माल्दिभ्समा चलिरहेको यू–२० साफ फुटबल च्याम्पियनसिप उपाधि भिडन्तमा बंगलादेशले भारतको सामना गर्ने भएको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा भारतले भुटानमाथि ५–० को फराकिलो जित निकाली अन्तिम दुईमा स्थान सुरक्षित गर्दै बंगलादेशसँगको भेट पक्का गरेको हो ।
उपाधि भिडन्त शुक्रबार हुनेछ । यसअघि पहिलो सेमिफाइनलमा बंगलादेशले नेपाललाई १–० ले हराउँदै लगातार फाइनल स्थान सुरक्षित गरेको थियो । दोस्रो सेमिफाइनलमा भुटानले कुनै पनि समयमा भारतलाई चुनौती प्रस्तुत गर्न सकेन ।
पहिलो हाफमा भुटानले भारतलाई २–० मा रोकेको थियो । तर, मध्यान्तरपछि भारतले खेल रणनीति परिवर्तन गर्दा भुटानको डिफेन्स कमजोर देखियो । जसको फाइदा लिँदै भारतले भुटानको पोस्टमा थप तीन गोल थप्यो । प्रतियोगितामा नेपाल समूह ‘ए’को विजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेको थियो ।
नेपालले आफ्नो समूहमा भुटान र श्रीलंकामाथि जित निकालेको थियो । आयोजक माल्दिभ्ससँग नेपालले १–१ को बराबरी नतिजा निकालेको थियो । नेपालले यू–२० साफ च्याम्पियनसिप दुईपटक जितेको छ । सन् २०१५ र २०१७ को संस्करणमा नेपाल विजेता बनेको थियो ।