राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको सुरक्षामा व्यक्तिगत सुरक्षा अधिकृत(पिएसओ) खटिएका छन्। प्रहरी प्रधान कार्यालयले बुधबारदेखि सइ दर्जाका प्रहरीलाई उनको सुरक्षामा खटाएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार हाल सांसद र भावी प्रधानमन्त्रीका रूपमा सुरक्षा चुनौतीको दृष्टिकोणले पिएसओ खटाइएको छ। चुनावको क्रममा पनि सुरक्षा चुनौतीलाई दृष्टिगत गरी प्रहरीले बालेनलाई पिएसओ दिने प्रस्ताव गरेकोमा आफुलाई आवश्यक नभएको भन्दै उनले लिएका थिएनन्।
प्रधानमन्त्रीमा नियुक्त भएपछि भने उनको पिएसओमा डिएसपी खटिनेछन्।
बिहीबार सिंहदरबारस्थित संसद् भवनमा सपथका लागि जाँदा उनी पिएसओसहित गएका थिए। तर, आफू चढ्ने गाडीमा भने राखेका थिएनन्। पछिल्लो गाडीमा बसेका थिए। सुरक्षा प्रोटोकलअनुसार ‘पिएसओ’ भिआइपीकै गाडीमा बस्नुपर्ने हुन्छ ।
शपथका लागि जाँदा संसद् भवन जाँदा बालेनले गाडीसमेत आफैँ चलाएका थिए।
बालेनलाई रास्वपाले संसदीय दलको नेता चयन गर्दै प्रधानमन्त्री नियुक्त हुन बाटो खोलिसकेको छ। प्रतिनिधिसभामा बहुमतप्राप्त दलको संसदीय दलको नेताको रूपमा राष्ट्रपति कार्यालयले उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछ। शुक्रबार १२ः३४ मा उनको शपथ कार्यक्रम तय भएको छ।