटेल’ निर्माण सुरु गरेको हो ।

काठमाडौंको चर्चित ‘समिट होटेल’बाट प्रेरित यस परियोजना आधुनिक सुविधा र नेपाली मौलिकता समेटिएको स्तरीय लक्जरी रिसोर्टका रूपमा विकास गरिने सिजी हस्पिटालिटीले जनाएको छ । होटेलको बिहीबार शिलान्यास गरिएको छ । सिजी हस्पिटालिटीका अनुसार सन् १९७८ मा स्थापित काठमाडौंको ऐतिहासिक समिट होटेलको विरासतलाई नयाँ स्वरूप दिँदै गोरखामा निर्माण हुन लागेको यो परियोजनाले आधुनिक सुविधाका साथै नेपाली मौलिकता प्रदान गर्नेछ ।

करिब ३० रोपनी क्षेत्रफलमा फैलिने यो परियोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । करिब ३० वटा लक्जरी कोठाहरू रहने यस होटेलको रुम रेट करिब पाँच सय अमेरिकी डलरआसपास रहनेछ । समिट होटेलले नेपालभित्रका तथा विदेशबाट आउने पर्यटकलाई लक्षित गर्दै स्तरीय सेवा प्रदान गर्नेछ । सिजी हस्पिटालिटीका अनुसार यस परियोजनाको मुख्य उद्देश्य गोर्खालाई नेपालका प्रमुख लक्जरी पर्यटन गन्तव्यको सर्किटमा जोड्नु हो । ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण गोरखा दरबारनजिकै निर्माण हुने यो परियोजनाले नेपालको इतिहास, मौलिकता र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको बताइएको छ । 

सिजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक एवं कार्यकारी अधिकृत राहुल चौधरीका अनुसार यो परियोजना नेपालको पर्यटन क्षेत्रमा चौधरी ग्रुपको निरन्तर विश्वास र प्रतिबद्धताको अर्को एउटा महत्वपूर्ण कदम हो । ‘गोरखा नेपालको इतिहास बोकेको निकै महत्वपूर्ण क्षेत्र हो । नेपालको इतिहास, संस्कृति र मौलिकता तथा समिट होटेलको विरासतलाई नेपालभर र विश्वसामु प्रस्तुत गर्ने हाम्रो प्रयास हो,’ उनले भने, ‘पर्यटनमार्फत नेपालको अर्थतन्त्र सुदृढ बनाउने सरकारको लक्ष्यमा चौधरी ग्रुप सधैँ सहयोगी भूमिकामा रहनेछ ।’

समिट होटेलले गोरखा क्षेत्रमा रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्र सुदृढीकरण तथा नयाँ लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ । यसले पर्यटनमार्फत क्षेत्रीय विकासलाई गति दिने विश्वाससमेत गरिएको छ ।

केही दिनअघि मात्रै चौधरी ग्रुपले विश्वप्रसिद्ध होटेल म्यारियट इन्टरनेसनलसँगको साझेदारीमा प्रतिष्ठित लक्जरी ब्रान्ड ‘द रिट्ज–कार्लटन’ होटेलको शिलान्यास काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा गरेको थियो ।

सुझावित समाचार