- राष्ट्रिय पुरुष तथा महिला ‘ए’ डिभिजन लिग अनिश्चितकालीन रूपमा स्थगित हुँदा खेलाडीमाथिको लगानी संकटमा परेको संकटाका अध्यक्ष इन्द्रमान तुलाधरले बताए
अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बिचको लडाइँले आफूहरूको लगानी संकटमा परेको सहिद स्मारक ‘ए’ डिभिजन क्लब संकटाले जनाएको छ । ‘एन्फा र राखेपबिच आन्तरिक लडाइँका कारण पुरुष तथा महिला लिगमा सहभागी क्लबहरूका लगानी चरम संकटमा पर्ने सम्भावना छ,’ संकटाका अध्यक्ष इन्द्रमान तुलाधरले सोमबार पत्रकार सम्मेलनमा भने, ‘अहिले हामीहरूको खेलाडीमाथि गरिएको लगानी असुरक्षित बनेको अवस्था छ ।’
एन्फाकै सिइओसमेत रहेका तुलाधरले एन्फाकै कारण नेपालको फुटबलसमेत अन्योलतर्फ बढी रहेको बताए । राखेपले एन्फाको अधिवेशन रोक्न तीनपटक निर्देशन दिएको छ । तर, एन्फा त्यसविपरीत अधिवेशन गर्न चाहन्छ । खेलकुदका यी दुई प्रमुख निकायबिचको युद्ध मैदानसम्म पुगेको छ । राखेपले निर्देशन पालना नगर्दासम्म आफ्नो स्वामित्वमा रहेको दशरथ रंगशाला प्रयोग गर्न नदिने भनेपछि एन्फाले १२ चैतमा हुने नेपाल र हङकङबिचको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल स्थगित गरेको छ ।
स्वदेशी र विदेशी खेलाडीले मैदानमा प्रतिस्पर्धा गर्न नपाउँदा उनीहरूको भविष्यसमेत अन्योल भएको तुलाधरले बताए । ‘संकटाले राष्ट्रिय टोलीको ब्याकअप बनाउन विभिन्न उमेरसमूह सञ्चालन गरिरहेको छ ।
अहिले खेलाडीहरूले मैदानमा प्रतिस्पर्धा गर्न पाएका छैनन्,’ उनले भने, ‘यस्तो अवस्थामा कसरी खेलाडीहरूले आफ्नो भविष्य फुटबलमा देख्छन् । वर्तमान अवस्था सक्दो समाधान होस् भन्ने संकटा मात्र नभएर अरू क्लबको पनि चाहना हो ।’
एन्फाकै सिइओ भए पनि उनले घुमाउरो रूपमा एन्फाको निर्णयप्रति असन्तुष्टि व्यक्त गरे । ‘हामीले सबै प्रक्रिया पूरा गरेर मात्रै पुरुषतर्फको राष्ट्रिय लिग तथा पहिलो संस्करणको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सहभागिता जनायौँ, तर अहिले आएर लिग नै स्थगित भएको छ,’ उनले भने, ‘यसले हाम्रो ठुलो लगानी जोखिममा परेको छ । एन्फाकै कारण लगानी असुरक्षित बनेको महसुस गरेका छौँ ।’