मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा १३ वर्षपछि पहिलो खेल जितेको छ । १९औँ संस्करणअन्तर्गत आइतबार मुम्बईले कोलकाता नाइट राइडर्समाथि ६ विकेटको सानदार जित निकालेको हो । वानखेडे रंगशालामा कोलकाताले पहिलो ब्याटिङ गरी चार विकेट गुमाएर दुई सय २० रनको विशाल योगफल बनाएको थियो । प्रत्युत्तरमा मुम्बईले १९.१ ओभरमा चारै विकेट गुमाएर दुई सय २४ रन बनायो ।
सन् २०१२ मा मुम्बईले अन्तिमपटक आफ्नो पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई हराएको थियो । त्यसयता मुम्बई लगातार १२ वर्ष पहिलो खेलमा पराजित भयो । मुम्बईले इतिहासमा पहिलोपटक ठुलो लक्ष्य पछ्यायो । सन् २०२१ मा मुम्बईले चेन्नईले दिएको दुई सय १९ रन पार गरेको थियो । मुम्बईको जितमा ओपनर रायन रिकटनले ४३ बलमा आठ छक्का र चार चौका प्रहार गरी ८१ रन बनाए । रोहित शर्माले ३८ बलमा समान ६ छक्का र चौका प्रहार गरी ७८ रन जोडे । कप्तान हार्दिक पाण्ड्याले ११ बलमा १८ रन बनाए ।
यसअघि पहिलो ब्याटिङ गरेको कोलकाताले ओपनिङ उत्कृष्ट गरेको थियो । ओपनरहरू अजिंका राहाने र फिन एलानले पहिलो विकेटका लागि ५.२ ओभरमा ६९ रनको साझेदारी गरेका थिए । शार्दुल ठाकुरले फिनको विकेट लिएका हुन् । फिनले १७ बलमा दुई छक्का र ६ चौका प्रहार गरी ३७ रनको योगदान दिए ।
१९औँ आइपिएलकै सर्वाधिक विदेशी महँगा खेलाडी क्यामरुन गिनले १० बलमा समान एक चौका र छक्का प्रहा रगरी १८ रन जोडे ।
त्यसपछि रघुवंशी र रिंकु सिंहले चौथो विकेटका लागि ६० रनको साझेदारी गर्दै टोलीलाई १४५–३ बाट २०५–४ को बलियो स्थितिमा राखे । रघुवंशीले २९ बलमा ६ चौका र दुई छक्का प्रहार गरी ५१ रन जोडे । रिंकुले २१ बलमा चार चौकाको सहयोगमा ३३ रनको योगदान दिए । ओपनर राहानेले ४० बल सामना गरी पाँच छक्का र तीन चौका प्रहार गरी ६७ रन बनाए । बलिङमा मुम्बईका शार्दुलले तीन विकेट लिए ।