स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले १४ महिनादेखि रोकिएको २२ अर्बभन्दा बढीको जलविद्युत् कम्पनीहरूको संस्थापक सेयर नेप्सेमा सूचीकृत गर्न माग गरेको छ । २०८० माघदेखि आइपिओ निष्कासन गरेका कम्पनीहरूको संस्थापक सेयर नेप्सेमा सूचीकृत गरिदिन इप्पानले माग गरेको हो ।
धितोपत्र निष्काशनसम्बन्धी निर्देशिकाअनुसार आइपिओ जारी भइसकेपछि कम्पनीको संस्थापक र साधारण सेयर एकैपटक नेप्सेमा सूचीकृत गर्नुपर्ने भए पनि सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले साधारण सेयर मात्रै अभौतिकीकरण गरेर संस्थापक सेयरलाई गैरकानुनी रूपमा १४ महिनादेखि रोकिएको इप्पानको जिकिर छ । इप्पानले बुधबार सिडिएससीलाई पत्राचार गर्दै सबै ऊर्जा कम्पनीको संस्थापक सेयर अभौतिकीकरण गरी नेप्सेमा सूचीकृत गरिदिन आग्रह गरेको हो ।
सिडिएससीले संस्थापक र साधारण सेयरका लागि छुट्टाछुट्टै अन्तर्राष्ट्रिय सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आइजिन) हुनुपर्ने अडान लिएपछि तीनवटा सोलार ऊर्जा कम्पनीसहित २२ ऊर्जा कम्पनीहरूको २२ अर्ब १२ करोड ४१ लाख रुपैयाँभन्दा बढीको संस्थापक सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुन सकेको छैन । सिडिएससीको गैरकानुनी हठले कम्पनीका लगानीकर्ताको सरकारप्रतिको विश्वास गुमेको ऊर्जा उद्यमीहरूले बताएका छन् ।
ऊर्जा उत्पादक कम्पनीहरूले मौजुदा कानुनअनुसार तीन वर्षसम्म संस्थापक सेयर बिक्री गर्न नपाउने गरी लकइन गरिएको हुन्छ । तीन वर्षपछि कम्पनीले बैंकको ऋण चुक्ता गरेको अवस्थामा मात्रै संस्थापक सेयर बिक्री गर्न पाउँछन् । त्यति हुँदा पनि सिडिएससीले गैरकानुनी रूपमा दोहोरो आइजिनको कुरा निकालेर सेयर सूचीकृत नगर्नु लगानीकर्तामाथिको अन्याय भएको उद्यमीहरूको आरोप छ ।
दोहोरो आइजिन कायम गरेर मात्रै संस्थापक सेयर सूचीकृत गर्ने सिडिएससीको अडानपछि गैरआवासिय नेपाली संघ (एनआरएनए)ले यस्तो व्यवस्था कार्यान्वयन नगर्न आग्रह गरेको थियो । जबर्जस्ती यस्तो व्यवस्था कार्यान्वयन गरेमा गैरआवासीय नेपालीबाट नेपालमा थप लगानी नआउने पनि संघले चेतावनी दिएको थियो ।
दोहोरो आइजिनले लगानीकर्ताको सम्पत्ती बन्धक हुने भन्दै यसले भोलिका दिनमा नेपालको लगानी वातावरण नै बिगार्न सक्नेतर्फ एनआरएनएले सिडिएससीको ध्यानाकर्षण गराएको थियो । इप्पानका अनुसार आर्थिक वर्ष ०८१/८२ मा आठवटा ऊर्जा कम्पनीको ३ अर्ब ५२ करोड २६ लाख ५५ हजार २०० रुपैयाँबराबरको ३ करोड ५२ लाख २६ हजार ५५२ कित्ता संस्थापक सेयर नेप्सेमा सूचीकृत हुन बाँकी छ ।
त्यसैगरी, आव ०८२/८३ मा १४ कम्पनीको १८ अर्ब ६० करोड १४ लाख ७२ हजार ६०० रुपैयाँबराबरको १८ करोड ६० लाख १४ हजार ७२६ कित्ता संस्थापक सेयर नेप्सेमा सूचीकृत हुन बाँकी रहेको छ । २२ कम्पनीको कुल २२ अर्ब १२ करोड ४१ लाख २७ हजार ८०० रुपैयाँबराबरको २२ करोड १२ लाख ७१ हजार २७८ कित्ता संस्थापक सेयर नेप्सेमा सूचीकृत हुन बाँकी छ ।