वैभव सूर्यवंशीले आक्रामक रूपमा अर्धशतकीय इनिङ्सको योगदान दिएपछि सोमबार राजस्थान रोयल्सले १९औँ इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्सलाई आठ विकेटले हराएको छ । पहिलो ब्याटिङ गरेको चेन्नईले १९.४ओभरमा सबै विकेट गुमाएर १२७ रनको मध्यम योगफल खडा गरेको थियो । प्रत्युत्तरमा राजस्थानले १२.१ ओभरमा दुई विकेट गुमाएर १२८ रन जोड्यो । आठ विकेटको सानदार जितसँगै राजस्थानले महत्वपूर्ण दुई अंक बटुलेको छ ।
सहज लक्ष्य पछ्याएको इनिङ्समा राजस्थानका १५ वर्षिय सूर्यवंशीले १७ बलमा पाँच छक्का र दुई चौकाको सहयोगमा ५२ रनको योगदान दिएका थिए । उनले केवल १५ बलमै अर्धशतकीय इनिङ्स खेलेका थिए । सूर्यवंशीले यशस्वी जैसवालसँग पहिलो विकेटका लागि ६.२ ओभरमा ७५ रनको साझेदारी गर्दै राजस्थानलाई जितको आधार बनाए । ध्रुव जुरेलले नौ बलमा चार चौकाको सहयोगमा १८ रनको योगदान दिए । राजस्थानका लागि जैसवालले ३६ बलमा तीन चौका र एक छक्का प्रहार गरी ३८ रन जोडे । कप्तान रायन परागले ११ बलमा १४ रन बनाए ।
चेन्नईको कमजोर ब्याटिङ
चेन्नईले १९औँ आइपिएलको पहिलो खेलमा कमजोर ब्याटिङ प्रदर्शन गर्यो । चेन्नईले पावर प्लेमै महत्वपूर्ण चार विकेट गुमाएको थियो । इनिङ्सको १.६ ओभरमा सन्जु सामसन, २.६ ओभरमा रितुराज गेकवाड, ३.१ ओभरमा आयुष महत्रे र ५.३ ओभरमा म्याथ्यु सटको विकेट गुमाउँदा चेन्नई पावर–प्लेमै ३८–४ को कमजोर अवस्थामा पुगेको थियो । सन्जुले ६, रितुराजले ६ रन, आयुषले शून्य र म्याथ्युले दुई रन बनाए ।
त्यसपछि सफराज खानले १२ बलमा १७ रन तथा कार्तिक शर्माले १५ बलमा १८ रन जोडे । चेन्नई इनिङ्सको एक समय ९४–९ को दयनीय अवस्थामा थियो । त्यसपछि जेमिए ओभर्टन र अंशुल कामवोजबिच दशौँ विकेटका लागि ३३ रनको साझेदारी हुँदा चेन्नईले राजस्थानविरुद्ध सम्मानजनक योगफल खडा गरेको हो । जेमिएले ३६ बलमा समान दुई चौका र छक्का प्रहार गरी सर्वाधिक ४३ रन बनाए ।