२१औँ नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप २०२६ अन्तर्गत एक्युरेसी पुरुषमा भारतका अक्षय कुमार, एक्युरेसी महिलामा चीनकी कोङ झ्याङ यान र टिममा फ्लाई भारकलाले प्रथम स्थान हात पारेका छन् ।
च्याम्पियनसिपअन्तर्गत एक्युरेसी पुरुष (ओभरअल)मा ५२ पाइलटले प्रतिस्पर्धा गरेकोमा भारतका अक्षय कुमार ७ अंकसहित शीर्ष स्थानमै रहँदै उपाधि हात पारे । समान ७ अंकसहित चीनका झोउ चेन दोस्रो, समान ८ अंक ल्याएका भारतका इमान स्मतेल तेस्रो, अलिस्टर रुमतेल चौथो र मनीष उप्रेतले पाँचाैँ स्थान हात पारेका छन् । समान ११ अंकसहित नेपालका पवन परियार छैटौँ र अरुण जालारीले सातौँ स्थान हात पारेको इभेन्ट जज विजय गौतमले जानकारी दिए ।
महिलातर्फ चीन पहिलो, नेपाल दोस्रो
एक्युरेसी महिला (ओभरअल)मा १० पाइलटले प्रतिस्पर्धा गरेकोमा चीनकी कोङ झ्याङ यान ७ अंकसहित प्रथम भइन् । १२६ अंकसहित नेपालकी दुर्गामाया गुरुङ दोस्रो भएकी छिन् । १४९ अंकसहित भारतकी श्रेयशी तामाङ तेस्रो, नेपालकी इस्का राई ३५४ अंकसहित चौथो, कृषु पौडेल ५२६ अंकसहित पाँचौँ स्थान हात पारिन् ।
यसै गरी टिम (ओभरअल)तर्फ ११ टोलीले प्रतिस्पर्धा गरेकोमा भारतका पाइलटहरूको टिम फ्लाई भारकला ३८ अंकसहित प्रथम स्थान हात पार्यो । नेपाल र भारतका पाइलटहरूको टिम ईन्डो–नेपाल ६७ अंकसहित दोस्रो, टिम नेपाल १०९ अंकसहित तेस्रो, नेपालका पाईलटहरूको टिम फ्लो १६० अंकसहित चौथो र टिम चाइना ३७६ अंकसहित पाँचौँ स्थानमा रहे ।
आयोजक ना का प्रथम उपाध्यक्ष खेमराज आचार्यका अनुसार च्याम्पियनसिप नेपालसहित नौ देशका ५२ पुरुष र ११ महिला गरि ६३ जना पाईलटले प्रतिस्पर्धा गरेका थिए । एफएआई क्याटोगरी २ अन्तर्गत संचालन गरिएको च्याम्पियनसिपमा एक्युरेसी पुरुष (ओभरअल), एक्युरेसी महिला (ओभरअल) र टिम (ओभरअल) गरी तीन विधाका प्रतिस्पर्धा भएको थियो । विजेतामध्ये पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: एक लाख ५० हजार, एक लाख र ५० हजार नगद पाउँदा महिलातर्फ र टिमतर्फका विजेताले ७५, दोस्राले ५० र तेस्रोले २५ हजार नगद पाएका छन् ।
नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजना, नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोग, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन्, पोखरा महानगरपालिका र प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य एवं पोखरा पर्यटन परिषद्को समन्वयमा प्रतियोगिता भएको थियो ।