- पहिलोपटक ४८ राष्ट्रले स्थान बनाउँदा उपाधि दाबेदार राष्ट्र इटाली भने छनोट भएन, नवप्रवेशी राष्ट्रहरू जोर्डन, उज्वेकिस्तान, कुरासाओ र केप भर्डे विश्वकप खेल्दै
अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आगामी जुनदेखि जुलाईसम्म विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्दै छन् । फिफाले पहिलोपटक विश्वकपलाई थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउन सहभागी संख्या पनि बढाएको छ । योपटक फुटबल समर्थकले ४८ राष्ट्रले उपाधिमाथि दाबेदारी दिएको हेर्न पाउनेछन् । यसअघिका संस्करणमा ३२ राष्ट्रले भाग लिएका थिए । फिफाका अध्यक्ष इन्फाटिन्होले विश्वकपमा सहभागी संख्या बढाउँदा नयाँ उदयीमान राष्ट्र आउने विश्वास गरेका छन् ।
विश्वकपमा पहिलोपटक ४८ राष्ट्रले स्थान बनाउँदा शक्तिशालीसँगै उपाधि दाबेदार राष्ट्र भने पुग्न सकेन । आश्चर्यजनक रूपमा चारपटकको विजेता इटाली विश्वकपको टिकट काट्न असफल भयो । योभन्दा बढी स्तब्धकारी नतिजा भनेको इटाली लगातार तेस्रोपटक विश्वकपसम्म पुग्न सकेन । सन् २०१८ यता विश्वकपमा इटालीको उपस्थिति शून्य रहेको छ । पछिल्लो समयमा इटालीको फुटबल बलियो नहुँदा उनीहरू विश्वकपको युरोपियन छनोट चरण पार गर्न नसकेको विज्ञहरूको भनाइ छ । इटालीमा अहिले फुटबलभन्दा पनि टेनिसले राज गरिरहेको छ ।
फेरि अर्को कुरा, इटालीमा पहिलाको जस्तो स्टार खेलाडी भनौँ वा खेल जिताउन सक्ने खेलाडी छैनन् । इटाली मात्र नभएर पोल्यान्ड, डेनमार्क, चिली र क्यामरुन, नाइजेरियाजस्ता शक्तिशाली देशले विश्वकपको अन्तिम स्थान बनाउन सकेनन् । जहाँ फुटबल जगत्मा आफ्नो उपस्थिति दरिलो बनाएका राष्ट्रहरू अन्तिम चरणमा पुगेनन् । त्यही पृष्ठभूमिमा कंगो, इराक र बोस्निया हर्जगोभिना राष्ट्रले विश्वकप खेल्ने पक्का गरेका छन् । ५२ वर्षपछि कंगोले विश्वकप खेल्दै छ ।
बलिया राष्ट्र विश्वकपमा नपुग्दा उसका स्टार खेलाडीको प्रतियोगिता खेल्ने सपना पनि तुहिएको छ । यसमा पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की, चिलीका एलेक्सिस सान्चेज, डेनमार्कका क्रिस्टियन एरिक्सन, इटालीका सान्ड्रो टोनालीजस्ता खेलाडी आगामी जुन–जुलाईमा हुने विश्वकपमा देखिनेछैनन् । आयोजकसँगै फिफाले विश्वकपको तयारी पूरा भएको जनाएका छन् । फिफाले यसपटकको विश्वकप इतिहासकै सबैभन्दा ठुलो हुने दाबी गरेको छ । फिफाले यसपटकको विश्वकप फाइनल खेलको सामान्य टिकट मूल्य ११ हजार डलर तोकेको छ । जबकि चार वर्षअघि कतारमा भएको फाइलन टिकट मूल्य १२ सय डलर मात्र थियो ।
१०४ खेल ३९ दिन चल्ने
फिफाले गत डिसेम्बरमा विश्वकपको ‘ड्र’ निकालेको थियो । प्ले अफबाट आउने टोलीबाहेक समूह विभाजन गरेको फिफाले गर्यो । फिफाले ३२ बाट ४८ संख्या पुर्याएको यो नै पहिलोपटक हो । सहभागीहरू बढेपछि खेल संख्या बढ्ने स्वाभाविक हो । योपटक समर्थकले एक सय चार खेलको मज्जा लिन पाउनेछन् । यो लगतार ३९ दिनसम्म चल्नेछ भने १०४ खेल हुने छन् । सहभागीलाई १२ विभिन्न समूहमा राखिएको छ । प्रत्येक समूहमा चार टोली हुनेछन् । प्रत्येक समूहका शीर्ष दुई र उत्कृष्ट तेस्रो स्थानमा रहने आठ टोलीले राउन्ड अफ ३२ खेल्नेछन् । यसअघिका विश्वकपमा सिधै प्रि–क्वार्टरफाइनल हुन्थ्यो । अब विश्वकपको फाइनलसम्म पुग्न त्यति सहज छैन ।
उद्घाटन मेक्सिकोमा र फाइनल अमेरिकामा
तीन आयोजक राष्ट्र भए पनि उद्घाटन र फाइनल खेल फरक–फरक मैदानमा हुनेछन् । दक्षिण अमेरिकी राष्ट्र मेक्सिकोले विश्वकपको उद्घाटन खेल आयोजना गर्नेछ । ११ जुनमा मेक्सिकोले उद्घाटन खेलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ । यो खेल मेक्सिकोको विश्वप्रसिद्ध रंगशाला एस्टाडियोमा हुनेछ । यसैगरी, उपाधि भिडन्त भने अमेरिकाको न्यु जर्सीको मेटलाइफ रंगशालामा हुनेछ । यो खेल १९ जुनमा हुनेछ । अर्को आयोजक राष्ट्र क्यानडाले समूह चरण तथा नकआउट चरण खेल गर्नेछ । फिफाका अनुसार विश्वकप १६ विभिन्न सहरमा आयोजना हुनेछन् । जसमध्ये अमेरिकामा सर्वाधिक ११ सहरले विश्वकप गर्नेछन् । क्यानडा र मेक्सिकोमा समान तीन सहरले विश्वकप खेल सञ्चालन गर्नेछन् ।
चार राष्ट्र पहिलोपटक खेल्दै विश्वकप
विश्वकप खेल्ने हरेकको सपना पूरा हुँदैन । कहिलेकाहीँ भने नसोचेको सफलता पनि प्राप्त हुन्छ । फेरि त्यस विश्वकपमा पहिलोपटक स्थान बनाउँदा छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेको मान्नुपर्छ । योपटकको विश्वकपमा चार यस्ता राष्ट्रहरू छन्, जसले पहिलोपटक प्रतिस्पर्धा गर्नेछन् । एसियाबाट जोर्डन र उज्वेकिस्तानले विश्वकपमा डेब्यु गर्नेछन् ।
छनोटमा ओमानलाई ३–० ले हराएपछि जोर्डनले इतिहास बनाएको थियो । क्यारेबियन टापुबाट कुरासाओ पनि पहिलोपटक विश्वकपमा पुगेका छन् । आश्चर्यजनक रूपमा यो राष्ट्रको कुल जनसंख्या उक लाख ५० हजार मात्र रहेको छ । विश्वकप खेल्ने अहिलेसम्मकै सबैभन्दा सानो देश कुरासाओ हो । यसैगरी, दक्षिण अफ्रिकी छनोटमा क्यामरुनलाई स्तब्ध बनाएको केप भर्डेले पनि पहिलोपटक विश्वकप खेल्ने तयारी गरेको छ ।
दाबेदार प्रभाव पार्न सक्ने राष्ट्र
कुनै पनि बृहत् अन्तर्राष्ट्रिय प्रतियोगिता चल्दा त्यहाँ उपाधि दाबेदार र प्रभाव पार्ने टोली आकलन गरिएको हुन्छ । यसपटक पनि फुटबल विश्लेषकले विश्वकपको उपाधि दाबेदार र चुनौती दिने राष्ट्रहरू उल्लेख गरेका छन् । उनीहरूले स्पेनलाई उपाधिको प्रमुख दाबेदार राष्ट्रका रूपमा राखेका छन् । युरोपेली च्याम्पियन स्पेन उत्कृष्ट फर्ममा छ । सन् १९९६ देखि विश्वकप नजितेको इंग्ल्यान्ड पनि दाबेदार राष्ट्रमै पर्छ । युरोकपमा उत्कृष्ट प्रदर्शन गरेको इंग्ल्यान्ड योपटक राम्रो सेपमा छ । यसैगरी, युरोपियन राष्ट्र फ्रान्स पनि यो पंक्तिमा अगाडि नै छ । साबिक विजेता अर्जेन्टिना उपाधि रक्षा गर्ने अभियानमा छ । कप्तान लियोनल मेसीको सम्भवतः आगामी विश्वकप अन्तिम हुन सक्छ । विश्वकपमा उपाधि दाबेदारमा ब्राजिल सदाबहार राष्ट्र हो । ब्राजिलले सर्वाधिक पाँचपटक विश्वकप जितेको छ । सन् २००२ देखि ब्राजिल विश्वकप उपाधिविहीन छ ।
जहाँ विश्वकपको दाबेदार राष्ट्रको चर्चा गरिरहँदा उनीहरूलाई कडा चुनौती दिन सक्ने राष्ट्रहरू पनि छन् । युरोपियन राष्ट्र नर्वे यसमा अगाडि छ । २८ वर्षपछि नर्वेले विश्वकपमा स्थान बनाएको छ । नर्वेको मुख्य हतियार नै एर्लिङ हाल्यान्ड हुन् । एसियाली राष्ट्रमा जापान पनि कम होइन । एसियाली छनोटमा उत्कृष्ट प्रदर्शन गरेको जापानले इंग्ल्यान्डलाई समेत मैत्रीपूर्ण खेलमा हराएको छ ।
नेपाली समयअनुसार मध्यरातमा खेल
फुटबलका पारखीहरूले योपटकको विश्वकपमा एक महिनाभन्दा बढी निद्रा बिगार्नुपर्ने हुन्छ । अमेरिका, क्यानडा र मेक्सिकोले विश्वकप आयोजना गरिरहँदा खेलहरू मध्यरातिदेखि सुरु हुनेछन् । फिफाले निकालेको खेलतालिकाअनुसार सबैजसो खेल नेपाली समयअनुसार मध्यरातिदेखि बिहानसम्म चल्नेछन् । जसका कारण एसिया र युरोपका समर्थक रातभरि जाग्राम बस्नुपर्ने हुन्छ । फिफाले अमेरिकी समयअनुसार खेलतालिका सर्वाजनिक गर्दा मध्यराति १२ बजेदेखि बिहान पाँच बजेसम्म खेलहरू चल्नेछन् ।
(एजेन्सीहरूको सहयोगमा)