इन्डियन प्रिमियर लिग : चेन्नईमाथि पन्जाबको सानदार जित

शनिबार, २१ चैत, २०८२
डिजिटल संस्करण

१९औँ इन्डियन प्रिमियर लिग (आइपिएल)मा पन्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई पाँच विकेटले हराएको छ । घरेलु मैदानमा चेन्नईले पहिलो ब्याटिङ गरी २० ओभरमा पाँच विकेट गुमाएर दुई सय नौ रनको विशाल योगफल बनाएको थियो । पन्जाबले लक्ष्य पछ्याउँदा १८.४ ओभरमा पाँच विकेटको क्षतिमा दुई सय १० रन बनाउँदै सानदार जित निकाल्यो । चेन्नईको यो लगातार दोस्रो हार हो । पन्जाबको यो दोस्रो जित हो ।

पन्जाबले लक्ष्य पछ्याउँदा शीर्ष चार ब्याट्सम्यानले गतिलो प्रदर्शन गरेका थिए । प्रियांश आर्या र प्रभसिंरन सिंहले पहिलो विकेटका लागि ४.२ ओभरमा ६१ रनको साझेदारी गर्दै पन्जाबलाई उत्कृष्ट सुरुवात दिलाउन सफल भए । आर्याले ११ बलमा चार छक्का र तीन चौका प्रहार गरी ३९ रनको योगदान दिए । प्रभसिंरन र कुपर कोनोलीले दोस्रो विकेटनिम्ति ३४ रन साझेदारी गरी टोलीलाई ८.५ ओभरमा ९५–२ को स्थितिमा राखे ।

पन्जाबका लागि पहिलो पाँच विकेटसम्म राम्रो साझेदारी भएको थियो । प्रभसिंरनले ३४ बलमा ६ चौका र एक छक्का प्रहार गरी ४३ रनको योगदान दिए । कुपरले २२ बलको सामना गरी ६ चौकाको मद्दतमा ३६ रन जोडे । त्यसपछि कप्तान श्रयश अयर र नेहाल वाधेराले चौथो विकेटका लागि ५९ रनको साझेदारी गरी पन्जाबलाई १६.६ ओभरमा १८६–४ को स्थितिमा राखेका थिए ।

सोही ओभरमा नेहालले पनि विकेट गुमाएका थिए । श्रयशले २९ बलमा चार चौका र तीन छक्का प्रहार गरी सर्वाधिक ५० रनको योगदान दिए । नेहालले नौ बलमा १० रन बनाए । 

आयुष र दुबेका आक्रामक ब्याटिङ
घरेलु मैदानमा पहिलो ब्याटिङ गरेको चेन्नईले दोस्रो खेलमा उत्कृष्ट ब्याटिङ गर्यो । ओपनिङ गतिलो नभए पनि मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गरेका कारण चेन्नईले पन्जाबलाई दुई सयमाथिको लक्ष्य प्रस्तुत गरेको हो । ओपनर सन्जु सामसनले केवल सात रन मात्र बनाए । इनिङ्सको १.६ ओभरमा उनी क्याचआउट भएका थिए । 

त्यसपछि कप्तान रितुराज वैकवाड र आयुष महत्रेले दोस्रो विकेटका लागि ५५ बलमा ९६ रनको साझेदारी गर्दै चेन्नईलाई ११.१ ओभरमा ११०–२ को बलियो स्थितिमा राखे । रितुराजले २२ बलमा दुई चौकाको सहयोगमा २२ रन बनाए । आक्रामक ब्याटिङ गरिरहेका आयुषले आफ्नो विकेट १२.३ ओभरमा गुमाए । उनी आउट हुँदा चेन्नई १२३–२ को स्थितिमा रह्यो । आयुषले ४३ बलमा पाँच छक्का र ६ चौका प्रहार गरी सर्वाधिक ७३ रन जोडेका थिए । 

शिवम दुवे र सर्फराज खानले चेन्नईको डेथ ओभर सम्हाले । फिनिसिङ ओभरमा शिवम र सर्फराज आक्रामक देखिए । शिवमले २७ बलमा पाँच चौका र एक छक्का प्रहार गरी ४५ रन बनाए । सर्फराजले प्रशान्त वीरसँग छैटौँ विकेटका लागि २० बलमा ४१ रन जोड्दा चेन्नईले आफ्नो दोस्रो खेलमा दुई सय योगफल कटाउन सफल भयो । सर्फराजले १२ बलमा ६ चौका र एक छक्काको सहयोगमा ३२ रनको योगदान दिए । 

सुझावित समाचार