युरोपियन च्याम्पियन्स लिगको अन्तिम ८ टिम पक्का भइसकेको छ । युरोपा ५२ देशका ८२ टिम सहभागी हुँदा उत्कृष्ट आठ टिमले क्वार्टरफाइनल पक्का गरेका छन् । अब, आठ टिमबिच दुई लेगका खेल हुनेछन् । पहिलो लेग ७–८ अप्रिलमा हुनेछ । दोस्रो लेग १४ र १५ अप्रिलमा हुनेछ । त्यसबाट चार टिम सेमिफाइनलमा पुग्नेछन् । यसपटक युरोपमा उत्कृष्ट मानिएका लिगमध्ये ला लिगाबाट सबैभन्दा धेरै तीन टिम क्वार्टरफाइनलमा पुगेका छन् । इंग्लिस प्रिमियर लिगबाट दुई तथा फ्रेन्च लिग, बुन्डेस लिगा र पोर्चुगिज लिगबाट समान एक टिम अन्तिम ८ मा पुगे । फाइनल खेल हंगेरीको राजधानी बुडापेस्टमा हुनेछ । कस्ता छन् क्वार्टरफाइनलमा स्थान बनाएका सात टिम :
१ : बार्सिलोना (स्पेन)
ह्यान्सी फ्लिकको प्रशिक्षणमा रहेको बार्सिलोनाले आफ्नो लय कायम राखेको छ । उसले ला लिगासँगै च्याम्पियन्स लिगमा पनि आफ्नो दबदबा कायम राख्दै दुबै ट्रफी जित्ने योजनामा छ । त्यसको संकेत प्रिक्वार्टरफाइनलमा पनि देखियो । पहिलो लेगमा न्युक्यासल युनाइटेडसँग १–१ को बराबरी खेल्यो । जब घरेलु मैदानमा नोउ क्याम्पमा दोस्रो लेग भयो, बार्सिलोनाले सानदार प्रदर्शन गर्यो । समग्रमा ८–३ को जित निकाल्यो । राफिन्हा, लामिन यमल, रोबर्ट लेवान्डोस्की, पेड्रीजस्ता खेलाडीले सानदार प्रदर्शन गरिरहेका छन् ।
२ : रियल मड्रिड (स्पेन)
रियल मड्रिड यस सिजन पनि आफ्नो प्रभावशाली प्रदर्शन जारी राख्न सफल भएको छ । समूह चरणमा भने टिमले कमजोर प्रदर्शन गर्यो । शीर्ष आठमा स्थान बनाउन नसकेपछि प्लेअफ खेल्नुपर्यो । प्लेअफमा बेन्फिकालाई पराजित गर्दै टिम अन्तिम १६ मा प्रवेश गरेको थियो । इंग्लिस महारथि म्यानचेस्टर सिटीमाथि सानदार जित निकाल्दै रियाल क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको हो । रियालको यात्रामा स्ट्राइकर केलियन एम्बाप्पेले प्रभावशाली प्रदर्शन गरेका छन् । उनले हालसम्म १३ गोल गरिसकेका छन् ।
३ : एट्लेटिको मड्रिड (स्पेन)
ला लिगामा सोचेजस्तो प्रदर्शन गर्न नसकेपनि एट्लेटिको मड्रिडले च्याम्पियन्स लिगमा आफ्नो प्रभाव देखाइरहेको छ । ला लिगामा टोली बार्सिलोना र रियाल मड्रिडपछि तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरिरहेको छ । यता, युरोपियन च्याम्पियन्स लिगमा भने सानदार प्रदर्शन जारी छ । अन्तिम १६ को खेलमा इंग्लिस क्लब टोटनहमविरुद्ध प्रभावशाली प्रदर्शन गर्यो । पहिलो लेगमा घरमै ५–२ ले विजयी भएको थियो । यही जितले उसलाई अन्तिम आठमा पुर्यायो । दोस्रो लेगमा डिअगो सिमोनकोे टोली ३–२ ले पराजित भए पनि अघिल्लो चरणमा स्थान बनाउन सफल भएको हो ।
४ : आर्सनल (इंग्ल्यान्ड)
यो सिजन इंग्लिस क्लब आर्सनलका लागि सोचेजस्तो भइरहेको छ । टोली प्रिमियर लिगमा अग्रता कायम राख्न सफल भएको छ । यता, च्याम्पियन्स लिगमा पनि लय कायम राख्न सफल भयो । त्यसैले यसपटक आर्सनल दुबै लिग जित्ने सम्भावना पनि उत्तिकै छ । माइकल अर्टेटाको टिमलाई यसै साता लिग कपको उपाधि जित्ने अवसरसमेत छ । आर्सनलले अन्तिम १६ को खेलमा बुन्डेस लिगा क्लब बायर लेभरकुसेनलाई २–० ले पराजित गरेको हो । टिम दुवै लेगमा समान १–० ले विजयी भएको थियो ।
५ : लिभरपुल (इंग्ल्यान्ड)
गत सिजनको उपाधि विजेता लिभरपुलले प्रिमियर लिगमा स्वाभाविक लय कायम राख्न सकेको छैन । टिम शीर्ष चार सुरक्षित गरेर अर्काे पटक च्याम्पियन्स लिग खेल्नेमा ढुक्क हुन अझै संघर्ष गरिरहेको छ । पछिल्लोपटक दस अंकको अग्रता बनाएर च्याम्पियन भएको लिभरपुल यसपटक प्रिमियर लिगमा पाँचौँ स्थानमा छ । शीर्ष स्थानको आर्सनल भन्दा २१ अंक कम छ । तर, च्याम्पियन्स लिगमा भने उसले प्रदर्शन कमजोर हुन दिएको छैन । पहिलो लेगमा १–० ले पराजित भएपनि दोस्रो लेगमा टर्किस क्लब गालातासारेलाई ४–० ले पराजित गर्दै कमब्याक गर्न सफल भएको थियो ।
६ : बायर्न म्युनिख (जर्मनी)
अन्तिम १६ को प्रतिस्पर्धामा १० गोल गर्दै क्वार्टरफाइनलमा पुगेको टिम हो बायर्न म्युनिख । यो टोलीले बुन्डेस लिगामा होस् या च्याम्पियन्स लिगमा आफ्नो लय बिर्सेको छैन । इंग्ल्यान्डका कप्तान ह्यारी केनको प्रभावशाली प्रदर्शनमा बायर्नले इटालियन क्लब एटलान्टालाई १०–२ ले हराएको थियो । पहिलो लेगमा ६ गोल गर्दा दोस्रो लेगमा ४ गोल गरेको थियो । भिन्सेन्ट कम्पनीको यो टोली अन्तिम आठको खेलमा पनि सर्वाधिक विजेता रियाल मड्रिडलाई हराउँदै सेमिफाइनल पक्का गर्ने योजनामा छ ।
७ : पेरिस सेन्ट जर्मेन (फ्रान्स)
सन् २०२४–२०२५ को विजेता हो, पेरिस सेन्ट जर्मेन (पिएसजी) । यो टिम लगातार दोस्रोपटक च्याम्पियन्स लिगको उपाधि उचाल्ने योजनामा छ । स्पेनिस प्रशिक्षक लुइस इन्रिक्वेको प्रशिक्षणमा रहेको पिएसजीले आफ्नो लय च्याम्पियन्स लिगसँगै फ्रेन्च लिगमा पनि उस्तै राखेको छ । टिम पछिल्लो पटक जस्तै यसपटक दुबै उपाधि उचाल्ने रणनीतिमा छ । पिएसजीले अन्तिम १६ को खेलमा इंग्लिस क्लब चेल्सीमाथि समग्रमा ८–२ को जित निकाल्यो । पहिलो लेगमा पिएसजी ५–२ को जित निकाल्न सफल भएको थियो । अब, उसले सेमिफाइनल प्रवेश गर्न लिभरपुलको चुनौती पार गर्नुपर्नेछ ।
८ : स्पोर्टिङ सिपी (पोर्चुगल)
युरोपियन लिगमा ला लिगा, इंग्लिस प्रिमियर क्लबको प्रभुत्व रहँदा चर्चामै रहेको इटालियन क्लब अन्तिम १६ बाट माथि बढ्न सकेनन् । यस्तो अवस्थामा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीले भने आफ्नो यात्रा कायम राख्यो । ठुलो प्रतियोगितामा उसको बेग्लै प्रदर्शन पनि रहन्छ । तर, यसपटक टिम भाग्यमानी पनि रह्यो । अन्तिम १६ मा प्रतिद्वन्द्वी नै आफूभन्दा कमजोर पायो । नर्वेजियन क्लब बोडो/ग्लिमटलाई ५–३ ले हराउन सफल भयो । स्पोर्टिङलबे दोस्रो लेगमा निकालेको ५–० को जितले अघिल्लो चरणमा नाम लेखाउन सफल भएको हो । अब, यसले सेमिफाइनल प्रवेशका लागि सबैभन्दा ठुलो चुनौती आर्सनललाई हराउनुपर्नेछ ।
