- फुटबल इतिहासमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोपछि नौ सय गोल गर्ने लियोनल मेसी विश्वकै दोस्रो खेलाडी
अर्जेन्टिनाका कप्तान लियोनल मेसीले व्यावसायिक फुटबल करिअरमा नौ सय गोल पूरा गरेका छन् । फुटबल इतिहासमा नौ सय गोल गर्ने मेसी विश्वकै दोस्रो खेलाडी हुन् । यसअघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले नौ सय गोल पूरा गरेका थिए । मेसीले इन्टर मियामी र नासभिल एससीबिच भएको खेलमा गोल गर्दै ऐतिहासिक सफलता हात पारेका हुन् ।
रोनाल्डोले करिअरमा नौ सय ६५ गोल गरेका छन् । उनले सन् २०२४ को सेप्टेम्बरमा पोर्चुगलबाट नौ सय गोल पूरा गरेका थिए । ब्राजिलका पेलेले आफूले खेलजीवनमा हजारभन्दा बढी गोल गरेको दाबी गरेका थिए । तर, फुटबलको तथ्यांक संकलनमा उनको नाममा सात सय ६२ गोल मात्र समावेश छ । ब्राजिलका रोमारियोले सात सय ५६ गोल गरेका थिए ।
३८ वर्षीय मेसीले अमेरिकाको टेनेसीस्थित जियोडिस पार्कमा भएको कनकाकाफ च्याम्पियन्स कपको सातौँ मिनेटमा गोल गरेका थिए । उनको यो गोल करिअरकै नौ सय गोलका रूपमा रह्यो । सन् २०२३ यता इंग्लिस फुटबलर डेभिड बेकह्यामको लगानीमा रहेको इन्टर मियामीका लागि मेसीले ९२ खेलमा ८१ गोल गरेका छन् । तीन वर्षको अवधिमा उनले मियामीलाई लिग कप र एमएलएस कप दिलाएका छन् । मेसीले कीर्तिमानी रूपमा आठपटक बालोन डि अर उपाधि जितेका छन् ।
मेसीले आफ्नो करिअरमा स्पेनिस क्लब बार्सिलोनापछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट प्रतिस्पर्धा गरेका छन् । करिअरमा उनले सबैभन्दा धेरै सिजन बिताएको क्लब नै बार्सिलोना हो । उनले १७ वर्ष बार्सिलोनाबाट खेलेका थिए । यसक्रममा उनले सात सय ७८ खेलमा ६ सय ७२ गोल गरेका थिए । बार्सिलोनामा रहँदा मेसीले १० वटा स्पेनिस ला लिगा र चार च्याम्पियन्स लिगलगायत अन्य उपाधि हात पारे ।
बार्सिलोनापछि उनले पिएसजीबाट खेल्दा ७५ खेलमा ३२ गोल गरेका थिए । मेसीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई सन् २०२२ मा कतार विश्वकप दिलाएका थिए । अर्जेन्टिनाले सन् १९८६ पछि विश्वकप जित्दा मेसीले उत्कृष्ट प्रदर्शन गरेका थिए । चार वर्षअघि कतारमा भएको विश्वकप फाइनलमा मेसीले फ्रान्सविरुद्ध प्रेरणादायी खेल प्रस्तुत गरेका थिए । मेसीले अर्जेन्टिनाबाट एक सय ९६ अन्तर्राष्ट्रिय खेलमा एक सय १५ गोल गरिसकेका छन् ।
सन् २०१२ को सिजनमा ९१ गोल
सन् २०१२ को सिजनमा मेसी आफ्नो करिअरको उत्कृष्ट फर्ममा थिए । यस सिजनमा उनले कीर्तिमानी ९१ गोल गरेका थिए । फुटबल इतिहासमा अहिलेसम्म एकै सिजनमा ९० भन्दा धेरै गोल उनीबाहेक अन्य खेलाडीले गरेका छैनन् । यसैगरी, उनले च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा छिटो सय गोल गरेका छन् । क्लब तथा अन्तर्राष्ट्रिय करिअरमा मेसीले स्पेनिस क्लब सेभिल्लाविरुद्ध धेरैपटक गोल गरेका छन् । उनले सेभिल्लासँगको खेलमा २५ गोल गरेका थिए । यसैगरी, उनले एथलेटिको क्लबविरुद्ध २४ गोल गरे । यसैगरी, उनले एथलेटिको म्याड्रिडविरुद्ध २३, भ्यालेन्सियासँगको खेलमा १८ गोल गरेका थिए । बार्सिलोनामा रहँदा चिरपरिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडविरुद्ध उनले १७ गोल र लाभान्टेविरुद्ध १६ गोल गरेका थिए । सन् २०१२ को सिजनमा उनले बार्सिलोनाबाट ७९ र अर्जेन्टिनाका लागि १२ गोल गरेका थिए ।
बायाँ खुट्टाबाट धेरै गोल
मेसीले आफ्नो करिअरमा सबैभन्दा धेरै गोल बायाँ खुट्टाबाट गरेका छन् । उनले बायाँ खुट्टाबाट मात्रै सात सय ५५ गोल गरेका छन् । यसैगरी, उनले दायाँ खुट्टाले एक सय ११ गोल गरे । उनले डिबक्सभित्रबाट हेडिङबाट ३० गोल गरे । मेसी डिबक्सभित्र निकै चतुर मानिन्छन् । डिबक्समा प्राप्त बलमा गोल गर्न उनी मिस गर्दैनन् । उनले यस क्षेत्रबाट विपक्षी पोस्टमा सात सय २४ गोल गरेको रेकर्ड छ । यसैगरी, सानो डिबक्सबाट उनले एक सय ७६ गोल गरेका छन् । मेसीले पेनाल्टीमा एक सय १२ गोल र फ्रिकिकबाट ७० गोल गरेका छन् ।