परराष्ट्रमन्त्री मौरिससमा : भारत, भुटान र बंगलादेशका समकक्षीसँग सहकार्यबारे छलफल

शनिबार, २८ चैत, २०८२
डिजिटल संस्करण

हिन्द महासागरीय सम्मेलनमा सहभागी हुन मौरिससको पोर्ट लुई पुगेका परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रबार भारत, भुटान र बंगलादेशका समकक्षीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् । उनीहरूबिच द्विपक्षीय तथा क्षेत्रीय सहकार्यबारे छलफल भएको छ । नेपालमा नयाँ सरकार गठन भएपछि दक्षिण एसियाली देशका नेतासँग भएको यो पहिलो उच्चस्तरीय भेटवार्ता हो । 

भारतीय समकक्षी डा. एस जयशंकरले परराष्ट्रमन्त्री खनाललाई पदभार सम्हालेकोमा बधाई दिएका छन् । नेपालमा नयाँ सरकार गठन भएपछि दुई देशका परराष्ट्रमन्त्रीबिच पहिलोपटक भेट भएको हो । परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार दुई नेताबिच नेपाल–भारतबिचको दीर्घकालीन र बहुआयामिक सम्बन्धबारे समीक्षा गरिएको थियो । दुवै पक्षले आपसी हितका विषयमा रचनात्मक र दूरदर्शी छलफल गर्दै दुई देशबिचको द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धता पुनः व्यक्त गरेको परराष्ट्रले जनाएको छ । 

‘हामीले दीर्घकालीन र बहुआयामिक नेपाल–भारत सम्बन्धका विभिन्न पक्षहरूको समीक्षा गर्यौँ । पारस्परिक हितका विषयमा भएको रचनात्मक र दूरदृष्टियुक्त छलफलले दुई देशबिचको द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ,’ भेटपछि परराष्ट्रमन्त्री खनालले भनेका छन् । सामाजिक सञ्जाल एक्समा भारतीय विदेशन्त्री जयशंकरले परराष्ट्रमन्त्री खनालसँग भेट भएकोमा खुसी व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘परराष्ट्रमन्त्रीका रूपमा नियुक्त हुनुभएकोमा उहाँलाई हार्दिक बधाई दिएँ । विभिन्न क्षेत्रहरूमा गहन सहकार्यमार्फत भारत–नेपाल साझेदारीको पूर्ण सम्भावनालाई साकार पार्ने विषयमा छलफल भयो ।’

परराष्ट्रमन्त्री खनाल र भुटानी परराष्ट्र तथा व्यापारमन्त्री डिएन ढुंगेलबिच पनि शुक्रबार भेटवार्ता भएको छ । ढुंगेल पनि सम्मेलनमा सहभागी हुन मौरिसस पुगेका छन् । परराष्ट्र मन्त्रालयले भेटवार्तापछि भनेको छ, ‘दुवै पक्षले नेपाल र भुटानबिचको निकट सम्बन्धलाई पुनः पुष्टि गर्दै आपसी हितका महत्वपूर्ण क्षेत्रहरूमा द्विपक्षीय सहकार्यलाई अझ विस्तार गर्ने सहमति जनाएका छन् ।’

नेपालीभाषी ढुंगेलले पनि भेटपछि सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएका छन् । ढुंगेलले भनेका छन्, ‘नेपालका परराष्ट्रमन्त्री शिशिर खनालज्यूलाई उक्त पदमा नियुक्ति भएकोमा तथा हालै सम्पन्न निर्वाचनमा उहाँको दलले प्राप्त गरेको उल्लेखनीय विजयका लागि हार्दिक बधाई ज्ञापन गरेँ । हामी द्विपक्षीय सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउने अपेक्षासहित सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेँ ।’ उक्त भेटमा नेपालमा रहेका करिब ६ हजार पाँच सय भुटानी शरणार्थीको स्वदेश फिर्ताका विषयमा कुराकानी भएको बारेमा दुवै पक्षले प्रतिक्रिया जनाएका छैनन् । 

परराष्ट्रमन्त्री खनालले शुक्रबारै बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानसँग भेटवार्ता गरेका छन् । परराष्ट्रका अनुसार भेटमा दुवै पक्षले द्विपक्षीय सम्बन्धको मैत्रीपूर्ण अवस्थाप्रति सन्तोष व्यक्त गर्दै सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् । उनीहरूले पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउने विभिन्न क्षेत्रमा छलफल गरेको पनि परराष्ट्रले जनाएको छ ।

सुझावित समाचार