मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटनमा

बुधबार, ११ चैत, २०८२
डिजिटल संस्करण

मध्यपूर्वका देशमा बढ्दो तनावले नेपालको समग्र पर्यटन क्षेत्रमा प्रत्यक्ष असर पर्न थालेको छ । हवाई यात्रा महँगो र असुरक्षित बन्दै जाँदा नेपाल भ्रमणका लागि योजना बनाएका धेरै विदेशी पर्यटकले यात्रा रद्द गरेको पर्यटन व्यवसायीले बताएका छन् । विशेषगरी युरोपियन र अमेरिकी क्षेत्रबाट आउने पर्यटकको मध्यपूर्वका देशहरू ट्रान्जिट हुने उडान प्रभावित हुँदा नेपालमा होटेल बुकिङ धमाधम रद्द भइरहेका छन् ।

जसले गर्दा चितवन, पोखरा, अन्नपूर्ण क्षेत्र, लुम्बिनी र काठमाडौं उपत्यकासहित देशभरका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटक आगमन उल्लेखनीय रूपमा घटेको छ । विगतका वर्षहरूमा फेब्रुअरीदेखि अप्रिलसम्मको मुख्य सिजनमा होटेलहरू ७०–८० प्रतिशतसम्म अकुपेन्सी हुने गरेकोमा यो वर्ष औसत २०–३० प्रतिशत मात्र अकुपेन्सी देखिएको व्यवसायीहरू बताउँछन् । क्षेत्रीय होटेल संघहरूका अनुसार ठुला अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीहरूले समूहगत बुकिङसमेत रद्द गरेका छन् । हवाई भाडा अत्यधिक बढ्नु, उडान अनिश्चित हुनु र सुरक्षाप्रति बढ्दो चिन्ताका कारण पर्यटकहरू वैकल्पिक गन्तव्य रोज्न थालेका छन् ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत सिइओ दीपकराज जोशीले युरोप र अमेरिकी पर्यटकको आगमनमा बढी असर परेको बताए । उनले भने, ‘अब पर्वतारोहण र पदयात्राको समय भएकाले पर्यटकहरू टिकट काटेर पनि पर्ख र हेरको अवस्थामा छन् ।’ मध्यपूर्व तनाव कम भएमा पर्यटक आगमन बढ्नेमा उनको विश्वास छ । २०२६ मा २० प्रतिशत पर्यटक वृद्धि गर्ने लक्ष्य बोर्डको छ । चुनाव सफलतापूर्वक सम्पन्न भएकाले विश्वमा राम्रो म्यासेज गएको र अब पर्यटन क्षेत्र राम्रो हुने उनले बताए । उनका अनुसार फेब्रुअरी २०२६ मा एक लाख पाँच हजार चार सय ४१ पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको तुलनामा यस वर्ष ८.८ प्रतिशत पर्यटक बढेका हुन् । फेब्रुअरी २०२५ मा ९६ हजार आठ सय ८० पर्यटक नेपाल आएका थिए । 

कोभिडअघिको २०१९ को तुलनामा समेत आगमनमा सुधार भएको छ । त्यस वर्ष एक लाख दुई हजार चार सय २३ पर्यटक आएको बोर्डको तथ्यांक छ । फेब्रुअरी २०२५ को दाँजोमा यस वर्ष १८.५ प्रतिशतले भारतीय पर्यटक आगमन बढेको छ । 

सुझावित समाचार