विभागीय टोली त्रिभुवन आर्मी क्लब हिमालयन जाभा बास्केटबल लिग २०२६ को फाइनलमा प्रवेश गरेको छ । आर्मीले मंगलबार राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा गोल्डेनगेटमाथि ९०–७१ को रोमाञ्चक जित निकाल्दै अन्तिम दुई स्थान पक्का गरेको हो । लिगको पहिलो क्वालिफायरमा आर्मीले गोल्डनगेटमाथि अन्तिम क्वार्टरमा उत्कृष्ट प्रदर्शन गरेको थियो । आर्मीले यस सिजन गोल्डेनगेटविरुद्ध तीनै खेलमा जित निकालेको छ । यसअघि लिग चरणको दुवै खेलमा आर्मीले गोल्डेनगेटलाई हराएको थियो ।
पहिलो क्वालिफायरमा सुरुवाती क्वार्टरसम्म पछि परेको आर्मीले चौथो क्वार्टरमा सानदार प्रदर्शन गर्दै जित हात पारेको हो । गोल्डेनगेटले पहिलो क्वार्टरमा २५–१७ को अग्रता बनाएको थियो । दोस्रो क्वार्टरमा दुवै टोलीले १३–१३ को बराबरी स्कोर गरेका थिए । गोल्डेनगेटले हाफटाइमसम्म ३८–३० को अग्रता बनायो । तेस्रो क्वार्टर पनि २४–२१ को अग्रतासहित गोल्डेनगेट अगाडि बढ्यो । अन्तिम क्वार्टरअघि गोल्डेनगेट ६२–५१ ले अघि थियो । तर, आर्मीले चौथो क्वाटरमा उत्कृष्ट प्रदर्शन गर्दै २९–९ ले आफ्नो पक्षमा राखी समग्रमा ८०–७१ ले खेल जितेको हो ।
आर्मीका कप्तान विनोद महर्जन म्यान अफ दी म्याच घोषित भए । आर्मीले शनिबार हुने फाइनलमा स्थान पक्का गर्दा गोल्डेनगेटले भने फाइनल पुग्नका लागि अर्को अवसर पाउनेछ । अब टाइम्स र केभिसी हाउन्ड्सबिच हुने एलिमिनेटरको विजेतासँग गोल्डेनगेटले दोस्रो क्वालिफायर खेल्नेछ ।
लिग चरणमा आर्मी शीर्ष स्थानमा
लिग चरणमा आर्मीले १४ मध्ये १३ खेल जितेर सर्वाधिक २७ अंकसहित शीर्ष स्थानमाथि कब्जा जमाएको थियो । दोस्रो स्थानमा रहेको गोल्डेनगेटले १२ जितका साथ २६ अंक बनाएको थियो । लिग चरणको अन्तिम खेलमा आर्मीले केभिसी हाउन्ड्सलाई पाखा लगाएको थियो । गोल्डेनगेटले टाइम्स बास्केटबल क्लबलाई पराजित गरेको थियो । यो नतिजासँगै आर्मी र गोल्डेनगेटले पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो । डबल राउन्ड रोबिनका आधारमा भएको लिगमा आर्मी पहिलो चरणमा टाइम्ससँग मात्र पराजित भएको थियो । अन्तिम खेलमा पराजित टाइम्सले १० जित र चार हारबाट २४ अंक जोडेर तेस्रो स्थानमा रह्यो । हाउन्ड्सले ९ जित र ५ हारबाट २३ अंक जोडेर चौथो स्थानमा लिग सकाएको थियो ।