मध्यपूर्वमा देखिएको तनावका कारण एसियाको अर्थतन्त्र नै प्रभावित हुने एसियाली विकास बैंक (एडिबी)को अध्ययनले देखाएको छ । मध्यपूर्व तनावको प्रभावले एसियाको आर्थिक वृद्धिदर घट्न सक्ने तथा मूल्यवृद्धि बढ्ने सो अध्ययनले देखाएको हो ।
एडिबीले हालै सार्वजनिक गरेको प्रतिवेदनले मध्यपूर्वमा देखिएको तनावका कारण चालू आर्थिक वर्ष २०२६/२७ मा एसिया प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर १.३ प्रतिशत विन्दुले घट्न सक्ने देखाएको हो । त्यस्तै, मूल्यवृद्धि दर ३.२ प्रतिशत विन्दुले बढ्न सक्नेसमेत देखिएको हो । खासगरी मध्यपूर्व तनावका कारण सिर्जित ऊर्जाको उच्च मूल्यवृद्धि, आपूर्ति शृंखला र व्यापारमा देखिएको अवरोध एवं कसिलो वित्तीय अवस्थाका कारण एसियाको अर्थतन्त्र प्रभावित हुने एडिबीले जनाएको छ । त्यस्तै, पर्यटन र रेमिट्यान्ससमेत प्रभावित हुने अध्ययनले देखाएको छ ।
यो क्षेत्रको विकासशील अर्थतन्त्र खासगरी अवरोधको अवधि कति रहने भन्नेमा भर पर्नेछ । यदि तनाव छिट्टै सकिएमा ऊर्जाको मूल्यवृद्धिमा देखिएको दबाब चाँडै समाधान हुनेछ । यदि तनाव लम्बिएमा वृद्धिदर र मूल्यवृद्धिमा ठुलो असर पर्नेछ । यदि मध्यपूर्वको तनाव तथा अवरोध जुन २०२६ सम्म मात्रै चलेमा आर्थिक वृद्धिदर ०.३ प्रतिशत विन्दुले घट्ने तथा मूल्यवृद्धि दर ०.६ प्रतिशत विन्दुले बढ्नेछ ।
यदि युद्ध सेप्टेम्बर २०२६ सम्म लम्बिएमा आर्थिक वृद्धिदर ०.७ प्रतिशत विन्दुले घट्ने र मूल्यवृद्धि १.२ प्रतिशत विन्दुले बढ्ने देखिएको छ । तर, अमेरिका, इजरायल–इरान युद्ध २०२७ को फेब्रुअरीसम्मै पुगेमा एसियाको आर्थिक वृद्धिदर १.३ प्रतिशतले विन्दुले घट्ने तथा मूल्यवृद्धि दर ३.२ प्रतिशतले घट्ने एडिबीको अध्ययनले देखाएको हो ।
‘लामो समयसम्मको ऊर्जा अवरोधले विकासशील एसिया प्रशान्तको अर्थतन्त्रलाई न्यून वृद्धिदर र उच्च मूल्यवृद्धि दरको अप्ठ्यारो यात्रामा लैजानेछ,’ एडिबीका चिफ इकोनोमिस्ट अलबर्ट पार्कले भने, ‘सरकारले सबैभन्दा कमजोरलाई संरक्षण गर्दै दीर्घकालीन र सहनशील अर्थतन्त्र निर्माणमा ध्यान दिनुपर्छ ।’ सरकारले ऊर्जामा सहुलियत दिने, कमजोर क्षेत्रलाई प्रोत्साहन तथा सहजीकरण गर्नेलगायत नीति लिनुपर्नेसमेत एडिबीले औँल्याएको छ ।