राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विदेशी खेलाडी निकोलास ह्यामिल्टनको दुई गोलको सहयोगमा जावलाखेल युथ क्लबले काँक्रे बिहार क्लबलाई ४–१ ले पराजित गरेको छ । एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा काँक्रेबिहारले सुरुमा अग्रता लिए पनि जावलाखेलले पुनरागमन जित निकालेको हो । खेलको छैटौँ मिनेटमा दीपेन्द्र चुनाराले काँक्रे बिहारलाई १–० को अग्रता दिलाएका थिए । तर, नवप्रवेशी क्लबले आफ्नो अग्रता लामो समय टिकाउन सकेन ।
खेलको १६औँ मिनेटमा जावलाखेलले खेल १–१ को बराबरी ग¥यो । जावलाखेलका लागि सिसिखोले बराबरी गोल फर्काएका हुन् । पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । दोस्रो हाफमा जावलाखेलले उत्कृष्ट खेल प्रदर्शन गर्दै तीन गोल ग¥यो । मध्यान्तरपछि ह्यामिल्टन पूरै छाएका थिए । उनले खेलको ५०औँ मिनेटमा जावलाखेललाई २–१ को अग्रता दिलाए । खेलको ६४औँ मिनेटमा विकास दर्लामीले ३–१ को स्थितिमा राखे । अन्तिम इन्जुरी समयमा ह्यामिल्टनले जावलाखेलको जित ४–१ ले सुनिशिचत गरे । राष्ट्रिय लिगमा जावलाखेलको यो तेस्रो जित हो । जितपछि जावलाखेल १० खेलबाट १३ अंक जोड्दै आठौँ स्थानमा उक्लेको छ । काँक्रे बिहारको १० खेलमा नवौँ हार हो । १ अंक जोडेको काँक्रे बिहार १६औँ स्थानमा छ ।
चित्लाङसँग रोकियो एपिएफ
चित्लाङ एफसीले उपाधि दाबेदार नेपाल एपिएफ एफसीलाई गोलरहित बराबरीमा रोकेको छ । एन्फा मुख्यालयमा भएको खेलमा दुवै टोलीले गोलको अवसर बनाए पनि फाइनल थर्डमा चुकेका थिए । बराबरीसँगै एपिएफले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो । ११औँ खेल सकिँदा एपिएफ २५ अंकका साथ दोस्रो स्थानमा छ । समान अंकको मच्छिन्द्र गोलअन्तरमा अगाडि रह्यो । यो नतिजासँगै चित्लाङले १२ खेलमा ८ अंक जोडेको छ ।
फ्रेन्ड्सले चर्च ब्वाइजलाई हरायो
फ्रेन्ड्स क्लबले चर्च ब्वाइज युनाइेटडलाई २–० ले हराएको छ । दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सले पहिलो तथा दोस्रो हाफमा समान एक गोल गरेको थियो । लिगमा तेस्रो जितसँगै फ्रेन्ड्स ११औँ स्थानमा उक्लिएको छ । लिगमा १० खेल खेलको फ्रेन्ड्सको १२ अंक छ । चर्च ब्वाइजको यो दोस्रो हार हो । चर्च ब्वाइजले २२ अंक बटुलेको छ । खेलको २७औँ मिनेटमा मसया टहराले फ्रेन्ड्सलाई १–० को अग्रता दिलाए । कमल श्रेष्ठले बायाँ कर्नरबाट दिएको क्रस बल चर्च ब्वाइजका गोलरक्षक दीप कार्कीले पन्च गरेका थिए । रिबाउन्ड बललाई प्रवेश बस्नेतको पासमा टहराले अग्रता गोल गरे । खेलको ४५औँ मिनेटमा आशिष चापागाईंको पासमा मौसम सुब्बाले फ्रेन्ड्सलाई २–० को जित दिलाए ।
४९ खेलाडी प्रशिक्षणमा
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले हङकङविरुद्धको मैत्रीपूर्ण खेलका लागि ४९ खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन् । नेपालले १२ चैतमा दशरथ रंगशालामा हङकङसँग मैत्रीपूर्ण खेल खेल्नेछ । प्रारम्भिक सूचीमा भरत खवाससहित राष्ट्रिय टिमका अनुभवी र नयाँ खेलाडी समावेश छन् । एरेनाले राष्ट्रिय टोलीबाटै खेलिसकेका अनभुवी खेलाडीलाई पहिलो प्राथमिकतामा राखेका छन् । उनले केही नयाँ खेलाडी पनि समावेश गरेका छन् । इटालियन प्रशिक्षक एरेनाले दुई सातादेखि राष्ट्रिय लिगका खेल हेरिरहेका छन् ।