ताप्लेजुङका विद्यार्थीलाई नेपाल बैंकको बैंकिङ र बचत शिक्षा

बुधबार, ४ चैत, २०८२
डिजिटल संस्करण

 नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखाले ग्लोबल मनी विक २०२६ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । फुङलिङ नगरपालिका– ४ स्थित लिटलबुद्ध आवासीय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा करिब १०० जना विद्यार्थी तथा सरोकारवालाको सहभागिता रहेको थियो । 

कार्यक्रममा सहभागी विद्यार्थीलाई बचतको महत्व, आम्दानी र खर्च व्यवस्थापन, सुरक्षित लगानीका उपाय, विद्युतीय बैंकिङ कारोबार तथा बैंक खाता सञ्चालनसम्बन्धी आधारभूत ज्ञान प्रदान गरिएको थियो । बैंकका ताप्लेजुङ शाखा प्रबन्धक प्रकाश घिमिरेले सानो उमेरदेखि नै आर्थिक अनुशासन र बचतको बानी बसाल्न सके भविष्यको आर्थिक स्थायित्वका लागि महत्वपूर्ण आधार तयार हुने बताए । कार्यक्रममा बैंकका कर्मचारी माधव खड्काले डिजिटल बैंकिङ सेवाको प्रयोग, अनलाइन कारोबार गर्दा अपनाउनुपर्ने सावधानी तथा लगानी गर्दा हुने जोखिम र लागतबारे प्रशिक्षण दिएका थिए । 

विद्यालयस्तरमै वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको व्यवस्थापन लिटलबुद्ध आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल युवराज गिरीले गरेका थिए । ग्लोबल मनी सप्ताह विश्वभर बालबालिका र युवामा वित्तीय ज्ञान र सीप विकास गराउने उद्देश्यले प्रत्येक वर्ष मनाइने अन्तर्राष्ट्रिय अभियान हो । सोही अभियानअन्तर्गत नेपालका बैंक तथा वित्तीय संस्थाहरूले विद्यालय तथा समुदायमा पुगेर वित्तीय सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छन् । 

सुझावित समाचार