- युद्धका कारण आफ्ना खेलाडी असुरक्षित भएको बताउँदै इरानी खेलकुदमन्त्री अहमद यामलीले आफ्नो राष्ट्रले आगामी विश्वकपमा भाग नलिने मध्यपूर्वी देशका अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई बताएका छन्
- इरानको पछिल्लो निर्णयका सम्बन्धमा फिफाले प्रतिक्रिया दिएको छैन, तर आन्तरिक रूपमा इरानको स्थानमा अर्को टोली समावेश गर्ने प्रक्रिया अगाडि बढाएको छ, एसियाली राष्ट्रबाट प्रदर्शनका आधारमा इराक वा युएईको सम्भावना बलियो छ, वरीयताको नियम लागू हुँदा इटाली छनोट हुन सक्छ
इरानले अन्तत: फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ मा सहभागिता नजनाउने भएको छ । खेलकुदमन्त्री अहमद यामलीले बुधबार राति मध्यपूर्वी एसियाका सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता दिँदै आगामी विश्वकपमा आफ्नो राष्ट्रले भाग नलिने जानकारी गराएका हुन् । अमेरिका–इजरायल र इरानबिच युद्धको प्रभावले विश्वकपमा आफ्ना खेलाडी असुरक्षित भएको जनाउँदै सहभागी नहुने निर्णय लिइएको अहमदले बताए । अमेरिका र इजरायलको थप आक्रमणमा गत साता इरानले आफ्नो सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई गुमाएको थियो ।
खामेनीको मृत्युपछि विश्वकपमा सहभागिताबारे इरानमा बहस सुरु भएको थियो । अमेरिकी आक्रमणमा सर्वाेच्च नेता मारिएपछि इरानले विश्वकप नखेल्ने चेतावनी दिएको थियो । एक सातामा युद्ध चर्किँदै गएपछि इरानले खेलाडीको सुरक्षा देखाउँदै बाइकट गरेको अल जजिराले जनाएको छ । इरानले पनि इजरायल र अमेरिकी सैन्य अखडा रहेका अन्य देशमा मिसाइल र ड्रोन प्रहार गरिरहेको छ । ‘भ्रष्ट शासकहरूले हाम्रा नेताको हत्या गरेको पक्षलाई ध्यानमा राख्दै हामी कुनै पनि परस्थितिमा विश्वकपमा भाग लिन सक्दैनौँ,’ यामलीले इरानी सरकारी मिडियालाई भनेका छन् । इरानको पछिल्लो निर्णयका सम्बन्धमा फिफाले प्रतिक्रिया दिएको छैन । तर, आन्तरिक रूपमा इरानको स्थानमा अर्को टोली समावेश गर्ने प्रक्रिया अगाडि बढाइएको छ । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा पहिलोपटक सर्वाधिक ४८ टोलीले भाग लिँदै छन् । त्यसैले कुनै टोलीले भाग नलिँदा त्यसको स्थान कसले लिने भन्ने निर्णय फिफाले गर्नुपर्ने हुन्छ ।
नियमअनुसार फिफासँग अर्को टोलीलाई प्रतिस्थापनका रूपमा सहभागी गराउने अधिकार हुन्छ । तर, छनोट कसरी गर्ने भन्ने स्पष्ट प्रक्रिया छैन । विश्वकपमा आयोजकले खेलाडीलाई कडा सुरक्षा व्यवस्थापन गर्ने भनिए पनि इरानको हकमा यस्तो लागू हुन नसक्ने इरानी खेलकुदमन्त्रीको भनाइ छ । उनले भने, ‘विश्वकपमा हाम्रा केटाहरू सुरक्षित नहुने सूचना पाएका छौँ, यस परस्थितिमा विश्वकपबाट बाहिरिनु नै उचित हुनेछ ।’
अमेरिकाले इरानमाथि दुर्भावनापूर्ण काम गरेको दाबी उनले गरेका छन् । ‘पछिल्लो समय बारम्बार अमेरिकाबाट जुन व्यवहार भएको छ, त्यो अमानवीय छ । त्यसको भत्र्सना गर्नुपर्छ,’ यामलीले भने, ‘यस अवधिमा दुई युद्ध झेलिसकेका छौँ । आठ–नौ महिनाको अवधिमा इरानमा हजारौँ सहिद भएका छन् । सहिदहरूको सम्मान गर्दै विश्वकप खेल्दैनौँ ।’
यसैबिच, इरानी फुटबल महासंघका अध्यक्ष मेहदी ताजले पनि सहभागिताबारे प्रश्न उठाएका छन् । अस्ट्रेलियामा भएको एसियन कप खेल्न गएका इरानी महिला टोलीका ६ जना सदस्यले सुरक्षाको कारण देखाउँदै त्यहीँ नै शरण मागेका थिए । यस घटनालाई जोड्दै मेहदीले इरानी महिला खेलाडीसँग राम्रो व्यवहार नभएको बताए । ‘जहाँ खेलाडीको सुरक्षा र सम्मान हुँदैन । त्यस्तो भएको अवस्थामा कुनै पनि समझदार व्यक्तिले आफ्नो टोली अमेरिका पठाउन मान्दैन,’ उनले भने ।
भाग नलिँदा आर्थिक जरिवाना
अन्तिम समयमा विश्वकपमा भाग नलिँदा आर्थिक कारबाही गर्ने नियम छ । इरानले विश्वकप नखेल्ने भएपछि फिफाले जरीवाना लगाउनेछ । फिफाको आर्थिक नियमअनुसार प्रतियोगिता सुरु हुनु एक महिनाअघि नखेल्ने घोषणा गर्दा कम्तीमा तीन लाख २० हजार अमेरिकी डलर जरीवाना हुन्छ । अहिले इरानले चार महिनाअगाडि नै विश्वकप नखेल्ने भनिसक्यो । अब इरानलाई गरिने आर्थिक कारबाही निर्णय फिफा बोर्ड बैठकले गर्नेछ । एसियनबाट इरानले विश्वकपमा स्थान बनाएको हो । गत वर्ष डिसेम्बरमा सार्वजनिक फिफाको ‘ड्र’मा इरान समूह ‘डी’मा रहेको छ ।
इरानको समूहमा बेल्जियम, इजिप्ट तथा न्युजिल्यान्ड छन् । इरानले आफ्ना सबै खेल अमेरिकामै खेल्ने तालिका सार्वजनिकसमेत भइसकेको छ । आगामी विश्वकप १ जुनदेखि सुरु हुँदै छ । खेल तालिकाअनुसार इरानले १५ जुनमा न्युजिल्यान्ड, २१ जुनमा बेल्जियम र २६ जुनमा इजिप्टसँग खेल्नेछ । ‘इरानमाथि गरिने कारबाहीको निर्णय फिफाको आगामी बैठकले गर्नेछ,’ न्युयोर्क टाइम्सले लखेको छ, ‘सम्भवत: फिफाकै नियमअनुसार आर्थिक जरीवाना हुन सक्छ ।’
कसले लिन्छ इरानको स्थान ?
सम्भावित प्रतिस्थापन राष्ट्रबारे अहिले चर्चा भइरहेको छ । एसियाली राष्ट्रलाई पहिलो प्राथमिकतामा राख्दा इराकको सम्भावना धेरै छ । इराकले एएफसी छनोटमा राम्रो प्रदर्शन गरेको र हाल अन्तरमहादेशीय प्लेअफ खेल्ने इराकलाई एसियन कोटाबाट विश्वकपमा समावेश गर्न सकिने एजेन्सीले जनाएको छ । इराकपछि एसियाबाट युएईलाई पनि अर्को सम्भावित विकल्पका रूपमा हेरिएको छ । इराक प्लेअफमार्फत विश्वकपमा पुग्यो भने फिफाले अर्को विकल्प खोज्दा एसियाली राष्ट्रमध्येबाटै युएईलाई स्थान दिन सक्छ । फिफाले पुरुष फिफा वरीयताका आधारमा छनोट गर्दा चारपटकको विजेता इटालीको नाम अगाडि छ ।
फिफा वरीयतामा इरान २०औँ स्थानमा छ । इराक ५८औँ र युएई ६८औँ स्थानमा छन् । विश्व वरीयतामा इटाली १३औँ स्थानमा छ । फिफाको पछिल्लो वरीयतामा इटालीले एक स्थान गुमाएको छ । फिफाले विश्व वरीयता वा अन्य आधार प्रयोग गर्ने निर्णय गरेमा इटालीजस्ता उच्च वरीयताका टोलीलाई बोलाउन सकिने अनुमान गरिएको छ ।