उदयपुरमा कोशी प्रदेशस्तरीय प्याराग्लाइडिङ प्रतियोगिता हुने

प्रतियोगितामा चारजना विदेशीसहित ३५ जना प्याराग्लाइडिङ पाइलट सहभागी हुने

मंगलबार, २४ चैत, २०८२
डिजिटल संस्करण

कोशी प्रदेशमै पहिलोपटक उदयपुरमा ‘कोशी प्रदेशस्तरीय प्याराग्लाइडिङ प्रतियोगिता २०८२’ हुने भएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ जिल्ला समिति उदयपुरको आयोजनामा आगामी चैत २६ र २७ गते बेलका नगरपालिका– ८, बोप्ताङमा प्रतियोगिता हुने भएको हो ।

नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ जिल्ला समिति उदयपुरले मंगलबार पत्रकार सम्मेलनमार्फत कोशी प्रदेशमै पहिलोपटक बोप्ताङमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको छ ।

संघका उदयपुर सचिव जितेन्द्र रोइलाका अनुसार प्याराग्लाइडिङ एक्युरेसी प्रतियोगितामा चारजना विदेशीसहित ३५ जना प्याराग्लाइडिङ पाइलट सहभागी हुनेछन् । उनले भने, ‘जसमा दुई भारतीय, एक–एकजना चिनियाँ र जर्मनी र बाँकी नेपाली सहभागी रहनेछन् ।’

प्याराग्लाइडिङ एक्युरेसी प्रतियोगिता विशेष हवाई खेलकुद हो । यसको मुख्य उद्देश्य पाइलटहरूले हावामा उडेर जमिनमा तोकिएको निश्चित विन्दुमा कति सटिक रूपमा अवतरण गर्न सक्छन् भन्ने प्रतिस्पर्धा गराउनु हो । उनले भने, ‘एकजना प्याराग्लाइडिङ पाइलटले तीनपटक अवसर पाउनेछन् ।’

यस प्रतियोगिताले नेपालको पर्यटन र साहसिक खेल क्षेत्रमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । पत्रकार सम्मेलनमा सचिव रोइलाले करिब चार लाख ९० हजार रुपैयाँ लागतमा कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार निर्णायक तथा मूल्यांकनकर्तामा एक भारतीयसहित तीन नेपाली रहेका छन् । उनले भने, ‘राजु राई सिक्किम, भारतका हुनुहुन्छ भने सुरेन गुरुङ र विमल अधिकारी नेपाली हुनुहुन्छ ।’

नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ जिल्ला समिति उदयपुरका अध्यक्ष ईश्वर साम्पाङ राईका अनुसार उदयपुर जिल्लामा हालसम्म दुईजना महिला र १६ जना पुरुष गरी जम्मा १८ जना सोलो पाइलट रहेका छन् । उनले भने, ‘उदयपुरमा ०७८ सालदेखि प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन तथा परीक्षण सुरु गरिएको हो ।’

हालसम्म स्थानीय तहहरूले आफ्नै योजनाअनुसार प्याराग्लाइडिङ क्षेत्रको विकासमा लगानी गरेका छन् । कटारी नगरपालिकाले दुई लाख, त्रियुगा नगरपालिकाले पाँच लाख, चौदण्डीगढी नगरपालिकाले एक लाख र बेलका नगरपालिकाले १८ लाख रुपैयाँ खर्च गरेका छन् । अध्यक्ष राईले थपे, ‘यो रकम हाम्रो संघले मात्र खर्च गरेको होइन, स्थानीय तहहरूले आफ्नै योजनाअनुसार लगानी गरेका हुन् ।’

बेलका नगरपालिका– ८, बोप्ताङमा ‘फ्लाइङ अन्डर प्याराग्लाइडिङ स्कुल उदयपुर प्रालिमार्फत प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र सञ्चालनमा रहेको छ । यहाँ आधारभूत पाइलट तालिम प्रदान गरिन्छ । नेपालका साथै भारत, चीन तथा युरोपका स्पेन, फ्रान्स, जर्मनी, पोल्यान्ड, पोर्चुगललगायत देशबाट समेत प्रशिक्षण लिन आउने गरेका छन् ।

नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका केन्द्रीय सदस्य महेन्द्र राईका अनुसार उदयपुरका विभिन्न स्थानमा प्याराग्लाइडिङको उच्च सम्भावना रहेको छ । रौतामाई गाउँपालिकाको रौतापोखरी, उदयपुरगढी गाउँपालिकाको उदयपुरगढी, चौदण्डीगढी नगरपालिकाको चौदण्डीगढी, कटारी नगरपालिकाको महाभार क्षेत्र तथा त्रियुगा नगरपालिकाका विभिन्न डाँडाहरू उपयुक्त स्थानका रूपमा रहेका छन् ।

उदयपुरमा सम्भावना उच्च भए पनि पूर्वाधार (टेकअफ र ल्यान्डिङ) को अभाव र सरकारी नीति स्पष्ट नहुनु मुख्य समस्या रहेको प्याराग्लाइडिङ सोलोपाइलट भूपाल राउतले बताए । उनले भने, ‘उदयपुरको प्राकृतिक सौन्दर्य, पहाडी भूगोल र अनुकूल मौसमका कारण यहाँ प्याराग्लाइडिङको राम्रो सम्भावना छ ।’

महाभारत क्षेत्रबाट भित्री मधेशतर्फ पर्ने चुरेका फाँटहरू टेकअफ र ल्यान्डिङका लागि उपयुक्त रहेको उनको भनाइ छ । उनले भने, ‘स्थानीय, प्रदेश र संघीय सरकारले साहसिक पर्यटनलाई प्राथमिकतामा राखेर यसको विकासमा ध्यान दिएमा अझ राम्रो सम्भावना खुल्नेछ ।’ 

सुझावित समाचार