मातृभूमिको माया र जिम्मेवारी सम्झेर नेपालको विकास यात्रामा सक्रिय सहभागिता जनाउन प्रधानमन्त्री सुशीला कार्कीले प्रवासी नेपालीलाई आह्वान गरेकी छिन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले प्रवासी नेपालीलाई मातृभूमिमा लगानी गर्न आह्वान गरेकी हुन् । ‘नेपालको विकास र समृद्धिका लागि सरकारको प्रयास मात्र पर्याप्त हुँदैन ।
स्वदेश तथा विदेशमा रहेका सबै नेपालीको सहकार्य, लगानी, ज्ञान र नवप्रवर्तन आवश्यक हुन्छ । त्यसैले म सम्पूर्ण गैरआवासीय नेपालीलाई मातृभूमिप्रतिको माया र जिम्मेवारीलाई सम्झेर नेपालको विकास यात्रामा सक्रिय सहभागिताका लागि आह्वान गर्दछु,’ उनले भनिन् । कार्यक्रममा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाललाई नेपालीले नै बनाउने बताए । ‘संस्थामा बिचमा केही समस्या आएका थिए । तर, ती समस्यालाई थाहा पाएर निराकरण गरेर तब मात्र अगाडि बढिन्छ भन्ने लागेर सबैले मिहिनेत गरेर हाम्रो बाटोमा फेरि ल्याइदिनुभएको छ,’ उनले भने ।
एनआरएनएका संस्थापक अन्तर्राष्ट्रिय संयोजक एवं म्यानमारका लागि नेपाली पूर्वराजदूत भीम उदासले समृद्ध नेपाल निर्माणका लागि रणनीतिक साझेदारी जरुरी भएको र एनआरएनए उपयुक्त प्लाटफर्म भएको बताए । पूर्वअध्यक्ष जीवा लामिछानेले विदेशमा बसे पनि गैरआवासीय नेपालीमा देशका लागि केही गर्नुपर्ने भावना रहेको बताए । प्रवासी नेपाली एक भएर समृद्ध नेपालको अभिभारामा हातेमालो गर्न चाहेको उनको भनाइ छ । एनआरएनए एकेडेमिकहरूको संस्था हो भन्ने डा. हेमराज शर्मा निर्विरोध अध्यक्ष भएबाट पुष्टि भएको पनि बताए ।
पूर्वअध्यक्ष डा. बद्री केसीले प्रविधिको युगमा धेरै देशले प्रवासमा रहेका नागरिकलाई मताधिकार दिएको भन्दै आउने सरकारले प्रवासी नेपालीलाई यो अधिकार सुनिश्चित गर्न माग गरे । उनले एकपटकको नेपाली सधैँको नेपाली भन्दै नेपालीलाई नेपाल आउनबाट वञ्चित नगर्न पनि सुझाव दिए ।