इजरायल र अमेरिका मिलेर गत २८ फेब्रुअरी (१६ फागुन)मा इरानमाथि गरेको आक्रमण र त्यसपछि मध्यपूर्वी मुलुकमा देखिएको तनावका कारण नेपाली मुद्रा बजारमा पनि डलरको मूल्य उकालो लागेको छ । शनिबार नेपाली बजारमा डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकले शनिबारका लागि डलरको खरिद मूल्य १४७.६४ रुपैयाँ र बिक्री मूल्य १४८.२४ रुपैयाँ तोकेको छ । शुक्रबार डलरको खरिद मूल्य १४७.२१ र बिक्री मूल्य १४७.८१ रुपैयाँ थियो । यसअघि २६ फागुनमा डलरको खरिद मूल्य १४७.४३ रुपैयाँ र बिक्री मूल्य १४८.०३ रुपैयाँ पुगेर रेकर्ड ब्रेक गरेको थियो । त्यसपछि घटेको डलरको मूल्यले शनिबार नयाँ रेकर्ड राखेको हो ।
विशेषगरी मध्यपूर्वमा देखिएको तनावले इन्धनको मूल्य ह्वात्तै बढाएको छ । त्यसले विश्वव्यापी अर्थतन्त्रमा अनिश्चितता थपेको छ । यो युद्ध तत्काल साम्य हुने देखिएको छैन । त्यसले गर्दा अबको दिनमा विश्व अर्थतन्त्र प्रभावित हुने देखिएको छ । सोही कारण विश्वका लगानीकर्ताले सुरक्षित लगानीका लागि डलर खरिद गर्न थालेका हुन् ।
त्यसमाथि अमेरिकी केन्द्रीय बैंकले सेप्टेम्बरमा पुनरावलोकन गर्नुपर्ने ब्याजदरलाई आगामी जुनमै पुनरावलोकन गरेर बढाउने अपेक्षा गरिएको छ । फेडरल रिजर्भ र युरोपेली केन्द्रीय बैंकको बैठक पनि हुन थालेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् ।
यी यस्ता कारणले डलरमा माग बढेको छ । त्यसले गर्दा नेपालले स्थिर विनिमय दर नीति लागू गरेको भारतमा डलरको मूल्य बढेको छ । भारतमा डलरको मूल्य बढ्नासाथ नेपालमा पनि यसको मूल्य स्वत: बढेको हो ।
नेपाली मुद्रा भारतीय मुद्रासँग पेग (विनिमयदर स्थिर) छ । त्यो अवस्थामा भारतमा डलरको मूल्य बढ्दा नेपालमा बढ्ने र भारतमा घट्दा नेपालमा पनि घट्ने हुन्छ ।
डलरको मूल्य बढ्दाका फाइदा–बेफाइदा
डलरको मूल्य बढेपछि विदेशी मुद्रामा हुने आम्दानी बढ्नेछ । अर्थात्, रेमिट्यान्स, निर्यात, विदेशी पर्यटनमार्फत हुने आम्दानी बढ्नेछ । तर, आयात भने महँगो हुनेछ ।
यसैगरी, नेपालले तिर्ने वैदेशिक ऋण पनि महँगो हुनेछ । विदेशबाट लिएको ऋण नेपालले डलरमा भुक्तानी गर्नुपर्छ । त्यसले गर्दा डलरको मूल्य बढेको अवस्थामा वैदेशिक ऋणको दायित्व पनि महँगो पर्नेछ । यद्यपि, डलरको मूल्य बढ्नु भनेको नेपाली मुद्रा कमजोर हो ।