राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दशरथ रंगशाला नदिएपछि नेपाल र हङकङबिचको खेल स्थगित भएको अखिल नेपाल फुटबल संघ (एन्फा)को आरोपकाे खण्डन गरेकाे छ।
एन्फाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै राखेपले स्वीकृति नदिँदा १२ चैतमा तोकिएको खेल दशरथ रंगशालामा नहुने बताएकाे थियाे। लगत्तै राखेपले एन्फाको आरोपको खण्डन गर्दै चैत ३ गतेको पत्र सार्वजनिक गरेको हो।
पत्रमा राखेपले रंगशाला प्रयोग गर्न ४५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यहोरा एन्फालाइ जानकारी गराएकाे छ। राखेपले अन्य विभिन्न मापदण्ड पूरा गर्नसमेत एन्फालाई सचेत गराएको थियो।
पछिल्लो समय एन्फा र राखेपबिच मनमुटाब बढ्दो छ। राखेपले बारम्बार एन्फालाई १३ चैतको निर्वाचन रोक्न निर्देशन दिँदै आएको छ। जिल्ला र प्रदेशको चुनाव गरेर मात्रै केन्द्रको चुनाव गर्न राखेपले निर्देशन दिएको छ।
