वर्षाले कैलालीका इँटा उद्योगमा तीन करोडको क्षति

मंगलबार, १० चैत, २०८२
डिजिटल संस्करण

गत साता भएको वर्षाले कैलालीका अधिकांश इँटा उद्योगमा क्षति पुगेको छ । सेती–महाकाली इँटा व्यवसायी संघका अध्यक्ष विनोदकुमार शाहका अनुसार कैलालीका इँटा उद्योगमा वर्षाले करिब तीन करोडबराबरको क्षति पुगेको छ । अधिकांश उद्योगमा आगो लगाउन तयार पारेका काँचो इँटा गलेर नष्ट भएको उनले बताए । ‘आगो लगाउनुअघि ठुलो संख्यामा काँचो इँटा तयार पारिने भएकाले छोपेर राख्न सम्भव हुँदैन,’ शाहले भने, ‘आगो लगाउने सिजनमै पानी पर्दा क्षति व्यहोर्नुपर्यो ।’

कैलारी गाउँपालिकामा रहेको गणेश इँटा उद्योगका सञ्चालक मनोज महतोले वर्षाले उद्योगमा करिब पाँच लाख काँचो इँटामा क्षति पुग्दा २० लाखभन्दा बढी घाटा लागेको बताए । उनले भने, ‘भट्टामा राखेर केही दिनमै आगो लगाउने तयारी थियो । पानीले सबैजसो इँटा गलेका छन् ।’

सेती–महाकाली इँटा व्यवसायी संघका अनुसार कैलालीमा ५१ वटा इँटा उद्योग छन् । इँटा उद्योगमा क्षति पुगेकाले मागअनुसार इँटाको आपूर्तिमा समस्या हुन सक्ने इँटा व्यवसायीहरू बताउँछन् । अहिले यहाँ प्रतिइँटा १२ रुपैयाँसम्ममा कारोबार भइरहेको छ । सरकारले पुस मसान्तपछि मात्र इँटा उद्योगमा आगो लगाउन पाउने व्यवस्था गरेकाले समयमा आगो लगाउन नपाउँदा वर्षाका कारण बढी क्षति व्यहोर्नुपरेको इँटा व्यवसायीको भनाइ छ । संघका अध्यक्ष शाहका अनुसार निर्माणको सिजन हुने भएकाले यसअघि कात्तिक–मंसिरमा काँचो इँटा तयार गरेर मंसिर अन्त्य र पुससम्ममा आगो लगाउने गरिन्थ्यो । 

‘पहिले उद्योगले चाहेअनुसार भट्टामा आगो लगाउन पाइन्थ्यो । अहिले पुस मसान्तसम्म आगो लगाउन पाइँदैन,’ उनले भने, ‘माघमा चिसो हुने भएकाले इँटा तयार पार्न समस्या हुन्छ ।’ उनका अनुसार यहाँ प्रतिइँटा उद्योगमा करिब सयजना मजदुरले रोजगारी पाएका छन् । त्यसमध्ये करिब ३० प्रतिशत भारतीय मजदुर छन् । बर्खापछि पुससम्म भट्टामा आगो लगाउन नपाइने व्यवस्थाले कामदार पाउन समस्या भएको इँटा व्यवसायीले बताएका छन् । ‘पहिले इँटाभट्टामा आठ महिना काम पाइन्थ्यो । अहिले मंसिर–पुसमा आगो लगाउन नपाइने भएपछि ६ महिना मात्र काम हुन्छ,’ इँटा व्यवसायी महतोले भने ।

सुझावित समाचार