अब जय ट्रफी ६ टिमले खेल्ने

आठ खेल बाँकी रहँदा एक अंक जोडेर पुछारमा रहेको कोशी र तीन अंक जोडेर नवौँ स्थानमा रहेको कर्णाली प्रदेशको जय ट्रफी खेल्ने सम्भावना समाप्त भइसकेको छ

शनिबार, २८ चैत, २०८२
डिजिटल संस्करण

नेपाल क्रिकेट संघ (क्यान)ले दुईदिवसीय क्रिकेट प्रतिस्पर्धात्मक बनाउन ६ टिम सहभागी गराउने निर्णय गरेको छ । क्यानले जय ट्रफीमा चार टिमबाट बढाएर अर्काे संस्करणका लागि ६ टिम सहभागी हुने टुंगो लगाएको हो । सहभागी टिमले नै प्रतिस्पर्धा बढाउन तथा खेलाडीलाई धेरैभन्दा धेरै अनुभव बटुल्न उपयोगी हुने भन्दै सहभागी टिम बनाउन क्यानसँग अनुरोध गरेका थिए । सोहीअनुसार क्यानले ६ टिमलाई सहभागी गराउने निर्णय गरेको छ । 

क्यानले पछिल्लो दुईपटक जय ट्रफी आयोजना गरेको थियो । सेतो जर्सी लगाएर खेल्ने जय ट्रफीका लिग चरणका खेल दुई दिवसीय खेलाइन्छ । फाइनल भने तीन दिनको हुँदै आएको छ । यसअघि दुवैपटक भएको जय ट्रफी नेपाल पुलिस क्लबले जितेको छ । 

प्रधानमन्त्री कप (पिएम कप) एकदिवसीय प्रतियोगिताको शीर्ष ६ टिम अब जय ट्रफीमा स्थान बनाउनेछन् । पिएम कपमा तीन विभागीयसहित सात प्रदेश गरी १० टिम सहभागी हुँदै आएका छन् । आठ खेल बाँकी रहँदा एक अंक जोडेर पुछारमा रहेको कोशी र तीन अंक जोडेर नवौँ स्थानमा रहेको कर्णाली प्रदेशको जय ट्रफी खेल्ने सम्भावना समाप्त भइसकेको छ । 
अब, १३ अंकसहित शीर्ष स्थानमा रहेको विभागीय टोली त्रिभुवन आर्मी क्लबले जय ट्रफी खेल्ने पक्का भइसकेको छ । अब, पाँच टिमका लागि सुदूरपश्चिम प्रदेश, नेपाल पुलिस क्लब, मधेश प्रदेश, एपिएफ क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सम्भावना उस्तै रहेको छ । 

 सम्भावित ६ टिम
त्रिभुवन आर्मी क्लब 
विभागीय टोली त्रिभुवन आर्मी क्लबले पिएम कपमा अपराजित यात्रा कायम राखेको छ । उसले सात खेल खेल्दा ६ खेल जितेको थियो । एक खेल भने वर्षाका कारण हुनै सकेन र अंक बाँडियो । टिम १३ अंकसहित शीर्ष स्थानमा रहँदा जय ट्रफी छनोट भइसकेको छ । आर्मीले विपक्षीहरू नेपाल पुलिस, गण्डकी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिमलाई हराएको थियो । एपिएफविरुद्ध भने वर्षा बाधक बन्दा जित निकाल्न सकेन । 

सुदूरपश्चिम प्रदेश 
युवा खेलाडीको साथ पाएको सुदूरपश्चिम प्रदेशले सानदार प्रदर्शन गर्दै आइरहेको छ । सुदूरपश्चिम आठ खेल खेल्दा पाँच खेल जित्न सफल भयो । तीन हार व्यहोरेको उसले १० अंक जोडेर शीर्ष दुईमा रहेको छ । पछिल्लो दुई खेलमा भने आर्मी र एपिएफसँग पराजित भयो । त्यसअघि लगातार खेल जित्दै उसले जय ट्रफी सम्भावना निकै बलियो बनाएको थियो । सुदूरपश्चिमको लगातार उत्कृष्ट प्रदर्शनमा बलर हेमन्त धामीले २२ विकेट लिँदै शीर्ष स्थानमा रहेका छन् । शेर मल्लले पनि १९ विकेट लिएर तेस्रो स्थानमा छन् । 

नेपाल पुलिस क्लब 
विभागीय टोली नेपाल पुलिस क्लब पनि जय ट्रफीनजिक छ । तर, उसले यसपटक आशाअनुसार प्रदर्शन गर्न सकेको छैन । सात खेल खेल्दा मात्र चार जित निकाल्यो । दुई खेलमा पराजित हुँदा एक खेलमा वर्षा बाधक भयो र अंक बाँड्न पुग्यो । पुलिस लुम्बिनी र आर्मीविरुद्ध पराजित भएको थियो । अधिकांश राष्ट्रिय टिमका खेलाडी टिममा हुँदा पुलिस जय ट्रफीमा स्थान बनाउनेमा भने विश्वस्त छ । पुलिस पछिल्लोपटक आयोजना भएको जय ट्रफीको एक्लो विजेता हो । 

मधेश प्रदेश 
पछिल्लोपटक जय ट्रफी गुमाएको मधेश प्रदेश यसपटक कमब्याक गर्ने योजनामा छ । जय ट्रफीको पहिलो सिजन मधेशले खेल्यो । तर, टिमले तीन खेल खेल्दा जित निकाल्नै सकेन । दोस्रोपटक छनोट हुनै सकेन । यसपटक छनोट भएर पहिलो जित निकाल्नुपर्ने मधेशलाई दबाब बढेको छ । राष्ट्रिय टिमबाट खेलिसकेका मोहम्मद आदिल आलम, कप्तान अनिल शाह, पवन सरार्फजस्ता खेलाडी टिममा हुँदा यसपटक मधेशले मिश्रित प्रदर्शन गर्दै आएको छ । टोली सात खेलमा समान नौ अंक जोड्दै चौथो स्थानमा छ । 

एपिएफ क्लब 
रोहितकुमार पौडेल कप्तान रहेको एपिएफ लगातार दोस्रोपटक जय ट्रफीमा छनोट हुने लक्ष्यमा छ । पहिलो संस्करण एपिएफ छनोट हुनै सकेन । तर, दोस्रो संस्करणमा भने टिम छनोट भएको थियो । तीन खेल खेल्दा मात्र एक जित निकालेको थियो । यसपटक लिगमा आठ खेल खेल्दा चार जितसहित नौ अंक जोडेको छ । एक खेलमा अंक बाँड्दा चार खेल नै गुमाएको थियो । एपिएफले पछिल्लो तीन खेलमा लगातार जित निकालेपछि जय ट्रफीको सम्भावना बढाएको थियो । टोलीमा राष्ट्रिय टिमबाट खेलेका रोहितसँगै सन्दीप जोरा, आसिफ शेखल, लोकेश बम र युवा स्टार युवराज खत्रीजस्ता खेलाडी छन् । 

बागमती प्रदेश
मिश्रित प्रदर्शन बाबजुद बागमती प्रदेशले पिएम कपबाट जय ट्रफीमा छनोट हुने सम्भावना कायम राखेको छ । आठ खेलमा मात्र आठ अंक जोडेको छ । लेग स्पिनर सन्दीप लामिछाने कप्तान रहेको बागमतीलाई बाँकी खेलमा हार छुट छैन । यदि एक हारले पनि उसको लगातार तेस्रोपटक जय ट्रफी खेल्ने सपना धरापमा पर्नेछ । बागमतीले अर्काे दबाबमा रहेको लुम्बिनीविरुद्ध १ वैशाखमा खेल्दै छ । बागमतीका सन्दीपसहित रिजन ढकाल, प्रतिश जिसी, ईशान पाण्डेजस्ता खेलाडी रहेका छन् । 

सुझावित समाचार