लगातारको वर्षाले खाँदबारी–किमाथांका सडक अवरुद्ध

आइतबार, १५ चैत, २०८२
डिजिटल संस्करण

लगातारको वर्षाले संखुवासभाको उत्तरी भेगकाे खाँदबारी–किमाथांका सडक अवरुद्ध भएको छ । केही दिन अघिदेखि लगातार परेको वर्षाले खाँदबारी–किमाथांका कोशी करिडोर सडकअन्तर्गत भोटखोला गाउँपालिका– ४ स्थित बरुणनजिकै छोङराङ भन्ने ठाउँमा सुक्खा पहिरो र सडकमा ठुलो ढुंगा खसेकाले सडक पूर्ण रूपमा अवरुद्ध भएको उत्तरकोशी कोशी सडक कार्यालय प्रमुख रामबहादुर गुरुङले बताए ।

दुई–तीनदेखि भोटखोला क्षेत्रमा ठुलो वर्षा भइरहेको र वर्षाका कारणले कच्ची सडकमा खाल्डो परी सवारीसाधनहरू दलदलमा फसेको उनले बताए । ‘माथिल्लो भेगमा लगातार वर्षा भइरहेको हुँदा वर्षाले सडक हिलाम्मे छ । हिलाम्मे सडकमा ट्याक्टरले ओभरलोड बोकेर गएकाले दलदलमा फसेको छ । लगातार वर्षा भइरहेको हुँदा एक–दुई दिनमा घाम लागेर सडक सुकेपछि मात्रै सवारीसाधन निकाल्न सकिने अवस्था छ । सडकमा नै एक्स्काभेटर तयारी अवस्थामा रहे पनि वर्षाले कामै गर्न दिएको छैन । पानी झरीमा अलिअलि सडक बनायो, उस्तै बनाइहाल्छ,’ कार्यालय प्रमुख गुरुङले भने । 

उक्त क्षेत्रमा स्वामीनारायण निर्माण सेवा कम्पनीले काम गरिरहेको छ । बरुण नदीभन्दा करिब पाँच किलाेमिटरअिघ छोङराङनजिकै सुक्खा पहिरो र ढुंगा खसेर सडक अवरुद्ध भएको र लगातार रूपमा खुलाउने प्रयास भइरहेको स्वामीनारायण निर्माण सेवा कम्पनीको प्रबन्ध निर्देशक सुजितकुमार सरदारले जानकारी दिए । 

खाँदबारी–किमाथांका कोशी करिडोरअन्तर्गत खाँदबारीदेखि ७६ किलाेमिटरमा सडक अवरुद्ध भएको हो । खाँदबारीदेखि किमाथांका १६२ किलाेमिटर दूरी रहेको छ । वर्षा लागेपछि बर्सेनि खाँदबारी–किमाथांका सडकको ठाउँठाउँमा अवरुद्ध र समस्या हुने गरेको छ । 
 

सुझावित समाचार