इन्डियन प्रिमियर लिग : हैदराबादसँग कोलकाता ६५ रनले पराजित

शुक्रबार, २० चैत, २०८२
डिजिटल संस्करण

कोलकाता नाइट राइडर्सले १९औँ इन्डियन प्रिमियर लिग (आइपिएल)मा लगातार दोस्रो खेलमा पराजित भएको छ । घरेलु मैदान इडेन गार्डेनमा कोलकाता बिहीबार सनराइजर्स हैदराबादसँग ६५ रनले पराजित भएको हो । हैदराबादले दुई खेलमा समान एक जित र हारको सामना गरेको छ । दुई खेल गुमाएको कोलकाता अंकविहीन छ । पहिलो ब्याटिङ गरेको हैदराबादले २० ओभरमा आठ विकेट गुमाएर २२६ रनको मजबुत योगफल खडा गर्यो । 

लक्ष्य पछ्याएको इनिङ्समा कोलकातालाई प्रतिओभर ११.३० रन बनाउनुपर्ने थियो । ओपनर फिन एलनले पहिलो ओभरमै २५ रन बटुलेका थिए । इनिङ्सको १.३ ओभरमा फिनले आफ्नो विकेट गुमाए । उनले केवल सात बल खेलेर दुई छक्का र चार चौकाको सहयोगमा २८ रनको योगदान दिए । कोलकाताले ५.६ ओभरमा तीन विकेट गुमाएको थियो । रघुवंशी र रिंकु सिंहले चौथो विकेटका लागि ३० बलमा ४६ रनको साझेदारी गर्दै टोलीलाई १०.६ ओभरमा १२०÷४ को स्थितिमा राखे ।

रघुवंशीले २९ बलको सामना गरी ५२ रन बनाए । उनले ६ चौका र दुई छक्का प्रहार गरे । रिंकुले १३.४ ओभरमा नीतीशकुमारलाई विकेट दिन पुगे । रिंकुले २५ बलमा चार चौका र एक छक्का प्रहार गरी ३५ रनको योगदान दिए । हैदरावादका जयदेवले तीन ओभरमा २१ रन खर्चेर तीन विकेट लिएका थिए । नीतीशकुमारले १७ रनमा दुई तथा ईशान मलिंगाले १४ रनमा दुई विकेट हात पारे । 

हैदराबादको विशाल योगफल
कोलकाताको इडेन गार्डेन रंगशालामा पहिलो ब्याटिङ गरेको सनराइजर्स हैदराबादले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेको थियो । हैदराबादले ओपनिङमा बलियो साथ पाएको थियो । टेभिस हेड र अभिषेक शर्माले पहिलो विकेटका लािग ५.४ ओभरमा आक्रामक ब्याटिङ गरी ८२ रन जोडेका थिए । क्रिजमा सेट भएका ओपनर टेभिसले ग्रिनबाट क्याच आउट हुनुअघि २१ बलमा ४६ रनको योगदान दिएका थिए । उनले ६ चौका र तीन छक्का प्रहार गरेका थिए । उनीहरूले पहिलो विकेटका लागि केवल ३४ बल सामना गरेका थिए । 

अभिषेकले आफ्नो विकेट ८.२ ओभरमा गुमाए । उनले २१ बलमा समान चार चौका र छक्का प्रहार गरी ४८ रनको योगदान दिए । अर्धशतकीय इनिङ्स खेल्न उनी २ रनले चुके । नीतीशकुमार रेडी र हेन्रिक क्लासेनले चौथो विकेटका लागि ८२ रनको साझेदारी गर्दै टोलीलाई १८.१ ओभरमा २००/५ को बलियो स्थितिमा राखे । नीतीशकुमारले २४ बल सामना गरी चार चौका र एक छक्का प्रहार गरी ३९ रन बटुले । हैदराबादले २६ रनको अन्तरमा महत्वपूर्ण चार विकेट गुमाएको थियो । इनिङ्सको एक समयमा हैदराबाद १८.१ ओभरमा २००/५ को बलियो स्थितिमा थियो । डेथ ओभरमा ब्लेसिङ मुजावानीले दुई विकेट लिँदै हैदराबादलाई थप रन बनाउन दिएनन् । जसका कारण हैदराबाद २० ओभरमा २२६ रनमा सीमित भयो । 

हैदराबादका कप्तान ईशान किसनले नौ बलमा तीन चौका प्रहार गरी १४ रन जोडेका थिए । क्लासेनले ३५ बलमा चार चौका र एक छक्का प्रहार गरी ५२ रनको योगदान दिए । कोलकाताका लागि ब्लेसिङले चार ओभरमा ४१ रन खर्चेर चार विकेट लिए । 

वैभव आरोराले ४७ रन खर्चेर दुई विकेट हात पारे । हैदराबादले ४.१ ओभरमा ५०, ७.२ ओभरमा सय तथा १३.२ ओभरमा १५० रन बनाएको थियो । हैदराबादले १७.६ ओभरमा दुई सय रन कटाएको थियो । हैदराबादका लागि क्लासेन र नीतीशकुमारबिच ५३ बलमा ८२ रनको साझदोरी भएको थियो । क्लासेन र दुबेबिच आठ बलमा २२ रनको साझेदारी भयो । 

सुझावित समाचार