इन्डियन प्रिमियर लिग : आरसिबीको विजयी सुरुवात

पूर्वकप्तान विराट कोहली र देवदत्त पादिकल चम्किएपछि आरसिबीले २६ बलअघि नै ६ विकेटको निकाल्यो जित

आइतबार, १५ चैत, २०८२
डिजिटल संस्करण

डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)ले इन्डियन प्रिमियर लिग (आइपिएल)मा विजयी सुरुवात गरेको छ । शनिबार बेंगलुरुको चिन्नास्वामी मैदानमा भएको उद्घाटन खेलमा आरसिबीले सनराइजर्स हैदराबादलाई ६ विकेटले हरायो । खेलमा घरेलु टोलीले टस जित्यो । 

टस हारेर सुरुमा ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ९ विकेट गुमाउँदै दुई सय दुई रनको लक्ष्य थियो । प्रत्युत्तरमा आरसिबीले १५.४ ओभरमा चार विकेट गुमाउँदै दुई सय ३ रन बनायो । आइपिएलको पहिलो खेलमै २ सय रन कटेपछि खेल निकै रोमाञ्चक भएको थियो । २६ बलमै आरबिसी जित निकाल्न सफल भयो । खेलमा तीन अर्धशतक बनेका थिए । 

पहिलो जितपछि आरसिबीले पहिलो खेलमै दुई अंक हासिल गरेको छ । हैदराबादले भने हारबाट प्रतियोगिता सुरु गर्यो । १० टिम सहभागी लिगका लागि बिसिसिआईले मात्र २० खेलको तालिका सार्वजनिक गरेको छ । 

कोहली र देवदत्तको अर्धशतक 
आरसिबीको जितमा पूर्वकप्तान विराट कोहली र देवदत्त पादिकलले अर्धशतक बनाए । ओपनर कोहलीले ३८ बलमा अविजित ६९ रन बनाए । उनले समान पाँच छक्का र चौका हिर्काएका थिए । देवदत्तले आक्रामक ब्याटिङ गर्दै २६ बलमा ६१ रन जोडेका थिए । हर्ष दुबेले उनलाई हेनरिक क्लासेनबाट क्याच गराएका थिए । कप्तान रजत पटिदारले १२ बलमा ३१ रन हिर्काएका हुन् । टिम डेभिड १६ रनमा अविजित भए । 

फिल साल्ट ९ रन बनाउँदा आउट भएपछि देवदत्त र कोहलीले दोस्रो विकेटका लागि १०१ रनको साझेदारी गरेका थिए । आरसिबीले ८.४ ओभरमै एक सय १० रन बनाएको थियो । कोहली र पटिदारबिच तेस्रो विकेटको लागि २२ बलमा ५३ रनको दोस्रो साझेदारी भएको हो । कोहली र डेभिडले १९ बलमा अविजित ४० रन बनाएका थिए । 

बलिङतर्फ हैदराबादका लागि डेभिड पायनीले दुई तथा जयदेव उदाद्कत तथा हर्ष दुवेले समान एक विकेट लिएका थिए ।

ईशानले उकासेको हैदराबादको इनिङ्स
पहिलो इनिङ्समा ईशान किसनले आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाएपछि हैदराबादले ठुलो स्कोर बनाएको थियो । तेस्रो नम्बर क्रिजमा आएका उनले ३८ बलमा सर्वाधिक ८० रन बनाएका थिए । ८ चौका र ५ छक्का हिर्काएका ईशानलाई ज्याकोब डफीले अभिनन्दन सिंहबाट क्याच गराएका थिए । अनिकेत बर्माले १८ बलमै ४३ रनको योगदान गरे । उनले ३ चौका र ४ छक्का हिर्काएका हुन् । हेनरिक क्लासेनले ३३ बलमा ३१ रन जोडे । 

चौथो विकेटका लागि कप्तान किसन र क्लासेनबिच ५३ बलमा ९७ रनको साझेदारी भएको थियो । यो साझेदारीपछि हैदराबादले सम्मानजनक योगफल बनाएको हो । ४.३ ओभरमा हैदराबादले २९ रन जोड्दा तीन विकेट गुमाएको थियो । त्यसपछि १३.१ ओभरसम्म इशान र क्लोसेनबिच टिमलाई १२६ सम्म पुर्याएका थिए । 

यसअघि ओपनर जोडी ट्राभिस हेडले ९ बलमा ११ तथा अभिषेक शर्मा ८ बलमा ७ रन बनाएर आउट भएका थिए । नीतिश कुमार रेडी पनि १ रन बनाएर पेभिलियन फर्किएपछि हैदराबाद दबाबमा आएको थियो । टिमका लागि साली अरोराले ९ तथा हर्ष दुवेले मात्र ३ रन जोडे । हर्षल पटेल भने डकआउट हुनपुगे । 

आरसिबीका लागि डुफी र रोमिरिओ सेफर्डले समान ३ विकेट लिएका थिए । डुफीले ४ ओभरमा २२ रन तथा सेफर्डले समान ओभरमा ५४ रन खर्चिएका हुन् । भुवनेश्वर कुमार, अभिनन्दन सिंह र सुयस शर्माले समान एक विकेट लिएका थिए । प्रतियोगिताको दोस्रो दिन मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबिच प्रतिस्पर्धा हुनेछ । 

सुझावित समाचार