चीन स्वशासित क्षेत्र तिब्बतको खासा बजार भएर तातोपानीबाट दुई आर्थिक वर्षमा सात हजार ४९२ विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्रिएका छन्।
तातोपानी नाका भएर ०७९ सालको हिउँदबाट विद्युतीय गाडी नेपाल भित्रिन थालेको हो। आर्थिक वर्ष ०८१/८२ को फागुन महिनासम्म विभिन्न ब्रान्डका सात हजारभन्दा बढी इभी आयात भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ।
खासा पुनर्निर्माण र कोदारी सडकको दुरावस्थाले विद्युतीय गाडी आयात गर्न व्यापारीले थुप्रै समस्या झेल्नुपर्यो। चीनको व्यापारिक सहरबाट ल्याइएका विद्युतीय सवारीसाधन लामो दूरी र धेरै समय लगाएर नेपाल आइपुग्छन्। मध्यपूर्वमा जारी युद्धले सिर्जना गरेको पेट्रोलियम पदार्थको अभाव र महँगीबाट राहत पाउन सरकारले भन्सार शुल्कमा केही प्रतिशत मात्रै छुट गर्ने हो भने पनि इभी आयात बढ्ने निश्चित छ।
तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत रमेशबहादुर शाहका अनुसार दुई आवमा १८ अर्ब ९३ करोड ९३ लाख ५० हजार ८६३ रुपैयाँको इभी खरिद भएको छ। जसबाट तातोपानी भन्सारले १० अर्ब ४५ करोड ६७ लाख ८६ हजार १५२ रुपैयाँ राजस्व संकलन गरेको छ।
आव २०८१/०८२ मा बसेस विथ वान्ली इलेक्ट्रिक मोटर फर प्रोपल्सन एउटा, १५–२० सिटका मिनी बस २५१, ११ देखि १४ सिटका माइक्रोबस ८०९, ५० किलोवाटका कार, जिप र भ्यान ८८८, ५१ देखि १०० किलोवाटसम्मका सानो कार, जिप र भ्यान दुई हजार ७८१, १०१ देखि २०० किलोवाटसम्म ४८६, २०१ देखि ३०० किलोवाटका मोटर्सपिक पावर १२ वटा, ३०० किलोवाटमाथिको कार एक, २००० सिसीको डबल क्याब पिकअप गाडी १८ वटा, २० टन ट्रक चारवटा, फो ह्विलर कार ११८ वटा विद्युतीय सवारीसाधन आयात भएको छ।
त्यसैगरी, २०८२/८३ फागुनसम्म १५–२५ सिटका मिनी बस ३४ वटा, ११–१४ सिटका माइक्रोबस ४७९, ५० किलोवाटमाथिका कार, जिप र भ्यान ३५०, ५१–१०० किलोवाटसम्म कार, जिप र भ्यान ९३४, १०१ देखि २०० किलोवाटसम्म १८०, २०१ देखि ३०० किलोवाटका मोटर्सपिक पावर ४ वटा, ३०० किलोवाटमाथिको कार एक, २००० सिसीको गाडी तीनवटा, ५ टन ट्रक दुईवटा, थ्री ह्विलर भेइकल्स ६ वटा, फोर ह्विलर्स १०४ वटा, डेलिभरी भ्यान पाँचवटा र अन्य एक विद्युतीय सवारीसाधन आयात गरिएको छ।
विद्युतीय सवारीमा प्रयोग गरिने ब्याट्री आयात गर्न नेपाल सरकारले चीन सरकारसँग छिट्टै पहल गर्नुपर्ने आवश्यकता रहेको आयातकर्ताहरूले बताएका छन्।