गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी कर्मचारीहरु १३/१४ वर्षसम्म एउटै पदमा रहि काम गर्नुपर्ने बाध्यतालाई समाधान गर्न मन्त्रालय अगाडि बढ्ने बताएका छन्। मंगलबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा निरीक्षणको क्रममा उनले संगठनका सबै समस्यामा समाधानमा आफूले पहल गर्ने बताएका हुन्।
संगठनलाई अगाडि बढाउन तथा कार्य क्षेत्रमा परिचान हुदाँ आइपरेका समस्या समाधानका लागि आवश्यक नीति तथा कानुनी व्यवस्था लिखित रूपमा मन्त्रालयमा पेस गर्न उनले निर्देशन दिएका छन्।
विपत् व्यवस्थापनमा तयारी अवस्थामा रहन निर्दशन
मन्त्री गुरुङले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई विपत् सुरु हुनुअगाडि नै तयारी हालतमा रहन निर्देशन दिएका छन्।
आपतविपत् र कोभिड –१९ को समयमा सशस्त्र प्रहरी बल नेपालसँग हातेमालो गरी नागरिकको जिउधनको सुरक्षा गर्नको लागि आफूसमेत अग्रसर रहेको स्मरण गर्दै आगामी दिनहरूमा पनि आमनागरिकहरूले कठिन समयमा सशस्त्र प्रहरी बल नेपाल छ भन्ने महसुस हुने गरी काम गर्नुपर्नेमा उनले जोड दिए। विपद्को समयमा समेत सशस्त्र प्रहरी बल नेपाल एउटा अब्बल सुरक्षा निकाएको रुपमा परिचालित भएको बताउँदै विपद्मा परेका नागरिकहरुको तत्काल उद्धार कार्यको लागि २ वटा हेलिकप्टर तयारी हालतमा रहने गरी मन्त्रालयले काम गरिरहेको उनले जानकारी गराएका छन्।
उनले ड्युटिको समयमा जुनसुकै ठाउँमा परिचालन हुदाँ नागरिक र सुरक्षाकर्मी एउटै हो भन्ने भावना बोकी सबैमा नम्र व्यवहार गर्नुपर्ने उल्लेख गर्दै आपद् विपद्मा परेका नागरिकको उद्धारमा खटिदाँ नागरिकको मात्र उद्धार नभई उद्धारमा खटिने सुरक्षाकर्मीको आफ्नो सुरक्षा अपनाई परिचालन हुने व्यवस्था ल्याउनुपर्नेमा मन्त्रालयले काम गरिरहेको उनको भनाई छ ।
मन्त्री गुरुङले सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी तथा तस्करी रोक्नको लागि मन्त्रालय कठोर भएर अगाडि वढ्ने बताउँदै त्यस्ता कार्यमा कुनैपनि सशस्त्र प्रहरी कर्मचारीहरु संलग्न नहुन आग्रह गरे ।
कार्यक्षेत्रमा परिचालित हुदाँ आईपरेका समस्या समाधानको लागि सशस्त्र प्रहरी बल नेपालमा कानूनी व्यवस्था समेत स्पष्ट नभएको हुदाँ त्यसको लागि मन्त्रालय सकारात्मक रहेको उनको भनाई छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका कर्मचारीहरु सगँसगै बसि काम गरेको हुदाँ सशस्त्र प्रहरी कर्मचारीहरुको समस्या समाधान गर्न आफु हरदम तयार रहेका बताए।

सीमित स्रोतसाधनको बाबजुद पनि देश र नागरिकको जिउधन सुरक्षाको लागि आफ्नो ज्यानको प्रवाह नगरि खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई धन्यवाद दिदै उनले आफ्नो घर परिवार चलाउन समेत कठिनाई परेका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको सेवा सुविधामा हेरफेर गर्न नेपाल सरकार लगायत गृहमन्त्रालय सकारात्मक रहेको बताए। सशस्त्र प्रहरी बल नेपालका जुनसुकै दर्जाका कर्मचारीहरुले सरुवा, बढुवा पारदर्शी तरिकाले गरिने उनको भनाई छ ।
उहाँले सशस्त्र प्रहरी बल नेपालको जनशक्ति अव व्यारेकमा होईन फिल्डमा हुनुपर्ने बताउँदै विपद् व्यवस्थापनको लागि भरपुर मेहनत गर्नुपर्ने समेत बताए ।
सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मन्त्री गुरुङले दिएको नीति तथा निर्देशनले संगठनमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुको मनोवल उच्च रहने बताउँदै कार्यक्षेत्रमा खटिदा अनुशासित र परिणाममुखी कार्य गर्न थप प्रेरणा र हौसला मिलेको बताए।
अधिकारविनाको खटाइले कार्यक्षेत्रमा कुनै पनि हालतमा परिणाम दिन नसक्ने कुरा बताउँदै सशस्त्र प्रहरी बल नेपालको कार्यक्षमता अभिवृद्धि गर्न तथा समयानुकूल सुदृढीकरणको लागि २०५८ को विशेष नियमावलीहरूलाई परिमार्जन गरी सक्षम, प्रभावकारी, व्यवसायी बनाउने तथा सीमाको सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् व्यवस्थापन, आन्तरिक सुरक्षालगायतका विषयमा स्पष्ट कानुनी व्यवस्थाको प्रस्तावसमेत पेस गरिएको बताए।
महानिरीक्षक अर्यालले विशेष गरी तल्लो तहका सशस्त्र प्रहरी कर्मचारीहरूले तलब सुविधाबाट आफ्नो जीविका आर्जन गर्नसमेत गाह्रो परेकोले उनीहरूको घरपरिवार तथा बालबच्चाको शिक्षा र स्वास्थ्य नेपाल सरकारले निःशुल्क गर्दिन सक्यो भने जागिर छोडी विदेश गई आर्थिक सुधार गर्छु भन्ने भावना नलिने विश्वास व्यक्त गरे।
उनले पेन्सन पकाई घर जाने समयसम्म तल्लो दर्जाका कर्मचारीहरू पनि जुनियर अधिकृतसम्म हुने व्यवस्था ल्याउन सकियो भने कार्यक्षेत्रमा खटिने कर्मचारीहरूको मनोबल उच्च रहने बताउँदै जागिर होइन सेवा हो भन्ने भावनाले काम गर्ने विश्वास व्यक्त गरे।
महानिरीक्षक अर्यालले नागरिकहरूमा आई परेका विभिन्न चुनौतीहरूको अवस्थामा समेत सशस्त्र प्रहरी साथमा छ भन्ने भावनाले काम गरिरहेको बताउँदै कार्यक्षेत्रमा खटिदा स्पष्ट नीति र निर्देशनको व्यवस्था नभएको हुँदा परिणाममुखी कार्य गर्न समस्या परेको बताए।
सो कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले सशस्त्र प्रहरी बल नेपालसँग सम्बन्धित विविध गतिविधिहरूको बारेमा प्रस्तुतीकरण गरेका थिए।